पोखरा, हङकङको डिस्ट्रिक्ट काउन्सिलरमा नियुक्त पोखरेली चेली अरुणा गुरुङलाई पोखरा उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि बधाई सहित सम्मान गरेको छ गुरुङ पोखरा उद्योग बाणिज्य संघको हङकङ प्रतिनिधिको रुपमा पनि कार्यरत रहेको भन्दै संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष विश्वशंकर पालिखे सहित पदाधिकारी र संघका कार्यसमितिका सदस्यले अरुणालाई बधाई सहित स्वागत गरेका हुन्।
अरुणाले हङकङमा रहेर त्यहाँका उद्योग वाणिज्य संघहरुमा आयोजना हुने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै आएकी छन् । हङकङ सरकारले उनलाई सन् २०२४ मा नै याउचिम मोङ जिल्लाको प्रतिनिधित्व गर्ने गरी परिषद् सदस्य अर्थात डिस्ट्रिक्ट काउन्सिलर नियुक्त गरेको थियो । उनि तिन बर्षे कार्यकालको लागि उक्त पदमा नियुक्त भएकी हुन। नेपाली तथा जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो हुन् ।
उनि नेपाली काँग्रेसका नेता समेत रहेका नेपाल भुतपुर्ब सैनिक संघका पुर्ब केन्द्रीय अध्यक्ष एबम पुर्ब सांसद मेजर दिपक बहादुर गुरुङकी छोरी हुन भने नेपाली काँग्रेसका नेता समेत रहेका नेपाल बिद्यार्थी संघ कास्कीका पुर्ब अध्यक्ष कुलप्रसाद गुरुङकी धर्मपत्नी हुन।
हंगकंगमा हुने विभिन्न कार्यक्रममा पोउवासंघको तर्फबाट अरुणाले प्रतिनिधित्व गर्दै आएको कारण पनि उनि पोखरा आएको अबसरमा उनलाई बधाई सहित सम्मान कार्यक्रम गरिएको संघका उपाध्यक्ष दिनेश बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिए। कार्यक्रममा पोउवासंघका निबर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले पोखरामा विदेशी लगानी भित्र्याउन तथा पर्यटन प्रबर्दनको लागि सहयोग गर्न आग्रह गर्दै पोखरा भ्रमण वर्ष २०२५ को बारेमा हङकङमा प्रचार गर्नका लागि अरुणालाई आग्रह पनि गरे ।
संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मान ग्रहणपछि बोल्दै अरुणाले आफूले हङकङमा रहेका नेपालीसहित अल्पसंख्यकको अधिकारको पक्षमा निरन्तर काम गर्दै आएको र नेपालको प्रचार गर्ने मामिलामा पनि कुनै कसर बाँकी नराखेको बताइन् । केही वर्ष पहिलासम्म हङकङ जाँदा नेपालीले एयरपोर्टमै भिसा पाउने अवस्था रहेको स्मरण गर्दै उनले भनिन्, ‘अहिले भिसा पाउनै समय लाग्ने भएको छ, भिसा प्रक्रिया सरलीकरणका लागि पनि सक्दो प्रयत्न गरेको छु ।’
हङकङमा रहेका धनाढ्य उद्योगपतिहरुले लगानीको नयाँ क्षेत्र खोजिरहेको बताउँदै उनले त्यसका लागि नेपाल सरकारले सम्भावनाको क्षेत्र सहितको जानकारी दिनुपर्ने बताइन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले अरुणाको उपलब्धिले नेपालीको शिर उच्च बनाएको बताउँदै नेपाल प्रबर्दनको निम्ति उनीबाट सरकारले नै सहयोग लिनुपर्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले पनि बोलेका थिए ।
यसैगरी अरुणालाई उनको जन्म घर अर्थात माइती गाउँ कास्कीको तांगतिंगमा पुग्दा स्थानीय सर्बसाधारणले बाजागाजाको साथ सम्मान गरेका थिए भने उनको घर अर्थात श्रीमान् कुलप्रसाद गुरुंगको गाउँ पोखरा -२३, कुदवी डांडा र पोखरा महानगरपालिका वडा नं ५ स्थित फिर्के तमु समाजले पनि कार्यक्रमको आयोजना गरि अरुणालाई बधाई सहित सम्मान प्रकट गरेका थिए ।