जापान, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा निर्बाचित सुभास लामिछाने नेतृत्वको कार्यसमितिको पदस्थापन समारोह सम्पन्न भएको छ। एनआरएनए जापानको हालै सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई हराउँदै लामिछाने अध्यक्ष पदमा विजयी भएका थिए। सन २००७ मा जापान गएका लामिछाने रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन। यसअघि एनआरएनए जापानको अध्यक्षको जिम्मेवारीमा नवीन निउरे रहेका थिए ।
पदस्थापन समारोहमा बोल्दै नबनिर्बाचित अध्यक्ष लामिछानेले आँफु निर्बाचित भएपछि धेरै जनाले बधाई र सम्मान गर्न चाहेको तर आंफ्नो कार्यकाल अब शुरु हुन लागेकोले अहिले नै सम्मानको लागि हतार नगर्न सबैसंग आग्रह गरे ‘तपाईंहरुले जे जिम्मेवारी सुम्पनुभएको छ, अहिलेका लागि मेरो प्राथमिकता सोहि जिम्मेवारी पुरा गर्नु हो। अध्यक्षको पदभार लिएलगत्तै सम्मान नै गर्नुपर्ने जस्तो केही गरेको छैन, जुन दिन त्यो सम्मानको लायक बन्छु, बधाई खान योग्य बन्छु त्यो दिन भेटेर सम्मान लिने चाहना मेरो रहेको छ।’ लामिछानेले भने।
यसै सन्दर्भमा उनले हामी निर्बाचितहरुको लागि सम्मानको लागि खर्च गर्ने रकम ‘बहुसाँस्कृतिक घर- नेपाल हाउस’ को लागि सहयोग गर्न आग्रह गरेको उनका निकट रहेका जापानका ब्यबसायी शंकर गिरीले गुरुकुल खबरसंग बताए । ‘हामी नेपाल हाउस बनाउने अभियानमा छौं, म वा मेरो टिमका अन्य सहयात्रीहरुलाई सम्मान गर्न तपाई वा तपाईको संस्थाले आयोजना गर्ने कार्यक्रमका लागि जे जति रकम छुट्ट्याउन सक्नुहुन्छ, त्यो रकम नेपाल हाउस निर्माणका लागि भनेर दान स्वरुप दिनुभए त्यसैलाई नै मैले मेरो र एनआरएनए प्रतिको सम्मान सम्झनेछु ।’ लामिछानेले भनेको भनाई उधृत गर्दै गैरआवासीय नेपाली संघ जापानका नेता समेत रहेका गिरीले गुरुकुल खबरलाई जानकारी दिए।
२०२३-०२५ को कार्यसमितिमा उपाध्यक्ष रहेका लामिछाने २०२५-०२७ को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। आइतबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गरेका थिए उनले आफ्ना प्रतिष्पर्धी सिद्धार्थ श्रेष्ठलाई १ हजार ९ सय ५९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ५ हजार १ सय ९३ मत मात्र प्राप्त गरेको पाएका थिए।
अध्यक्षमा निर्बाचित लामिछानेले एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन, संघको पुनसंरचना, स्मार्ट एनआरएनए लगायतका विषयमा जोड दिएका छन। उनले संघको संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतमा जोड दिने बताएका छन। निःशुल्क जापानिज भाषा तालिम, जापानी संघसंस्थाबारे जानकारी गराउने, जापान आउने विद्यार्थीहरूका लागि अभिमुखीकरण तालिम संचालन गर्ने र मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत उनले अघि सारेको छन् ।
गैरआवासीय नेपाली संघ जापानको उक्त अधिबेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल विजयी भएका छन्। उनले ६ हजार ४ सय १८ मत प्राप्त गर्दै प्रतिस्पर्धी कृष्ण गैरे शर्मालाई ४ सय ९१ मतले पछि पारे। शर्माले ५ हजार ९ सय २७ मत पाएका थिए। यसैगरि महासचिवमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी विश्वास गौतम (खगराज गौतम)लाई ४ सय २३ मतले पराजित गर्दै ६ हजार ३ सय ८४ मत प्राप्त गरे। गौतमले ५ हजार ९ सय ६१ मत पाए।
उपाध्यक्षमा मुक्तिराम खनाल (बिनोद), दिलिप कँडेल र दीपक सुनार निर्वाचित भएका छन्। क्षेत्रीय उपाध्यक्ष पदमा विष्णु प्रसाद सुवेदी (विश्व) विजयी भएका छन्। सचिव (खुला तर्फ) पदमा नेत्र पाण्डे र दिल्लि प्रसाद सापकोटा निर्वाचित भएका छन् भने क्षेत्रीय सचिवमा सागर कार्कीले जित हात पारेका छन्।
कोषाध्यक्ष पदमा मुक्तिराज रेग्मी विजयी भएका छन्। क्षेत्रीय सह–कोषाध्यक्षमा सन्दीप जिसी र खुला सह–कोषाध्यक्षमा राम कँडेल निर्वाचित भएका छन्। त्यसैगरी, युवा संयोजक पदमा दीपक बुर्जा मगर विजयी भएका छन्। निर्वाचन समितिका अनुसार कुल मतदातामध्ये उच्च सङ्ख्यामा सहभागिता रहेको यो निर्वाचनमा प्रतिस्पर्धा व्यवस्थित रूपमा सम्पन्न भएको थियो।