Play

जेनजी आन्दोलनकारीबाट कुटिएका देउवा दम्पतिको स्वास्थ्य खतरामुक्त, सुरक्षित स्थानमा उपचार जारी

गुरुकुल खबर


काठमाडौँ, जेनजीको नाममा भएको आन्दोलनका क्रममा आफ्नै निवासमा रक्ताम्य हुने गरि कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बुझिएको छ ।  देउवालाई सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए ।

रक्ताम्य अबस्थाका घाइते देउवा दम्पतिलाई केही मनकारी प्रदर्शनकारीले आक्रामक भिडबाट जोगाउँदै काँडेतार लगाइएको पर्खालमाथिबाट कम्पाउन्ड बाहिरको चौरमा लैजान सहयोग गरेका थिए र त्यस कार्यमा सुरक्षाकर्मीले पनि साथ् दिएको थियो । घरबाट निकालेर नजिकैको खालि जग्गामा लगेर केहीबेर राख्दा पनि आन्दोलनकारीहरुले देउबा दम्पतिमाथि टाढा टाढाबाट  ढुंगामुढा प्रहार गरिरहेका थिए। आन्दोलन कारीहरुले प्रहार गरेका ढुंगामुढाबाट जोगाउन सुरक्षकर्मीहरुले टीनको पाताले छेकेर देउवा दम्पतिलाई राख्नुपरेको थियो ।

देउवा दम्पतीलाई घर भित्रबाट लछारपछार पार्दै बाहिर निकालिएको थियो । सामाजिक सन्जालमा देखिने दृश्यमा हातमा नाङ्गो खुकुरी बोकेका सहित अन्य युवाले अश्लील शब्दमा गालीगलौज पनि गरेका थिए । तर, भिडबाट जोगाउन प्रहरी र सेनाले केही राउन्ड हवाई फायर गर्नुपरेको  थियो ।

देउवानिवासका एक छिमेकीका अनुसार प्रहरी र सेनाको संख्या घरभित्र छिरिसकेका प्रदर्शनकारीकाे भन्दा निकै कम थियो । तर, उनीहरूले घर जोगाउन नसके पनि देउवा दम्पतीलाई जोगाउन भूमिका खेले । आक्रामक भिडलाई थप उत्तेजित हुनबाट जोगाउन दर्जनभन्दा बढी हवाई फायर भएका थिए ।

घाइते अबस्थामा रहेका देउवा दम्पतिलाई लिन आएको नेपाली सेनाको हेलिकोप्टर खुल्ला चौरमा अवतरण गर्न निकै समस्या भएको थियो । एक त घरमा लागेको आगोको मुस्लोले असर पुर्‍याएकाे थियो भने अर्कोतर्फ आक्रमणकारी हेलिकोप्टर अवतरण गर्न नदिने अवस्थामा देखिन्थे । तर, सेनाले भिडलाई केहि पर हटाएर दुवैलाई हेलिकप्टर मार्फत उपचारको लागि सुरक्षित स्थानतर्फ पठायो ।

जेन–जी नाममा आन्दोलन चर्किंदै गएपछि प्रमुख दल र तिनका शीर्ष नेताका घरमा आगो लगाइएको थियो । मंगलबार दिनभर घरमै रहेका देउवालाई शुभचिन्तकले २३ भदौमा घरमा बस्दा असुरक्षा हुने जानकारी दिएका थिए । तर, उनले उक्त कुरामा खासै ध्यान दिएनन् । किनकि देउवा उक्त दिन साँझसम्म प्रधानमन्त्रीलाई मनाउन लागिपरेका थिए ।

उनले सामाजिक सञ्जाल बन्द गर्दा आक्रोश चुलिएर सडकमा पोखिएको भन्दै सत्ता साझेदार दल एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई सम्झाएर सामाजिक सञ्जाल खोल्न लगाएका थिए ।

घरभित्र देउवा दम्पति भेटेपछि उपचारको लागि नजाने समय सम्म देउवा दम्पतिमाथि आन्दोलनकारीहरुको तर्फबाट अश्लिल गालीको बर्षा  भैरहेको सामाजिक संजालमा आएका भिडिओहरुमा सुनिन्छ । नेपाली सेना र शसस्त्र प्रहरीका केहि सुरक्षाकर्मीहरु त्यहा रहेपनि उनीहरुले  आन्दोलनकारीहरुलाई आक्रमण नगर्न बारम्बार आग्रह गरेका थिए।

त्यसक्रममा सुरक्षाकर्मीले केहि राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो।  देउवा दम्पतिलाई जसोतसो सुरक्षा प्रदान गरि हेलिकोप्टर मार्फत अस्पतालमा उपचारार्थ पठाएको कारण देउबा दम्पतिको ज्यान सुरक्षित बन्न सकेको देखिन्छ।

सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको भएपनि त्यसपछि उनको उपचार अन्यत्र सुरक्षित ठाउँमा राखेर भइरहेको स्रोतले जनाएको छ । नेपाली सेनाका एकजना उच्च अधिकृतले दिएको जानकारी अनुसार हाल पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा दुवै सुरक्षित ठाउँमा हुनुहुन्छ र उहाँहरुको स्वास्थ्य अवस्था पनि खतरामुक्त छ ।अब परिस्थिति सामान्य बनेपछि सार्वजनिक हुनुहुनेछ ।

देउवाको निवासमा आगो लगाइयो, बहुमुल्य सामान आन्दोलनकारीले लगे 

आन्दोलनकारीको आगजनी र तोडफोडका कारम घरमा ठुलो क्षती पुगेको छ । आन्दोलनकारीहरुले घरभित्र रहेका गाडी जलाउनुको साथै बहुमूल्य सामान, गरगहना र सजावटका सामान सहित घरमा रहेका बिभिन्न ब्राण्डका मदिराका बोतलहरु समेत लिएर बाहिरिए पछि घरमा आगो लगाएका थिए।  ति दृश्यहरु सामाजिक संजाल फेसबुकमा पर्याप्त देखिन्छन।

 

पाँचपटक प्रधानमन्त्री भएका सत्तारुढ दलका नेता असुरक्षाका कारणले कुनै अज्ञात स्थलमा उपचाररत रहेको उनीनिकटले शिलापत्रलाई जानकारी दिएका छन् । उनले भनेका छन्, ‘दुवै जना सुरक्षित हुनुहुन्छ । हामीले स्वास्थ्य अवस्थाको ख्याल गरिरहेका छौँ ।

२५ भाद्र २०८२, बुधबार १५:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा