पोखरा, पोखरा महानगरपालिकाको लेखनाथका दुई युवाले ‘मनिकर्न‘ को नाममा मकैको स्वादिष्ट परिकार उत्पादन गरि बजारमा ल्याएका छन। पोखरा- २९ भण्डारढिकका दुई दाजुभाई महेशमणि भण्डारी र मुकुन्दमणि भण्डारीले पोखरा महानगरपालिका -३२ मालेपाटनमा ‘मनि फुड इन्डस्ट्रिज‘ स्थापना गरेर मकैलाई भुटेर ‘मनिकर्न’ को नाममा बिभिन्न स्वादको परिकार बनाएर बजारमा ल्याएका हुन।

हाल उक्त उधोगबाट उत्पादित ‘मनिकर्न’ तिन किसिमको स्वादमा बजारमा आएको छ। टिमुर मिक्स, चिज र क्लासिक गरि तीनवटा स्वादमा उत्पादन गरि बजारमा आएको ‘मनिकर्न’ का दुई किसिमको उत्पादन टिमुर मिक्स र क्लासिकलाई पूर्णतया भेगन बनाइएको छ। मनि फुड इन्डस्ट्रिजका अध्यक्ष मुकुन्दमणि भण्डारीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार भण्डारी दाजुभाईले स्थापना गरेको उक्त उद्योगमा करिब डेढ करोड रुपैया लगानी भएको छ भने करिब दशजनालाई प्रत्यक्ष रोजगारी दिईएको छ।
बिशेषगरि भेजीटेबल खाना र त्यसमा पनि मकैको बिभिन्न स्वाद मन पराउनेहरुको लागि मनिकर्नका बिभिन्न उत्पादन उपभोक्ताहरुले मन पराएको छन । हामीले उत्पादन गरेर बजारमा पठाएको छोटो समयमा नै माग बढेको र मकैका पारखीहरु वा ग्राहकहरुले मन पराएको भन्ने प्रतिक्रिया आँफुहरुलाई प्राप्त भएको उद्योगका संचालक महेशमणि भण्डारीले जानकारी दिए। “हामीले उत्पादन गरेको ‘मनिकर्न’लाई आम नेपाली उपभोक्ताले खाजा वा स्न्याक्सको रुपमा प्रयोग गर्न लागेको हामीले पाएका छौं।” उनले भने ।

मकैबाट बिभिन्न किसिमको परिकारको उत्पादन गर्ने संभवत नेपालकै पहिलो उधोग ‘मनि फुड इन्डस्ट्रिज’ रहेको भण्डारी दाजुभाईको दाबि छ। “यस अगाडी पनि स्थानीय एबम घरेलु तरिकाले मकैलाई भुटेर बजारमा बिक्रि वितरण गरिंदै आएको थियो । तर, ठुलो लगानीमा उद्योग स्थापना गरि बिभिन्न फ्लेवरमा मकैको परिकार उत्पादन गर्ने र आकर्षक प्याकेटमा बजारमा पठाउने काम सम्भवत नेपालमा नै पहिलो पटक हामीले गरेका छौ।” संचालक भण्डारीले गुरुकुल खबरसंग भने। ‘हाम्रो सामान, हाम्रो स्वाभिमान’ भन्ने सोचका साथ् उद्योग स्थपना गरि उत्पादनलाई बजारीकरण गरिएको भण्डारी दाजुभाइको भनाई छ ।
महेश र मुकुन्दका बुवा मदनमणि भण्डारीले आफ्ना छोराहरुले नयाँ उद्योग स्थापन गरि मकैको उत्पादन बजारमा पठाएको र उपभोक्ताले मन पराएको भन्ने प्रतिक्रिया पाउँदा खुसि लागेको बताए। उनले भने “दुवै छोराहरुले आंफ्नो अध्ययनलाई समेत अगाडी बढाएर उद्योग स्थापना गर्ने सोच ल्याएपछि उनीहरुलाई आबश्यक सहयोग मात्र मैले गरेको हु, तर अब भने छोराहरुले नै उत्पादन र बजारीकरणमा ध्यान दिएर सफलता प्राप्त गर्ने अभियानमा लागेको थाहा पाउँदा खुसि लागेको छ।”
उद्योग स्थापना गरेर उत्पादन बजारमा पठाउन सफल दुई दाजुभाई नै शैक्षिक रुपमा पनि योग्य छन। दाई महेशले एमबिए सम्मको अध्ययन र कानुनमा पनि स्नातक तहसम्मको अध्ययन पुरा गरेको छन भने भाई मुकुन्द स्नातकोत्तर तहमा अध्ययनरत छन। छोराहरुले विदेश जानुभन्दा आफ्नै ठाउँमा बसेर केहि गर्ने सोच अगाडी सारेपछि उनिहरुको लागि खुसि साथ आबश्यक सहयोग गरेको बुवा मदनले बताए। ‘तर, अब भने छोराहरु नै जाने बुझ्ने भएको छन सबै कामआँफै गर्छन।’ उनले भने।
भण्डारी परिवार यस अगाडी नै बिभिन्न उद्योग ब्यबसायसंग जोडिएको परिवार हो। मदनमणि भण्डारी र उनका दाई प्रकाशमणि भण्डारी पनि यस अगाडी बिभिन्न उद्योग ब्यबसाय संग जोडिएका थिए। शक्ति ग्याँस, भिजन केवल, गण्डकी ब्रिक फेक्ट्री, त्रिशक्ति शप एण्ड केमिकल इन्डस्ट्रिज र हिमालयन सोलार हाइड्रो लगायतका उद्योग ब्यबसायमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका प्रकाश र मदन पछिल्लो समय करिब निष्क्रिय जस्तै देखिएका छन। मदन र प्रकाशका बुवा हिरामणि भण्डारीलाई कास्की जिल्लामा सहकारीको अग्रज एबम अभियन्ता र प्रजातन्त्रका सेनानीको रुपमा सबैले चिन्ने गरेका छन।














