पोखरा, पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको प्रमुखमा शिशुकला पराजुलीलाई नै पुन नियुक्ति गरिएको छ। क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा बसेको समितिको बैठकले पराजुलीलाई आगामी कार्यकालको लागि पनि क्याम्पस प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो पराजुलीले यस अगाडी दुई कार्यकालसम्म क्याम्पस प्रमुख भएर काम गरिसकेकी छन ।
करिब डेढ दशक अगाडी सोहि क्याम्पसबाट प्राध्यापन पेशामा प्रवेश गरेकी पराजुली यस अगाडी क्याम्पस संचालक समितिका तत्कालिन अध्यक्ष बिष्णुप्रसाद बाँस्तोलाको कार्यकालमा पहिलो पटक क्याम्पस प्रमुख नियुक्त भएकी थिईन । पराजुलीले त्रिभुवन विश्वबिद्यालय बाट ब्यबस्थापनमा स्नातकोत्तर गरेकी छन । उनको कार्यकालमा क्याम्पसले भौतिक एबम शैक्षिक रुपमा सुधारका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
२०४४ सालमा स्थापना गरिएको पोखरा बहुमुखी क्याम्पस पोखराको पहिलो सामुदायिक क्याम्पस हो। २०४४ सालमा पोखराको पुरानो टूडिखेल स्थित राष्ट्रिय उच्च माविको भवनमा संचालन शुरु गरिएको पोखरा बहुमुखी क्याम्पस २०५९ सालदेखि पोखराको नयाबजारस्थित महेन्द्र माविको भवनमा स्थानान्तरण गरेर संचालन गरिएको थियो।
लामो आरोह र अबरोह पछि २०७९ मा कलेजको आफ्नै भवन पोखरा -९ शान्तिबन नजिक निर्माण गरिएपछि भने पोखरा बहुमुखी क्याम्पसले आफ्नै भवनबाट सबै किसिमको पढाई संचालन गरिरहेको छ । उक्त क्याम्पसले बिश्वबिधालय अनुदान आयोगबाट हालै क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। गत बैशाख ३१ गते आयोगले पोखरा बहुमुखी क्याम्पसलाई क्युएए दिने निर्णय गरेको हो ।
भौतिक पुर्बाधारको अभावमा शैक्षिक गुणस्तरसमेत वृद्धि हुन नसकेको बिगतको अबस्थामा पछिल्लो समय क्याम्पसले धेरै सुधार समेत गरेको छ। शुरुवातमा आइकम र आइएको कक्षा संचालन गरेको पोखरा बहुमुखी क्याम्पसले हाल बिबिएस र बिएको कक्षा संचालन गर्दै आएको छ। क्याम्पसमा हाल करिब ५ सय जना बिद्यार्थीहरुको साथै २१ जना प्राध्यापक र ६ जना कर्मचारी रहेको क्याम्पस प्रमुख पराजुलीले गुरुकुल खबरलाई जानकारी दिईन।