पोखरा, सामाजिक सेवामा बिगत तीन दशक देखि निरन्तर क्रियाशील पोखरा महानगरपालिका वडा नं ५ स्थित सूर्यचन्द्र विकास समाजले यस बर्ष पनि खुल्ला तिजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले वडा नं ५ मा रहेका विभिन्न संघ संस्थाहरुसंग मिलेर यहि भदौ १० गते बाराही मा.वि.को खेल मैदानमा ११ औं संस्करणको मालेपाटन खुल्ला तिजगीत प्रतियोगिता – २०८२ आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समाजकी अध्यक्ष सावित्री कोईरालाले संस्थाले स्थापनाकालबाटै साहित्य, कला, राष्ट्रिय कवि सम्मेलन, दुर्व्यसन नियन्त्रण, संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन र सामुदायिक विकासको क्षेत्रमा विभिन्न काम गर्दै आएको जानकारी दिईन ।
प्रतियोगितामा सहभागि हुन चाहनेहरुले मौलिक लयमा आधारित तिजगीत र नृत्य प्रस्तुत गर्नुपर्ने बताउंदै उनले युवा पुस्तामा आफ्नो संस्कार, संस्कृति प्रतिको मोह जगाउने, अन्य संघ, संस्थाहरुसंगको सांस्कृतिक गतिविधि बढाउन सेतुको रुपमा रहने, विपन्न, महिला तथा विपन्न समुदायको सहभागितालाई भने सुनिस्चित गरिने समेत उनले बताईन। कार्यक्रमलाई सफल पार्नका लागि युनाईटेड रेफरेन्स ल्याबोरेटरले मुख्य प्रायोजन गरेको छ भने अन्य व्यक्ति र संस्थाले सहयोग गरेका छन ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ४० हजार र प्रमाणपत्र, दितिय हुने समूहलाई नगद ३० हजार र प्रमाणपत्र, तृतीय हुने समूहलाई नगद २० हजार रुपैया र प्रमाणपत्र दिईनेछ । यस्तै सान्त्वना हुने समूहलाई नगद १० हजार र प्रमाणपत्र, उत्कृष्ट भेषभुषा र नृत्यलाई नगद तीन तीन हजार रुपैया प्रदान गरिने भएको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि रुपैयाँ ६ लाख ४५ हजार खचै हुने अनु्मान गरिएको छ भने ६ लाख ५९ हजार आम्दानी हुने अनुमान गरिएको छ। कार्यक्रमबाट रुपैयाँ १४ हजार बचत र सो रकमलाई सहिद स्मृति पुस्तकालय संचालनमा खर्च गरिने भएको छ । कार्यक्रमलाई सम्पन्न गर्नका लागि अध्यक्ष सावित्री कोईरालाको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र विभिन्न ११ वटा उपसमितिहरु बनाईएको छ ।
तस्बिर – तिर्थ केसी