पोखरा, देशका विभिन्न क्षेत्रमा सुरु भएको बर्षा र बिभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको कारण लामो दूरीको यातायात सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। जल तथा मौसम पूर्वानुमान विभागका अनुसार शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिम रहेको छ ।
बाढीको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि लामो दूरीका यातायात का साधन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले उल्लिखित जिल्लाको नदी किनारमा रहनेहरूले सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न विभागले अनुरोध समेत गरेको छ ।
‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले सूचना मार्फत भनेको छ ।
उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

















