काठमाडौँ, नेपाल सरकारले ३२ औं प्रहरी महनिरिक्षकको जिम्मेवारी चन्द्रकुवेर खापुङलाई सुम्पिएको छ। शुक्रबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी पछिल्लो ब्याचका हुन् ।
खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए
प्रहरी उपरीक्षक (एसपी) हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।
प्रहरी महानिरीक्षक दीपक थापा थापा ३० वर्षे सेवा अवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए ।
हाल प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको कारण थापाको पदावधी सकिएको हो । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ ।
तर, छलफल चल्दाचल्दै निजामती विधेयकमा देखिएको कुलिङ पिरियड ‘विवाद’का कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिए । नयाँ सभापति चयन नहुँदा प्रहरी विधेयकमाथिको दफावार छलफल रोकिएको छ ।
आईजीपी थापा २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।















