काठमाडौं, नेकपा एमालेका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई गोली हान्ने आदेश तत्कालिन सरकारले नदिएको बताएका छन । प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली चलाइएको हुनसक्ने भन्दै ओलीले उक्त घटनाबारेमा निष्पक्ष छानबिन गर्नुपर्नेमा समेत जोड दिएका छन। संविधान दिवसको सन्दर्भमा एमाले अध्यक्ष ओलीले जारी गरेको सन्देशमा ‘शान्तिपूर्ण हुने भनिएको जेनजी आन्दोलनमा घुसपैठ गरेर हिंसा मच्चाइएको’ उल्लेख छ ।
ओलीले सन्देशमा भनेका छन ‘आयोजकहरूले भनेझैँ शान्तिपूर्ण प्रदर्शनमा षड्यन्त्रकारीहरूले घुसपैठ गरेर हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्छ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै ओलीले प्रदर्शनको क्रममा घाइते हुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
ओलीले उक्त घटनालाई देशको संविधानमाथि भएको ठूलो आक्रमणका रूपमा समेत लिएका छन् । ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर र व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।’ ओलीले जारी गरेको सन्देशमा भनिएको छ ।
आन्दोलन र त्यसपछि भएका घटनाक्रममा गहिरो षड्यन्त्र रहेको दाबी गर्दै ओलीले समय आएपछि धेरै कुरा समयले आफैं बयान गर्ने जनाएका छन । पूर्व प्रधानमन्त्री ओलीले युवापुस्ताले इतिहासका घटनाबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउँदै सार्वभौमसत्ता र संविधानको रक्षा गर्न सबै पुस्ताका नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो भन्दै ओलीले संविधान जारी हुँदा नेपालले भोगेका चुनौतीहरू स्मरण गर्दै संविधान नेपाली जनताले आफैंले आफैंका लागि लेखेको ‘भविष्य रेखा’ भएकोले वर्तमान परिस्थितिलाई गम्भीर मान्दै संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न सबैसंग अपिल गरेका छन ।




















