पोखरा, जेनजी आन्दोलनको क्रममा मुलुकको बिभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएकोमा गण्डकी प्रदेशको राजधानी पोखरामा पनि मंगलवार दिनभर दर्जनौं कार्यालय र निजि घरमा आगजनी र तोडफोड भएको छ। प्रदर्शनकारीहरुले पोखराको विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरु एबम बिभिन्न राजनीतिक दलका कार्यालय र दलका नेता एबम जनप्रतिनिधिहरुको निवासलाई निशाना बनाएर तोडफोड र आगजनी गरेको छन।
जसका कारण मंगलवार दिन भर पोखरा बजार क्षेत्र तनाबग्रस्त रह्यो भने पोखराको आकाशमा हेर्दा दिनभर जसो बिभिन्न स्थानमा भएको आगलागीबाट निस्केको धुँवाको मुस्लो पर्याप्त देखिन्थ्यो।

पोखरा बजार क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालय र वडा कार्यालयहरुमा पुगेका प्रदर्शनकारीहरुले दिनभर जसो तोडफोड र आगजनी गर्न आफ्नो समय र शक्ति खर्च गरेका थिए। अधिकांश प्रदर्शनकारीहरुले बिभिन्न सरकारी कार्यालय र अन्य स्थानमा तोडफोडको लागि पुग्नको लागि मोटरसाइकल वा दुई पांर्ग्रे सवारी साधन प्रयोग गरेको देखिन्थ्यो। बिहान १० बजेबाट पोखराको मुख्य बजार क्षेत्रमा कर्फ्युको आदेश जारी गरिएको भएपनि सोहि समयदेखि नै कर्फ्यु आदेश जारी गरिएको ठाउँमा प्रदर्शनको साथै आगजनी र तोडफोडमा उत्रिएको थियो।
कास्की कारागारका कैदी बन्दी भगाइयो
जेनजी आन्दोलन चर्किँदै जाँदा कास्की कारागार तोडफोड गरी कैदीबन्दीहरू भागेका छन्। आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा आगजनी गर्दै कारागारतर्फ आक्रमण गरेपछि बेलुकी कैदीबन्दीहरूले आन्दोलनकारीको सहयोगमा आफैं ब्लक तोडेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार, आन्दोलनकारीहरूले कारागार सुरक्षामा खटिएका केही प्रहरीलाई कुटपिट गरेका थिए। त्यसपछि भित्र छिरेर तोडफोड गर्दा कैदीबन्दीहरू समेत बाहिर निस्केर भाग्न सफल भएका हुन्। कास्की कारागारमा हाल ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी रहेका थिए। प्रहरीले अहिले फरार कैदीबन्दीको खोजी र नियन्त्रणमा कडा सुरक्षा सतर्कता अपनाएको जनाएको छ।
बिभिन्न ब्यबसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड
आन्दोलनकारीहरुले ब्यबसायिक प्रतिष्ठानहरुमा समेत तोडफोड र आगजनी गर्ने क्रमसमेत जारी राखेका थिए । पोखराको नयाँसडकस्थित भटभटेनि सुपर मार्केट, नयाँबजारस्थित बतास भवन, बाग्लुंग राजमार्गस्थित सिजी भवन, लेकसाइडस्थित बगैंचा रिसोर्ट लगायतका ब्यबसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड हुँदा ठुलो क्षती भएको छ। बतास भवनमा डोजर सहित प्रवेश गरेको समुहले गाडीहरुमा समेत तोडफोड गरेको थियो ।
भाटभटेनि सुपर मार्केटबाट सामानहरु समेत प्रदर्शनकारीहरुले उठाएर लागेको बताइएको छ। यसैगरी उक्त समुहले पोखराको बुलौदीस्थित पोखरा इभेन्ट्स सेन्टरमा समेत आगजनी र तोडफोड गरेर ध्वस्त बनाइदिएको छन । कतिपय ब्यबसायिक प्रतिष्ठानमा प्रदर्शनकारीहरुले डोजर लिएर तोडफोड गर्न पुगेका थिए।
मुख्यमन्त्री कार्यालय र निवास पनि निशानामा
यसैक्रममा पोखराको रत्नचोक नजिक रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय र राष्ट्रबैंकचोक नजिक रहेको मुख्यमन्त्री निवासमा तोडफोड र आगजनी भएको छ। मुख्यमन्त्रीको कार्यालयमा सोमबार नै तोडफोड गरेका आन्दोलनकारीहरुले मंगलवार पनि सोहि कार्यालयमा थप तोडफोड र मुख्यमन्त्रीको निवासलाई निशाना बनाएका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हाल आफ्नी श्रीमती र अन्य सहित दुबईको भ्रमणमा रहेको बेला उनको सरकारी कार्यालय र सरकारी निवास तोडफोड गरिएको छ। मुख्यमन्त्री पाण्डे अब नेपाल फर्किएर मुख्यमन्त्रीको कुर्सीमा समेत बस्न नपाउने अबस्था सिर्जना भएको छ।
पूर्व मुख्यमन्त्री द्वय पोखरेल र अधिकारीको निवासमा तोडफोड
आन्दोलनकारीहरुले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरेलको नवलपुरको गैंडाकोटस्थित घरमा पनि तोडफोड गरेका छन् । मंगलवार दिउँसो घरमा पुगेको आन्दोलनकारीहरुको समूहले घरको माथिल्लो तलामा रहेका सिरक, डसना लगायत लत्ता कपडा बाहिर निकालेर जलाएका छन् । घरका झ्याल, ढोका, पलङसहित पंखा र कुलर समेत उनीहरु बाहिर फालिदिएका थिए । तल्लो तलामा भाडामा बस्ने भएकाले आन्दोलनकारी सिधै माथिल्लो तलामा गएर सामान निकालेको प्रत्यक्षदर्शीले बताए ।
यसैगरी नेकपा एमालेका नेता एबम पुर्ब मुख्यमन्त्री खगराज अधिकारीको पोखरा -१२ धिकालेथर स्थित निजि निवासमा पनि तोडफोड गरेर क्षती पुर्याइएको छ । अधिकारी पुर्ब स्वास्थ्यमन्त्री समेत हुन उनि केहि महिना पछि गण्डकीको मुख्य मन्त्री बन्ने तयारीमा पनि थिए ।
गण्डकी प्रदेशका मन्त्री थापा र मेयर आचार्यको घरमा तोडफोड र आगजनी
आन्दोलनकारीहरुको समुहले बिशेषगरि नेपाली काँग्रेस र नेकपा एमालेका नेताका घर र व्यक्तिगत सम्पतिमा आगजनी र तोडफोड गरेको छन। कांग्रेसबाट निर्बाचित प्रदेश सांसद बिन्दुकुमार थापाको नयाँबजार स्थित घर र पोखराका मेयर धनराज आचार्यको नयाँबजार स्थित घरमा पनि प्रदर्शनकारी पुगेर आगजनी र तोडफोड गरेका छन। प्रदर्शनकारीहरुले गण्डकी प्रदेशका मन्त्री थापाको घरमा समेत आगजनी गरेको छन नयाँबजारस्थित थापाको निवासमा ठुलो संख्यामा पुगेका प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गर्दा घरमा ठुलो क्षती पुगेको छ।
सोहि क्रममा आन्दोलनकारीले मन्त्री थापाको घर नजिकै रहेको उनका भाई तथा ब्यबसायी ध्रुब थापाको निवास र ब्यबसायिक भवनमा समेत तोडफोड र आगजनी गरिदिएको छन। यसैगरी जेनजी आन्दोलनमा लागेका प्रदर्शनकारीहरुले लेकसाइडस्थित बगैंचा रिसोर्टमा पनि तोडफोड र आगजनी गरेको बताइएको छ ।
गण्डकी प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालयमा आगजनी र तोडफोड
यसैगरि जेनजी आन्दोलनमा क्रियाशील प्रदर्शनकारीहरुले पोखराको नदीपुरमा रहेको गण्डकी प्रदेश सभाको सचिवालय भवन सहित त्यहाको कार्यालयमा पनि आगजनी र तोडफोड गरेको छन। प्रदर्शनकारीहरूले पोखराको शहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा समेत तोडफोड र आगजनी गरेर क्षती पुर्याएका छन।
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
यसैगरी प्रदर्शनकारीहरुले पोखराको नयाँसडकमा रहेको पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन। नयाँसडकमा ठुलो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले महानगरपालिका कार्यालय अगाडी सुरक्षामा खटिएको प्रहरी टोलीमाथि समेत ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हवाई फायर र श्रुग्यास प्रहार गरेको थियो। त्यसपछि केहि समय भिड तितर बितर भएको र सुरक्षाकर्मी समेत चिप्लेढुंगा तर्फ गएपछि पुन त्यहाँ जम्मा भएको भिडले महानगरपालिका कार्यालयमा आगजनी गरेको थियो ।
पोखराका अधिकांश वडा कार्यालयहरुमा आगजनी र तोडफोड
महानगरपालिका कार्यालयमा आगजनी गरेपछि प्रदर्शंकारीहरुले पोखराका बिभिन्न वडा कार्यालयहरुमा पनि तोडफोड र आगजनी गरेको छन। प्राप्त जानकारी अनुसार पोखरा महानगरपालिकाको बगरमा रहेको वडा न १ को कार्यालय, बिन्ध्यबासिनीमा रहेको वडा न. २ को कार्यालय, नदीपुरमा रहेको वडा न. ३ को कार्यालय, गणेशटोलमा रहेको वडा न. ४ को कार्यालयमा पनि तोडफोड र आगजनी गरेका छन।
यसैगरी आन्दोलनकारीहरुले पोखराको मालेपाटनमा रहेको वडा न. ५ को कार्यालय, नयाँसडकमा रहेको वडा न.८ को कार्यालय, फुलबारीमा रहेको वडा न. ११, बाँझापाटनस्थित वडा न. १२, कोलपाटनस्थित वडा न. १५ , हेमजामा रहेको वडा न.२५५ को कार्यालय सहित अन्य वडा कार्यालयमा पनि तोडफोड र आगजनी गरेका छन। महानगरपालिका कार्यालय र विभिन्न वडा कार्यालयसहित आगजनी र तोडफोड भएका कार्यालयहरुमा के कति क्षती भयो भन्ने अनुमान समेत हुन सकेको छैन।
कांग्रेस र एमालेका बिभिन्न कार्यालयहरुमा पनि तोडफोड र आगजनी
आन्दोलंकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेका पोखरा स्थित बिभिन्न कार्यालयलाई समेत आफ्नो निशानामा पारेका थिए। जस अनुसार पोखराको महेन्द्रपुलस्थित नेपाली काँग्रेसको कार्यालय र नेकपा एमालेको गण्डकी प्रदेश र नयाँबजार नजिक शान्तिबनमा रहेको कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्।
पोखराको नयाँबजारस्थित भाडाको घरमा रहेको एमालेको गण्डकी प्रदेश कार्यालयमा प्रवेश गरेका आन्दोलनकारीले मंगलबार दिउँसो सामान बाहिर निकाल्दै आगजनी र तोडफोड गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
यसका साथै पोखरा महानगरपालिका – १५ स्थित नेपाली काँग्रेसको वडा कार्यालयमा समेत प्रदर्शनकारीहरुले तोडफोड गरेको बताइएको छ।
सबैजसो सरकारी कार्यालयमा आगजनी र तोडफोड
पोखरामा रहेका अधिकांश सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ। पोखरामा रहेको मालपोत कार्यालय, जिल्ला अदालत सहित शहिदचोक क्षेत्रमा रहेका अधिकांश कार्यालयहरुमा जेनजी प्रदर्शनकारीहरु पुगेर आगजनी र तोडफोड गरिदिएका छन। मंगलवार बिहानबाट शुरु भएको आन्दोलन र तोडफोड एबम आगजनीको घटनाहरु बेलुका अबेरसम्म पनि चलिरहेका छन ।















