काठमाडौँ, विभिन्न स्थानमा कोटीहोम र महायज्ञ संचालन गर्दै आएको मानव सेवा फाउण्डेसनको आयोजनामा बिहिबार अर्थात साउन १ गतेबाट काठमाडौँको पशुपति मन्दिरको सानिध्यमा श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ – २०८२ शुरु हुँदैछ। आगामी भदौ २१ गतेसम संचालन हुने पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ मुलुकमा आएका विभिन्न खाले संकटको साथै मानिसहरुले भोग्नुपरेका दुख कस्ट सहितका संकटबाट मुक्ति दिलाउने लक्ष सहित संकट मोचन बिराट ज्ञान महायज्ञ आयोजना गरिएको हो।
मानव सेवा फाउन्डेसनका संस्थापक अध्यक्ष बिजय कृष्ण मुर्ती महाराजले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार महायज्ञको क्रममा विभिन्न धार्मिक अनुष्ठान, धार्मिक गुरुहरुको आशिर्बचन र प्रवचन सहितका विभिन्न क्रियाकलापहरु समेत हुने भएको छन। पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञकै अबधिमा नेपाली महिलाहरुको महत्वपुर्ण चाड तीज परेको र पशुपतिमा ठुलो संख्यामा महिलाहरु पुग्ने भएकोले महायज्ञलाई तीज महोत्सबको रुपमा समेत संचालन गरिने बताइएको छ।
महायज्ञको शुरुवातमा सागर आचार्य गुरु, शितल कृष्ण महाराज, आदियाेगी गाैतम स्वामी, अमृत शरण देवाचार्य लगायतले कथा वाचन गर्ने र त्यसपछि पण्डित दिनबन्धु पाेख्रेल, राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डेय लगायतले कथा बाचन गर्ने कार्यक्रम रहेको छ महायज्ञमा विभिन्न स्थानबाट साधु सन्त एबम कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ।
मानव सेवा फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिका – १४, बोडेगाउँमा मामाघर अनाथालय आश्रम एबम भक्तपुरको चाँगुनारायण-९ ताथलीमा ज्येष्ठ नागरिक आश्रम संचालनमा ल्याएकोमा तिनलाई थप ब्यबस्थित र सुबिधा सम्पन्न बनाउनको लागि अर्थ संकलन गर्ने लक्ष सहित संकट मोचन बिराट ज्ञान महायज्ञ संचालन गर्न लागिएको बताइएको छ।
मामाघर अनाथालय आश्रममा अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा प्रदान गरिंदै आएको फाउन्डेसनले जनाएको छ। नेपालकै नमुनाको रुपमा मामाघर अनाथालय आश्रम संचालन गर्न ललितपुरको गोदावरी नगरपालिका -३ तान्चिन्टारमा यस अगाडी संचालित विभिन्न महायज्ञमा संकलित दान रकमबाट जग्गा खरिद गरी आश्रमको शिलान्यास समेत भइसकेको छ।
यसैगरी भक्तपुरमा अवस्थित जेष्ठ नागरिक आश्रममा बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र सुरक्षा प्रदान गर्दै आइरहेको छ भने छोरीको घर र ज्येष्ठ नागरिक आश्रमको लागि पनि जग्गा खरिद गरेर आश्रमको शिलान्यास भइसकेको बताइएको छ ।
मानव सेवा फाउन्डेसनले गत बर्ष पशुपति क्षेत्रमा पशुपति कोटीहोमको आयोजना गरेको थियो भने केहि महिना अगाडी पोखरामा गण्डकी कोटीहोम आयोजना गरेको थियो। ति दुवै कोटीहोम महायज्ञमा भक्तजनहरुको उपस्थिति उल्लेखनीय रहेको थियो ।