टोकियो (जापान), नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) जापानको शनिबार सम्पन्न १९ औं महाधिवेशनले श्री गुरुङ अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्बसम्मत रुपमा गठन गरेको छ । सन् १९९९ मा स्थापित नेपाल आदिबासी जनजाति महासंघको अध्यक्षमा निर्बाचित गुरुङ भलिबलका पूर्व राष्ट्रिय खेलाडी एबम पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष समेत हुन। उनि तमुधीं जापानको पूर्व अध्यक्ष समेत रहेका गुरुङ हाल नेपाली व्यवसायी संघ (NBA) जापानको उपाध्यक्षको रुपमा समेत कार्यरत छन।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्धि गौचन र उपाध्यक्षहरुमा थानु राना मगर, पासाङ रिञ्जी शेर्पा, विनोद तामाङ, रणबहादुर लिम्वु (शिशिर निङ्लेकु) र राजनकुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिले जानकारी गराएको छ ।
समितिको महासचिवमा बालबिक्रम तिगेला, सचिवहरुमा टेकन गुरूङ, कमल मगर र प्रमिला गौचन डंगोल, कोषाध्यक्षमा सारा श्रेष्ठ र प्रवक्तामा बिष्णुकुमार आङ्देम्वे लाई चयन गरिएको छ भने सदस्यहरूमा अरमान गुरूङ, याङ्जी शेर्पालाई चयन गरिएको छ भने बाँकी सदस्यहरु नवगठित कार्यसमितिका पहिलो बैठकले मनोनित गर्ने बुझिएको छ ।
महासंघका अध्यक्ष हवलचन्द्र लामाको सभापतित्व र एनआरएन जापानका अध्यक्ष नबिन निउरेको प्रमुख आतिथ्यतामा भएको सो महाधिवेशनको बन्दसत्रले महासचिव प्रमिला राई र कोषाध्यक्ष कान्छा लामाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
संयोजक सुमन लिम्बु, सदस्य-सचिब गेलु शेर्पा र सदस्य बिजय थकाली रहेको निर्वाचन समितिले आगामी दुई बर्षे कार्यकालका लागि कार्यसमिति गठन गर्ने प्रक्रिया सम्पन्न गरेको हो ।
महाधिबेशन पछि आयोजित समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष श्री गुरुङले आदिबासी जनजातिहरुको सदियौंदेखि चलि आएको भाषिक, धार्मिक, सांस्कृतिक गतिविधी लाई संरक्षण, सम्बर्द्दन गर्न महासंघ लाग्ने प्रतिबद्दता समेत ब्यक्त गरे।
महाधिवेशनको समापन समारोहमा बोल्दै निबर्तमान अध्यक्ष हवलचन्द्र लामाले विशेष परिस्थितिवश छोटो समयका लागि आफुले महासंघको नेतृत्व सम्हाल्ने अवसर पाएको र यो अवधिमा महासंघको विरासतलाई अझ उच्च बनाउन प्रयास गरेको बताए।