Play

गण्डकी प्रदेश सभा र प्रतिनिधि सभामा संसदीय परम्परा बिपरित लेखा समितिको सभापति सत्तापक्षबात

गुरुकुल खबर


काठमाडौँ,  प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक बसेका समयमा नेकपा (माओवादी केन्द्र)का सांसदहरू आक्रामक रूपमा समितिको नेतृत्व विपक्षीलाई दिइनुपर्ने संसदीय परम्पराको विषय उठाउँछन् । गत ११ महिनादेखि यो माग समितिमा मात्र नभएर सदनमै पनि पटकपटक उठिसकेको छ ।

सत्तारुढ दलले भने विपक्षीको यो आवाज र आक्रोश सुनेको देखिँदैन । यसैले होला प्रतिनिधि सभामा देखिएको विकृति प्रदेश सभामा पनि सरेको छ । गण्डकी प्रदेशमा पनि सत्तारुढ नेकपा (एमाले)ले लेखा समिति सभापति छाडेन ।

संसदीय पद्धतिमा सरकारले ढुकुटी चलाउँछ र विपक्षीले निगरानी गर्छन् भन्ने मान्यता हुन्छ । अर्थात्, सरकारको स्वेच्छाचार र तजबिजीमा शैलीमाथि अंकुश लगाएर शक्ति सन्तुलन कायम गर्ने प्रयत्न हुन्छ भन्ने विश्वास छ ।

विडम्बना, गण्डकी प्रदेशमा एमालेले लेखा समितिले छाडेन नै विपक्षी माओवादी केन्द्र पनि अर्को समितिको सभापति लिएर भागबन्डा गर्न राजी भयो । विपक्षी दलले पनि लेखा समितिको सभापति नपाए कुनै समितिको पनि सभापति नलिने भनेन ।

तर, सत्तारुढ दलले लेखा समिति कब्जा जमाउँदा समितिकै ओज र वजन कम भएको छ भने सम्बन्धित दलको पनि तेजोबध भएको आभास हुँदैछ । विपक्षको सभापति हुँदा लेखा समिति सक्रिय हुन्थ्यो ।

कुनै अनियमितता या घोटालाको सन्देह लागेमा समितिले बैठक बसेर प्रश्न उठाउँथ्यो, निर्देशन दिन्थ्यो । अहिले भने सभापति पदकै विवादका कारण हुनुपर्छ लेखा समिति त्यस्ता विषयमा बिरलै प्रवेश गरेको देखिन्छ ।

लेखा समितिमा पनि सत्तारुढ दलकै सभापति भएकाले हुनुपर्छ, ठूला काण्ड वा प्रकरणमा तत्कालै छानबिन वा प्रवेश गर्ने क्रम न्यून भएको स्पष्ट छ । आर्थिक अनियमितता वा भ्रष्टाचारका पाटामा लेखा समितिले तत्कालै छानबिन अघि नबढाएकै कारण ‘विशेष संसदीय छानबिन समिति’को माग सदनमा पटकपटक उठ्ने गरेको हुनुपर्छ ।

सत्तापक्षीयभन्दा विपक्षी दलबाट सभापति हुँदा स्वाभाविकरूपमा आर्थिक अनियमितता र भ्रष्टाचारका विषय सशक्त ढंगले अघि बढ्छन् । संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा विपक्षी दलबाट लेखा समितिमको सभापति बनाउने प्रथा लामो समयदेखि निरन्तर छ । त्यसैले त्यहाँ व्यवस्थामाथि प्रश्न उठ्ने गर्दैन ।

संसदीय व्यवस्थाका असल पक्ष अनुसरण गरी नेपालमा पनि सार्वजनिक लेखा समिति विपक्षीलाई दिने परम्परा २०४८ मै स्थापित भएको थियो । विसं २०४८ मा सुविधाजनक बहुमत प्राप्त नेपाली कांग्रेसले लेखा समिति सभापतिमा एमालेका राधाकृष्ण मैनालीलाई स्वीकारेको थियो ।

विसं २०५१ मा एमालेको अल्पमत सरकार हुँदा विपक्षी दलका सांसद हृदयेश त्रिपाठी सभापति भए । त्रिशंकुकालमा बारबार सरकार परिवर्तन हुँदा पनि सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने परम्परा थियो ।

सुविधाजनक बहुमत हुँदा नेपाली कांग्रेस चाहेको भए लेखा समिति आफैँ लिन सक्थ्यो २०५६ मा पनि । त्यतिबेला कांग्रेसले एमालेका सुवास नेम्वाङलाई सभापतिमा स्वीकारेको थियो ।

संसदीय कालखण्डभर सत्तारुढ दलले त्यसरी जबर्जस्ती लेखा समिति लिन चाहेको देखिएन । तर, २०६२/६३ पछि भने परम्परा भत्किन पुग्यो । विसं २०६६ जेठपछि त त्यो परम्परा तोडियो नै ।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा २०६५ मा कांग्रेसका रामकृष्ण यादव सभापति थिए । माओवादी बाहिरिएसँगै कांग्रेस सत्तारुढ हुन पुग्यो । तर, लेखा समितिका सभापति यादवले सभापति छाडेनन् । छाड्नका लागि माओवादीले दबाब पनि दिएन । कतैबाट प्रश्न नउठेपछि उनी सभापति रहिरहे ।

विसं २०७३ मा कांग्रेस–माओवादीको संयुक्त सरकार बन्दा लेखा समितिका तत्कालिन सभापति जनार्दन शर्मा मन्त्री बन्न गए । लेखा समिति सभापतिबिहीन बन्यो । सभापतिका निम्ति १७ माघ २०७३ चुनावी दृश्य मञ्चन भयो । लेखा समितिको सभापतिमा सत्तारुढ दल नै प्रतिस्पर्धामा उत्रिएपछि विपक्षीले जित्ने सम्भावना थिएन ।

कांग्रेस–माओवादीको संयुक्त सरकार चल्दा पनि सत्तापक्षले चुनावबाटै ‘आफ्नै’लाई सभापति बनाएर संसदीय पद्धतिको असल अभ्यासको धज्जी उडाएकै हुन् । विसं २०७९ को चुनावपछि एमाले विपक्ष रहँदा लेखा समितिको सभापति पाएको थियो । उसले ऋषिकेश पोखरेललाई सभापति बनायो । यस सँगै अब बिथोलिएको पद्धति ‘ट्रयाक’मै हिँड्ने अपेक्षा थियो ।

विडम्बना, २०८१ असारमा खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री भएपछि एमालेले स्वतः छाड्नुपर्ने लेखा समितिको नेतृत्व छाडेन । न नेतृत्वकर्ता एमालेले सभापति छाड्न लगायो न संसदीय अभ्यास र नैतिकतामा आधारमा पोखरेलले नै राजीनामा दिए ।

यसरी स्थापित असल परम्परा मिचेपछि कसरी संसदीय व्यवस्था दर्बिलो हुन्छ ? यस्ता दृश्य निरन्तर रहिरहँदा संसदीय मूल्यमान्यता र आदर्शमाथि प्रहार हुन्छ । उता एमालेले भने संविधान, नियमकानुन कतै नलेखिएको हुँदा सभापति छाड्न बाध्यकारी नभएको तर्क दिँदै आएको छ ।

संसदीय व्यवस्था परम्परा या अभ्यास अनुसरण गर्ने पद्धति हो । संविधान या नियमावली नलेखिए पनि विपक्षी दलका नेतालाई लेखा समितिको नेतृत्व दिने स्थापित मान्यता हो । स्थापित मान्यताको यसरी अवज्ञा हुन थालेपछि लोकतन्त्र कमजोर हुन पुग्छ । त्यसकारण किन्तु परन्तु नगरी विपक्षी दललाई सार्वजनिक लेखा समितिको नेतृत्व दिएर संसदीय व्यवस्थाको असल अभ्यासको अनुसरण गर्नैपर्छ ।- बार्हखरी बाट 

२५ जेष्ठ २०८२, आईतवार १७:०० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा