पोखरा, पोखरा अन्तराष्ट्रिय विमानस्थल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरुलाई कुनै आकस्मिक रुपमा स्वास्थ्य समस्या आएमा अब विमानस्थल परिसरमा नै प्राथमिक उपचार सेवा सहित आबश्यक औषधि प्रदान गरिने भएको छ। विमानस्थलमा पुग्ने यात्रु एबम सर्बसाधारणको सुविधालाई ध्यानमा राखेर उक्त सुबिधा प्रदान गर्न लागिएको हो ।
यसका लागि नेपाल मणिपाल शिक्षण अस्पातल पोखराले प्राथमिक उपचार सेवा दिनको लागि स्वास्थ्यकर्मी, आबश्यक औषधि र उपकरणको समेत ब्यबस्था गर्ने भएको छ। नेपाल मणिपाल शिक्षण अस्पातल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय बिच विमानस्थल क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धमा भएको सहमतिमा उक्त कुरा उल्लेख छ ।
मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फबाट विमानस्थल संचालन महाशाखा प्रमुख उपनिर्देशक जसोदा सुवेदीले सहमती पत्रमा हस्ताक्षर गरेका छन ।
अस्पतालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यस किसिमको सेवा प्रदान गर्नको लागि विमानस्थल क्षेत्रमा उपचार केन्द्र राख्न लागेको अस्पतालका मार्केटिंग प्रमुख रोशन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए।
यसका साथै अस्पतालले संचालनमा ल्याएको ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’ सम्बन्धि नयाँ प्याकेज अन्तर्गत विमानस्थलमा कार्यरत कर्मचारीलाई विभिन्न स्वास्थ्य परीक्षण सुबिधा प्रदान गर्न पनि नेपाल मणिपाल शिक्षण अस्पताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिच सहमति भएको छ।
मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण योजनाहरु समेत संचालनमा ल्याएको छ ।