Play

अपराध गर्नेलाई कारबाही गर्न, निषेधको राजनीति नगर्न र समयमै चुनाव गर्न पोखराका उधोगी व्यवसायीको माग

गुरुकुल खबर


पोखरा, पोखराका केहि उद्योगी ब्यबसायीहरुले वर्तमान सरकारले दण्डहीनताको अन्त्य गरि दोषीमाथि कारवाही गर्न र फागुन २१ मा तोकिएको चुनावलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन उनीहरुले ब्यबसायिक वातावरण निर्माण गर्न उधोगी ब्यबसायीको सुरक्षा गर्न एबम  निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह गर्न सरकारले महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिएका छन ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको ‘उद्योगी व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरु’ विषयक अअन्तरक्रिया कार्यक्रममा अधिकांश बक्ताले उक्त कुरामा जोड दिएका हुन् । जेनजी आन्दोलनको क्रममा औधोगिक र व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणले व्यवसाय गर्नु र नाफा कमाउनु अपराध हो भन्ने भाष्य स्थापित गर्न खोजेको र त्यो भाष्यलाई बदल्नुपर्ने अवधारणासहित पोखरा उद्योग वाणिज्य संघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

जेनजी आन्दोलनको क्रममा सुनियोजित रुपले व्यवसाय गरेर धन आर्जन गरेकाहरुलाई दोषी करार गर्ने काम भयो । धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरु सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो,’कार्यक्रमको अवधारणा पस्कँदै संघका अध्यक्ष गोकर्ण कार्कीले प्रश्न गरे ‘जोखिम मोलेर लगानी गर्दै रोजगारी सिर्जना गर्नु र राज्यलाई कर तिर्नु अपराध हो ? विद्धानमा ज्ञान आर्जन र व्यवसायीमा नाफाको भोक जाग्नुलाई अपराध करार गर्न मिल्छ ?’

आन्दोलनको क्रममा उठान भएका मागहरुसँग निजी क्षेत्र सहमत भएको बताउंदै उनले भने,‘ एक जिम्मेवार नागरिकको रुपमा हामी पनि सरकारी कार्यालय जाँदा एउटै झ्यालबाट फटाफट काम होस् भन्ने चाहन्छौँ । उद्योग÷व्यवसाय बिना झन्झट दर्ता र खारेजी गर्न पाइयोस्, व्यवसाय गर्ने उपक्रममा मानसिक प्रताडना झेल्न नपरोस्, कसैलाई ज्यू–हजुरी र खातिरदारी गर्न नपरोस् भन्ने हाम्रो चाहना हो । सुशासन कायम हुँदा लगानीको वातावरण स्वतः निर्माण हुन्छ भन्ने हाम्रो ठम्याइ रहँदै आएको छ । युवालाई जिम्मेवारी हस्तान्तरणको विषयमा पनि हामी प्रष्ट छौँ । युवालाई कसरी जिम्मेवार बनाउने र जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने कुरा उद्योगी व्यवसायीबाट सिक्दा राम्रो हुन्छ भन्ने कुरा पनि हामीले पटक–पटक भन्दै आएको विषय हो ।’

अध्यक्ष कार्कीले आन्दोलनको नाममा देशैभर निजी क्षेत्रका संरचनामाथि आगजनी, लुटपाट र तोडफोडलाई अपराधको संज्ञा दिए  ‘अपराधलाई क्रान्तिको लेपन लगाउन मिल्दैन र अपराध कर्ममा संलग्नहरु क्रान्ति नायक हुन सक्दैनन् । अपराधको जगमा कुनै पनि राजनीतिक परिवर्तन सम्भव पनि हुँदैन । समाजमा थिति बस्दैन, प्रगति पनि हुँदैन,’उनले भने आन्दोलनको क्रममा जनधनको क्षति ब्यहोर्नुभएका उद्योगी व्यवसायीहरुसँग मन कमजोर नबनाउन र अपराध कर्ममा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गरी क्षति भोग्न बाध्य व्यवसायीहरुलाई राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

कार्यक्रमका प्रमुख वक्ता पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विगतमा कमजोरी  गरेका दलहरुले नै देशलाई सही दिशा दिन एकजुट हुनुपर्नेमा जोड दिए । उनले जेन–जी आन्दोलनपछि उत्पादन र वितरण प्रणालीको कडी टुटेकाले अर्थतन्त्र यही अवस्थामा रहन्छ कि रहँदैन भन्ने अवस्था रहेको बताए,‘ अहिले जलाइएका संरचना ठड्याइए पनि के हिजोको जस्तै आगजनी, तोडफोड र लुटपाट दोहोरिँदैन त ?

जेन–जी आन्दोलन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको जिकिर गर्दै मुल्मीले देशमा कठीन दिन आउनसक्ने चिन्ता प्रकट गरे ।‘ जसरी राजनीतिक दलहरुलाई निषेध गरिएको छ र म कुनै राजनीतिक दलमा छैन भन्नेलाई च्यापिएको छ, यसले द्वन्द्व निम्त्याएको छ,’उनले भने,‘ हाम्रो अर्को प्रयास मुठभेडको राजनीति गर्न नदिनु पनि हो । निषेध र प्रतिशोधको राजनीति सुरु भएको छ । एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ । यो अवस्थाको अन्त्य गरिनुपर्छ ।’

हामीले आगजनी,लुटपाट र अपराध गर्नेहरुलाई उन्मुक्ति दिने प्रवृत्ति विरुद्ध आवाज उठाउनैपर्छ भन्दै मुल्मीले भने ‘हामीलाई सुरक्षा दिने जिम्मेवारी सरकारको हो । अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन ।’

जेनजी आन्दोलनको क्रममा जलाइएको होटल सरोवरका संचालक प्रतिकराज पहारीले भवन जल्नुको पीडा र डर त छँदैछ तर त्यसभन्दा पनि ठूलो डर व्यवसायीहरूमा उद्यम गर्ने सोचलाई नै जलाइयो कि भन्ने नै रहेको बताए । उनले आफ्नो परिवारले ऋण गरेर बनाएको होटलमा सुनियोजित तवरले आगजनी र लुटपाट गरिएको बताउँदै अपराधीमाथि कारवाही हुनुपर्ने माग गरे ।

देश कुनै सुपरम्यान आएर नबनाउने बताउँदै उनले अगाडि भने,‘अब हामी आर्थिक समावेशीकरणको बाटोमा लाग्नुपर्ने भएको छ । पहुँच भएकाहरु मात्र व्यापारमा लाग्ने हैन, पहुँच हुनेले मात्र राजनीतिमा अवसर पाउने हुनुहुँदैन । देश कुनै सुपरम्यान आएर बनाउने हैन । मान्छेलाई कसरी उद्यमी बनाउने र सकारात्मक कार्यमा लगाउने भन्ने सामूहिक आवाज अहिलेको आवश्यकता हो ।’

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले संचालन गरेको कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले लुटपाट, तोडफोड र आगजनी जस्ता अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आन्दोलनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले आफ्नै सम्पत्ति जल्दा पनि हेर्नबाहेक केही गर्न नसकेको पीडा पोख्दै आउँदा दिनमा यस्तो अराजकता नहोस् भन्ने कामना गरे ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण हुँदा पनि निरीह बन्नु परेकोमा दुःख व्यक्त गर्दै अपराधीमाथि कारवाहीको माग गरे ।

महिला उद्यमी तथा कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङले जेनजी आन्दोलनमा भएको क्षतिले व्यवसाय धरासायी भएको बताउँदै राहत र पुनस्थापनाको कार्य छिटो हुनुपर्नेमा जोड दिइन् ।

२२ आश्विन २०८२, बुधबार २२:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा