काठमाडौं, नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन जारी नभए फेरी आन्दोलनमा जाने चेतावनी दिएको छ। गत चैत २० गते देखि २९ दिनसम्म काठमाण्डुमा चलेको आन्दोलनका कारण सरकारले असार १५ भित्र ऐन जारे गर्ने सहमति गरेको थियो। तर, तोकिएको समय सकिंदा समेत अझै सम्मपनि ऐन जारी नसकेपछि शिक्षक महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो।
गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म कुर्ने भएको छ । सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । अब संसद् बैठक पनि २३ असारलाई बोलाइएकोले त्यो दिनसम्म कुर्छौं,’ शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले गुरुकुल खबरसंग भनिन् ।
‘विधेयकमा नटुंगिएको विषय टुंगो लगाउन धेरै समय लाग्दैन । सरकार तयार हुनुपर्यो,’ पराजुलीले भनिन् । २३ असारसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने चेतावनी शिक्षक महासंघले दिएको पराजुलीले बताइन । गत १७ वैशाखमा नै ऐन जारी नभए आन्दोलन गर्ने भनेको हो । यसको विकल्प छैन,’ उनले भनिन् ।
शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेपछि १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भएकाले विधेयक पास नगरी स्थगित गर्न समय मागेका थिए ।
शिक्षामन्त्री रघुजी पन्तले पनि शिक्षक महासंघसँग वार्ता गर्न समय मागेका थिए । अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्नेगरी विधेयक पास गर्ने तयारी थियो । तर महासंघले ७५/२५ प्रतिशत हुनुपर्ने दबाब दिएपछि विधेयक पास हुन नसकेको हो । शिक्षक महासंघ ७५/२५ प्रतिशतबाट ब्याक हुन नसक्ने अडानमा छ।
शिक्षकको कार्य सम्पादन मूल्यांकनको अंक पनि घटाउनु पर्ने माग महासंघको छ । ‘कासमा ९० अंक आउँदैन । यसलाई घटाएर ८० सम्म ल्याउनुपर्छ,’ सहअध्यक्ष पराजुलीले भनिन् । यी विषयमा टुंगो लगाउन धेरै समय नलाग्ने उनको भनाइ छ।