Play

संचारमन्त्री गुरुङ पोखरामा: एमालेले प्रत्यक्षमा १ सय सिट र समानुपातिकमा ४० प्रतिशत मत ल्याउनुपर्नेमा जोड

साइबर क्राइम र मिडियामा देखिएको अराजकता नियन्त्रण गर्न बिधेयक ल्याउने तयारी भएको गुरुङको भनाई


गुरुकुल खबर


पोखरा, नेपाल सरकारका संचार तथा सूचना प्रबिधि मन्त्री एबम नेकपा एमालेका नेता पृथ्वी सुव्वा गुरुङले साइबर क्राइमको नियन्त्रण अपरिहार्य भएको बताएका छन ९/१० महिनाको अबधिमा साइबर क्राइम सम्बन्धी १९ हजार भन्दा बढी उजुरीहरू प्रहरीमा आएको जानकारी दिंदै संचार मन्त्री गुरुङले साइबर क्राइम सम्बन्धी स्पष्ट कानुन नहुँदा यसको नियन्त्रण चुनौतीको रुपमा देखा परेको बताएका हुन्

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको जानकारी दिए । उनले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले बिधेयक ल्याउन लागेको समेत स्पष्ट पारे ।

यो विधेयक मिडियाको नियन्त्रण गर्न नभै नियमनका लागि भएको भन्दै मन्त्री गुरुङले भने , “यो सरकार डेमोक्रेटको सरकार हो । यसलाई लोकतान्त्रिक मूल्य मान्यतालाई कुण्ठित गर्ने गरी काम गर्न छुट छैन ।”

प्रेस काउन्सिल विधेयकका ठाउँमा सरकारले मिडिया काउन्सिल विधेयक ल्याउन लागेको बताउँदै मन्त्री गुरुङले यस विधेयकले सबै किसिमका मिडियालाई नियमन गर्ने बताए । यस अघि प्रेस काउन्सिल विधेयक आउँदा अनलाइनहरूको विकास नभएको स्पष्ट पार्दै उनले मिडिया काउन्सिल विधेयकले सबै किसिमका मिडियाको नियमन गर्ने बताए  ।

संचार क्षेत्रसंग सम्बन्धित पुराना कानुनको परिमार्जनसँगै आवश्यक नयाँ सबै किसिमका कानुनहरू ल्याउने गरी आँफू लागिरहेको मन्त्री गुरुङले बताए । पछिल्ला समयमा प्रदेशका कार्यालयहरू कटौतीका विषयमा सञ्चारकर्मीको एक जिज्ञाशामा मन्त्री गुरुङले भने, ‘जनतालाई सेवा दिन स्थापना गरिएका कार्यालयहरु घटाउने भन्दा पनि त्यसलाई कसरी कम खर्चिलो र प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुुपर्ने हो, त्यस तर्फ सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ’

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले प्रदेश सरकारले आफ्नै कार्यालयहरू खारेज गर्ने निर्णय संघीयताको मर्मविपरीत भएको टिप्पणी गरे । उनले भने, “बरु मन्त्रालय घटाएको भए राम्रो हुन्थ्यो होला, कार्यालय नै खारेज गर्नु उल्टो बाटो हिँड्न खोज्नु जस्तै हो ।” उनले प्रदेश सरकारले कार्यालय खारेज गरेर बहादुरी देखाउन खोजेको आरोप लगाए । । पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा भएको थियो ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाले अवसर पर्खिनुभन्दा आफैं योजना बनाएर नेतृत्वमा दाबी गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीको दोस्रो सम्मेलनमा सम्बोधन गर्दै उनले राज्य र सरकारका तहमा पद र जिम्मेवारी सहजै प्राप्त गर्न क्षमता देखाउने र जनता–नेतृत्वले देख्नेगरी काम गर्ने अभ्यास जरुरी भएको बताएका हुन ।

युवाको सक्रियता र अध्ययनशीलता अभावमा संगठन कमजोर हुने भन्दै गुरुङले जनसंगठन निर्माणमा नयाँ पुस्ताको आकर्षण बढाउन आग्रह गरेका थिए । ‘यहाँ आमैआमा हुनुहुन्छ तर छोरी–भान्जीलाई ल्याउन सकिएको छैन, त्यो कमजोरी हो, उहाँहरुलाई पाटीमा ल्याउने वातावरण तपाईं हामीले गर्नुपर्छ,’ उनले भने ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले राजनीतिक आन्दोलन सकिएकाले अब सशक्तीकरण, समृद्धि र विकासतर्फ ध्यान दिनुपर्ने धारणा राखे । उनले आउने आमनिर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई योजनाबद्ध भएर लाग्न निर्देशन दिएका छन् । ‘२०८४ मा एमालेलाई सुविधा जनक बहुमत दिलाउने जिम्मेवारी तपाईंहरूकै काँधमा छ’, उनले भने

गण्डकी प्रदेशका ६० सिटमध्ये कम्तीमा ३५ सिट जित्ने गरी तयारी गर्न कार्यकर्तालाई उनले निर्देशन दिए । उनले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १ सय र समानुपातिकतर्फ ४० प्रतिशत मत ल्याएर एमालेले बहुमतको सरकार बनाउन सके आर्थिक विकासमा कायपलट ल्याउने सक्ने बताए ।सोही अनुरुप नेता तथा कार्यकतालाई योजना बनाउन र परिचालित हुने उनले निर्देशन दिए ।

यद्यपि अहिले देखिएको चौतर्फी घेराबन्दीलाई एमालेले तोड्नुपर्ने उनले औंल्याए । पार्टी नेतृत्व सम्बन्धी प्रसंगमा गुरुङले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकै विकल्प खोज्ने बेला नभएको बताए । ‘अरुको उक्साहटमा आएर नेतृत्वमा दाबी गर्ने प्रवृत्ति पचाउन गाह्रो हुन्छ, एमालेमा अहिले ओलीकै बाटो सही छ,’ उनले भने ।

कार्यक्रममा नेकपा (एमाले) जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले महिला संघले सबैभन्दा बढी प्रतिनिधित्व हासिल गरेको संगठन भएकाले संगठन विस्तार र नीतिलाई जनस्तरसम्म पु¥याउने जिम्मेवारी अझ बढेको बताए ।

त्यस्तै, अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका हमालले रचनात्मक एकताका आधारमा जनसख्याकै अनुपातमा प्रतिनिधित्व सुनिश्चित हुने खालको संरचना बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा महिला संघ गण्डकीका अध्यक्ष हीराकुमारी गिरी, सचिव खरमाया बिटालु, कोषाध्यक्ष अञ्जु केसी लगायतले आआफ्नो भनाई राखेका थिए ।

६ भाद्र २०८२, शुक्रबार २२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा