भिमाद (तनहुँ), नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले सहिदको सम्मान गर्ने बताउंदै शहिदको योगदान खेर जान नदिन नेपाली काँग्रेस प्रतिबद्द रहेको बताएको छन। तनहुँको भिमाद नगरपालिका –६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको मंगलबार अनावरण गरेका देउवाले त्यसपछि आयोजित एक समारोहमा शहिदहरुले शुरु गरेका अधुरा कामलाई अगाडी बढाउनु अहिलेको जिम्मेवारी भएको समेत स्पष्ट पारे।
यसै सन्दर्भमा सभापति देउवाले भने,’ शहिद परिवारको लागि सम्मान र सहयोग दुबै आबश्यक रहेको उल्लेख गरे । तनहुँ जिल्लामा २००७ सालदेखिको हरेक राजनीतिक आन्दोलन एबम गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि धेरै नेताहरुले महत्वपूर्ण योगदान गरेको भन्दै कांग्रेस सभापति देउवाले आंफ्नो ज्यान बलिदान दिने साथीहरुको योगदान बिर्सिन नहुनेमा जोड दिए।
नेपाली काँग्रेस तनहुँका तत्कालिन क्षेत्रिय सभापति कल्याण खनालको २०५९ साउन २७ गते अर्थात २३ बर्ष अगाडी आजकै दिन घरमा नै हतियारधारी माओबादीले निर्ममता पुर्बक हत्या गरेका थिए। कांग्रेसमा क्रियाशील खनालको परिवारसंगै बसेर खाना खाँदै गरेको अबस्थामा घरबाट जबर्जस्ती बाहिर निकालेर गोलि हानेर गरिएको थियो।
स्व. कल्याण खनालकी धर्मपत्नी इन्दिरा खनालले आफ्ना ३ जना साना छोरा छोरीहरु र ७३ बर्षीय बृद्ध आमाको अगाडी निर्ममता पुर्बक हत्या गरिएको बताइन। ‘उक्त घटनापछि छोराछोरीको पालन पोषण गर्न र शिक्षा दिक्षा उपलब्ध गराउन मैले शिक्षण पेशा समेत छोड्नुपर्यो तर अहिले छोराछोरीहरु ठुला भएका छन, अब मैले पनि मेरा श्रीमानको सपना पुरा गर्न पार्टी संगठनमा थप क्रियाशील भएर अगाडी बढ्ने प्रण गरेकी छु।’
शहिद कल्याणकी धर्मपत्नी इन्दिरालाई नेपाली काँग्रेसले यस अघिल्लो चुनाबमा भिमाद नगरपालिकाको उपमेयरको उमेद्वार बनाएको थियो तर त्यस समय नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको उमेदवार बनेका पुष्पराज पराजुली र उपमेयर खनाल दुबै पराजित बन्न पुगेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले स्वर्गीय कल्याण खनाल सहित तनहुँमा शहिद बनेका कांग्रेसका नेताहरुको योगदान महत्वपुर्ण रहेको कुराको चर्चा गरे। उनले पार्टीका नेता कार्यकर्ताहरु बीच मतभेद अन्त्य गर्दै जनताका समस्या समाधानमा केन्द्रित रहने हो भने २०८४ को चुनाबमा नेपाली काँग्रेस अझ बलियो बन्ने उनले बिश्वास ब्यक्त गरे।
नेपाली काँग्रेसका नेता एबम पूर्व महामन्त्री डा.शंशाक कोइरालाले नेपाली काँग्रेसले मात्र प्रजातन्त्रको रक्षा गर्न सक्ने भन्दै पार्टीका नेता र कार्यकर्ताहरुले नागरिकको समस्यालाई बुझेर सोहि अनुसार पार्टी र सरकारलाई निर्देशित गर्नुपर्ने खाँचो औंल्याए।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदङवे, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री शंकर भण्डारी , केन्द्रीय सदस्य एवं स्वास्थ्य मन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य गोबिन्द भट्टराई, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्म, नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य पुष्पराज पराजुली लगायतले समेत लोकतन्त्र प्राप्तिको आन्दोलनका साथै कांग्रेसको संगठन बलियो बनाउन सहिद खनाल र परिवारको योगदान अतुलनीय रहेको बताएका थिए ।
नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रममा ,पूर्व सभापति रघुनाथ पौडेल , कास्की कांग्रेसका पूर्व सभापति एबम पुर्ब मन्त्री यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ , सहिद पत्नी इन्दिरा खनाल ,कांग्रेस नेता लक्ष्मी आचार्य, महिला संघकी सभापति पवित्रा पौडेल, दलित संघका नेता रामकृष्ण बिक, कांग्रेस नेता चुडामणि खनाल लगायतले स्व खनालको व्यक्तित्व र नेपाली काँग्रेसले गर्नुपर्ने विभिन्न कामको बारेमा चर्चा गरेका थिए। उक्त समारोहमा सहिद कल्याण खनाल सहित नेपाली काँग्रेस र प्रजातन्त्रको लागि बलिदान दिएका १२ जना शहिदका परिवारलाई नेपाली काँग्रेसको तर्फबाट सम्मान गरिएको थियो ।
तस्बिर – शिरोमणि बराल