पोखरा, विभिन्न क्याम्पसमा प्राध्यापन गर्ने प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वविद्यालय अनुदान आयोगको सहयोग र जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा ६ दिने तालिम शुरु भएको छ। तालिमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आइतबार एक समारोहको बीच गरेका थिए।
तालिमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अधिकारीले यस किसिमका तालिमले प्राध्यापकहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। अब सबै क्याम्पसका लागि क्युएए अनिवार्य रहेको भन्दै उनले विश्वविद्यालय अनुदान आयोगले ‘क्रेडिट ट्रान्सफर’ निर्देशिका निर्माण गरी अगाडि बढ्ने र विदेशी विश्वविद्यालयहरूसँग समकक्षता प्रदान गर्ने सम्मको तयारी गरेको जानकारी पनि दिए।
जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष बिरेन्द्र नारायण बिजुक्छेले यस किसिमका तालिमले प्राध्यापकहरूको क्षमता वृद्धि हुने र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार प्रा.डा. हृदयरत्न वज्राचार्यले प्रविधि र शिक्षाका बारेमा आफ्नो भनाई राखेका थिए भने प्राध्यापक डाक्टर पेशल दाहालले तालिमको महत्त्वमाथि प्रकाश पार्दै अनुशिक्षण दिएका थिए। क्याम्पस प्रमुख कृष्णबाबु बरालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै तालिमको महत्त्वबारे प्रकाश पारेका थिए।
६ दिनसम्म चल्ने उक्त तालिममा ११ वटा क्याम्पसका प्राध्यापकहरू सहभागी भएका छन्। जसमा जनप्रिय बहुमुखी क्याम्पस, पोखरा बहुमुखी क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पस, आदिकवि भानुभक्त क्याम्पस (तनहुँ), गलकोट बहुमुखी क्याम्पस (बाग्लुङ), म्याग्दी बहुमुखी क्याम्पस (म्याग्दी), मर्स्याङ्दी बहुमुखी क्याम्पस (लमजुङ), द्रोणशाह बहुमुखी क्याम्पस (गोर्खा), कालिका बहुमुखी क्याम्पस (पोखरा), कन्या बहुमुखी क्याम्पस (पोखरा) र जनज्योति बहुमुखी क्याम्पस (तनहुँ) लगायतका क्याम्पसहरूबाट प्राध्यापकहरू सहभागी रहेको जनप्रिय क्याम्पसका उपप्राध्यापक तथा विद्यार्थी हित शाखा प्रमुख वेदहरी तिमल्सिनाले जानकारी दिएका छन।
तालिम सञ्चालनको संयोजन तालिम युनिटका सदस्य राजेन्द्र पौडेलले गरेका छन। यस्तै, ट्रेनिङ युनिटका सदस्य यम बरालले प्रविधिका विषयमा र डा. पितृराज बास्तोलाले तालिमको कार्यविधिबारे जानकारी गराएका थिए। तालिममा सहभागी प्राध्यापकहरूलाई विभिन्न समूहमा विभाजन गरी पूर्ण प्रविधिको प्रयोग गरी तालिम दिइएको छ। सहभागीहरूले आफ्नो समूहबाट सिकेका कुराहरूलाई समूहमा प्रस्तुत पनि गरेका थिए। साउन १८ गतेदेखि सुरु भएको यो तालिम ६ दिनपछि साउन २३ सम्म चल्नेछ।