पोखरा, नेपालमा जेनजी पुस्ताको नाममा भदौ २३ र २४ मा भएको प्रदर्शनकै समयमा अन्य बिभिन्न मुलुकमा पनि जेनजीको नाममा आन्दोलन र प्रदर्शन भैरहेको छन । तत्कालिन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाइनुपर्ने, मुलुकमा चौतर्फी बढ्दो भ्रष्टाचार अन्त्य हुनुपर्ने र सुशासन कायम हुनुपर्ने लगायतका माग राखेर भदौ २३ गते प्रदर्शन शुरु भएको थियो।
शान्तिपूर्ण रूपमा भेला भएका विद्यार्थीहरूको प्रदर्शनमा झडप हुन थालेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको तत्कालै मृत्यु भयो । सयौं प्रदर्शनकारी घाइते भए । सोहि प्रदर्शन हिंसात्मक बनेपछि मुलुकका बिभिन्न स्थानमा मृत्यु हुनेको संख्या अहिलेसम्म ७५ पुगिसकेको छ।
भोलिपल्ट अर्थात् भदौ २४ गते आक्रोशित भिड नियन्त्रणभन्दा बाहिर पुग्दा केपी शर्मा ओली नेतृत्वको सरकार त ढल्यो नै त्यसबाहेक मुलुकका प्रमुख भवन तथा प्रशासनिक केन्द्रहरू लगायत निजी र व्यावसायिक संरचना ध्वस्त भएका थिए ।
सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन र बिभिन्न जिल्लास्थित सरकारी कार्यालय र निजि संरचना र सम्पतिको तोडफोड, लुटपाट र आगजनी गर्ने काम समेत आन्दोलनकारीको नामबाट गरियो। आन्दोलनको परिणामस्वरुप पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकारको गठनका साथै प्रतिनिधि सभाको विघटनसमेत भयो ।
नेपालमा चलेको आन्दोलनलगत्तै विश्वका केही मुलुकहरूमा पनि यस्तै प्रकृतिका आन्दोलनहरू चलिरहेका छन् । अहिले कम्तीमा पनि पाँच मुलुकमा आंशिक वा पूर्ण रूपमा जेनजी आन्दोलनहरू चलिरहेका छन् । आन्दोलन कहाँ कहाँ चलेको छन त ?
भारतको लद्दाख र उत्तराखण्ड
नेपालको आन्दोलनलगत्तै सेप्टेम्बरकै अन्तिम हफ्ता भारतको लद्दाखमा पनि जेनजीको अगुवाइमा विरोध प्रदर्शनहरू भए । प्रदर्शनका क्रममा आन्दोलनकारीले भाजपा सरकारका नीति, भ्रष्टाचारलगायतको विरोध गरेका छन् । लद्दाखका युवाहरूले भारतको संविधानको छैटौं अनुसूचीअन्तर्गत सुरक्षाको माग गरे । त्यहाँ विभिन्न स्थानमा अहिले पनि झडपहरू चलिरहेका छन् ।
आन्दोलनलाई भड्काएको भन्दै वैज्ञानिक तथा अनुसन्धानकर्ता सोनाम वाङचुकलाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरूले सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयसमेत आगजनी गरे । उता उत्तराखण्डमा प्रदेश लोकसेवा आयोगको परिक्षाको प्रश्नपत्रमा भएको गडबडी तथा त्यसबारे मुख्यमन्त्री पुष्कर सिंह धामीको अभिव्यक्तिलाई गैह्रजिम्मेवार भन्दै युवाहरू आन्दोलित छन् । उत्तराखण्ड र लद्दाखको आन्दोलनको बैठान कसरी हुन्छ भन्ने अझै तय छैन ।
पेरु
नेपालमा जेनजी आन्दोलन चलेलगत्तै सेप्टेम्बरको अन्तिम हफ्ता दक्षिण अमेरिकी मुलुक पेरुमा पनि जेनजीको अगुवाइमा विरोध प्रदर्शनहरू सुरु भएका छन् । त्यहाँ शासन चलाइरहेको दक्षिणपन्थी गठबन्धनको सरकारविरुद्ध आन्दोलनकारीहरू सडकमा उत्रिए ।
विरोध प्रदर्शनालई वामपन्थी समाजवादीहरू तथा विभिन्न ट्रेड युनियनहरूले समेत समर्थन रहेको जनाएका छन् । पेरुमा बढ्दो आर्थिक असमानता तथा सरकारको असफलताहरूलाई आन्दोलनकारीहरूले मुख्य निशाना बनाएका छन् ।
आन्दोलन दैनिक रूपमा अझै सघन हुँदै गएका खबरहरू सार्वजनिक भएका छन् । राजधानी लिमा सहर तथा अन्य भागमा सडकमा निस्केका युवाहरू राष्ट्रपति दिना बोलुआर्तेविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा दुई दर्जन भन्दा धेरै प्रदर्शनकारी घाइते भएका खबरहरू सार्वजनिक भइरहेका छन् ।
केन्या
केन्यामा सरकारविरुद्ध पनि प्रदर्शनहरू सन् २०२४ बाटै सुरु भएका थिए । करमा गरिएको अचाक्ली वृद्धि तथा भ्रष्टाचारविरुद्ध सन् २०२५ बाट थप सशक्त प्रदर्शहरू देखा पर्न थालेका छन् । अहिले आन्दोलनको अगुवाइ जेनजीहरूले गरिरहेका छन् । युवाहरूले आर्थिक सुधारको माग गर्नुका साथै राष्ट्रपति विलियम रुटोको प्रशासनको विरोध गरिरहेका छन् । विरोधमा टिकटकको सबैभन्दा धेरै उपयोग हुने गरेको छ । अहिले पनि त्यहाँ युवाहरूले राजधानीलगायत अन्य सहरमा निरन्तर प्रदर्शन गरी नै रहेका छन् ।
इन्डोनेसिया
गत अगस्टमा इन्डोनेसियाका युवाहरू सांसदहरूले आफ्नो तलब भत्ता आफै तय गर्न पाउने विधेयकविरुद्ध सडकमा आएका थिए । आन्दोलनको अगुवाइ जेनजी युवाहरूले नै गरेका थिए । राष्ट्रपति प्रबोवोले चलाखीपूर्वक विधेयक फिर्ता लिएपश्चात् केही मत्थर भएको प्रदर्शन अहिले फेरि असमानता तथा प्रहरी दमनविरुद्ध थप चर्किन थालेको छ । प्रदर्शनहरू देशभर फैलिएका छन् ।
मोरक्को
अर्को अफ्रिकी मुलुक मोरक्कोमा #Gen-Z!@ नामको आन्दोलन चलिरहेको छ । त्यहाँको आन्दोलन पनि गत सेप्टेम्बरबाटै सुरु भएको हो । स्वास्थ्य र शिक्षामा लगाउनुपर्ने रकम सन् २०३० मा हुन लागेको विश्वकपका संरचनामा लगाउने कदमको विरोध गर्दै युवाहरूले देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले निरन्तर हिंसात्मक रूपमा प्रदर्शन नियन्त्रणको प्रयास गरिरहेको छ । तर, सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफर्मको सहायतामा आन्दोलन भने अझै विस्तार भइरहेको छ ।
माडाकास्कार
सेप्टेम्बरकै अन्त्यतिर सुरु भएको आन्दोलनले माडागास्कारमा सरकार नै फेरबदल गराइसकेको छ । आन्दोलन सुरु भएको करिब चार दिनमै त्यहाँका राष्ट्रपतिले सरकार अपदस्त गरेको घोषणा गरेका छन् ।
माडागास्करको आन्दोलनमा नेपालको जेनजी आन्दोलनको समेत प्रभाव देख्न सकिन्छ । संयुक्त राष्ट्र संघले विरोध प्रदर्शन सुरु भएयता २२ जना भन्दा धेरैको मृत्यु भएको तथा एक सय जनाभन्दा बढी घाइते भएको उल्लेख गरेको छ ।
यी मुलुकहरूका अलावा पूर्वीटिमोर, फिलिपिन्सलगायत अन्य केही स्थानमा पनि जेनजी आन्दोलन चर्किँदै गएको छ । नेपालमा जस्तै त्यी मुलुकहरूमा पनि जेनजी पुस्ताका युवाहरू खासगरी आर्थिक असमानता, भ्रष्टाचार तथा बेरोजगारीलाई मुख्य मुद्दा बनाएर विरोध गरिरहेका छन् । सडकमा विध्वंसात्मक रूपमा प्रस्तुत भइरहेका छन् । नेपालमा जस्तै ती प्रदर्शनहरूमा पनि सामाजिक सञ्जालको प्रयोग असाध्यै धेरै रहेको देखिन्छ ।















