पोखरा, कास्की जिल्लाबाट विभिन्न मुलुकमा गएर विभिन्न पेशा र ब्यबसायमा संलग्न कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले कास्कीको पोखरा महानगरपालिका -२८ आरुपाटास्थित लेखनाथ आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्कुल ब्याग सहित कपि र कलम प्रदान गरेको छ । बुधबार स्कुल परिसरमा आयोजित एक कार्यक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका पुर्ब संरक्षक चित्र सुबेदी र संरक्षक विश्वराज बाँस्तोला लगायत संस्थाका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
२०३८ सालमा लेखनाथ प्राथमिक बिद्यालयको नाममा स्थापना भएको र हाल लेखनाथ आधारभूत बिद्यालयको रुपमा संचालित उक्त बिद्यालयमा हाल ४० जना बिद्यार्थी मात्र अध्ययनरत छन । उक्त बिद्यालयमा सातजना शिक्षक कर्मचारी रहेकोमा चारजना शिक्षकहरु र बाल कक्षा शिक्षक र सहयोगी कर्मचारीको लागि मात्र नेपाल सरकारले दरबन्दी दिएको छ । त्यसबाहेक एक जना निजि स्रोतबाट राखिएकी शिक्षक रहेकी छन ।
उक्त बिद्यालयमा सरकारले कायम गरेको दरबन्दी अनुसारका चार शिक्षकले नर्सरी देखि कक्षा पांच सम्मका छ वटा कक्षाका बिद्यार्थीलाई पढाउन नसक्ने भएपछि स्थानीय सर्बसाधारण र अभिभावकको प्रयासमा निजि श्रोतबाट तलब उपलब्ध गराउने गरि एकजना शिक्षक नियुक्ति गरेर पठन पाठन सुचारु गरिएको छ । यसका साथै बाल कक्षा शिक्षकको रुपमा एक जना शिक्षक रहेको स्कुलका प्रधानाध्यापक टेकबहादुर भुजेलले गुरुकुल खबरलाई जानकारी दिए ।
बिद्यार्थी संख्या घट्दै जाँदा सरकारले शिक्षकको दरबन्दी कटौती गर्दै जाने र त्यसपछि बिद्यालयहरु मर्ज गर्ने प्राबधान अनुरुप पोखरा -२८ मा रहेका ९ वटा बिद्यालयहरु मर्ज गरेपछि हाल ३ वटा बिद्यालयमात्र संचालनमा रहेका छन । त्यसमा पनि अन्य बिद्यालयको तुलनामा लेखनाथ आधारभूत बिद्यालयमा अलि बढी बिद्यार्थीहरु रहेको बताइन्छ । पोखरा महानगर पालिका अन्तर्गत पर्ने भएपनि वडा न. २८ को उक्त क्षेत्रलाई बिकट क्षेत्रको रुपमा मानिन्छ ।
कवी शिरोमणी लेखनाथ पौडेलको नामबाट स्थापना गरिएको उक्त बिद्यालय नजिकबाट कालो पत्रे पक्कि सडक पोखराको मुख्य केन्द्रसंग पनि जोडिन्छ । सोहि सडक हुँदै त्यस क्षेत्रका कतिपय बालबालिका गाडी चढेर निजि स्कुलमा अध्ययन गर्न जाने गर्छन । तर बिपन्न र असहाय स्थानीय परिवारका बालबालिकाहरु भने त्यस क्षेत्रबाट अन्यत्र पढ़न जान सक्ने अबस्थामा नरहेको सोहि विद्यालयकी शिक्षिका बिन्दु अधिकारी बरालले जानकारी दिईन ।
अर्की शिक्षिका सुनिता बरालका अनुसार निजि श्रोतबाट राखिएको शिक्षकको लागि न्युनतम तलब जुटाउन समेत समस्या हुने गरेको छ । विद्यालयको आर्थिक अबस्था बलियो नभएको कारण तिहारको बेला शिक्षक, बिद्यार्थी र अभिभावक मिलेर भैलो खेल्ने र ५/६ महिनाको लागि तलबको जोहो गर्ने क्रम चलिरहेको छ । बाँकी महिनाको तलब पनि विभिन्न माध्यमबाट कठिनाईको साथ् जुटाउनु पर्ने अबस्था रहेको विद्यालय ब्यबस्थापन समियिका अध्यक्ष एकनाथ अधिकारीले जानकारी दिए ।
आर्थीक रुपमा सम्पन्न अभिभावकहरु गाउँमा नबस्ने प्रवृतिको कारण पनि गाउँमा बिपन्न परिवारको मात्र बसोबास हुनु र तिनका छोराछोरी मात्र पढ्ने बिद्यालयको रुपमा रहनुपर्ने बाध्यताको कारण पनि बिद्यालयको आर्थिक अबस्था बलियो हुन नसकेको कुरालाई दृष्टिगत गरि कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले सोहि बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री अर्थात झोला, कपि र कलम हस्तान्तरण गरेको हो ।
परिषदका उपाध्यक्ष समेत रहेका सोहि विद्यालयका पुर्ब बिद्यार्थी सन्तोष तिमिल्सिनाले बिद्यालयलाई अन्यत्र मर्ज एबम स्थानान्तरण हुन नदिन, स्थानीय सर्बसाधारण र बिपन्न परिवारका बालबालिकालाई गाउँमै शिक्षा दिनको लागि बिद्यालयलाई आर्थीक रुपमा बलियो बनाउन विभिन्न ब्यक्ति र संस्थाहरुसंग समन्वय भैरहेको जानकारी दिए । कास्की आदर्श समाजले शैक्षिक सामग्री बिद्यार्थीहरुलाई दिने कार्यक्रम पनि बिद्यालय र बिद्यार्थीको हितलाई ध्यानमा राखेर गरिएको उनले बताए ।
शैक्षिक् सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कास्की आदर्श समाजका पुर्ब संरक्षक एबम गैर आवाशीय नेपाली संघ बेल्जीयमका पुर्ब अध्यक्ष चित्र सुबेदीले आफ्नो गाउँ ठाउ र जन्मभुमिको माया सबैलाई हुने भएकोले विभिन्न मुलुकमा रहेका कस्केलिहरुले कास्की जिल्लामा विभिन्न सहयोग गर्दै आएको बताए । उनले असहाय र बिपन्न बिद्यार्थीहरुलाई सहज रुपमा पठनपाठन गर्ने अबस्था सिर्जना गर्न आँफु सहित परिषद्का साथीहरुको सहयोग आबश्यक रहेको कुरामा जोड दिए ।
कास्की आदर्श समाजका संरक्षक एबम अमेरिका निवाशी विश्वराज बाँस्तोलाले नेपालका बिद्यालयहरुमा बिद्यार्थी संख्या घट्दै गएको भन्दै बिद्यालयलाई टिकाईराख्नको लागि सबैको सहयोग आबश्यक रहने कुरामा जोड दिए । उनले आफु समेत शिक्षक रहेर काम गरेको स्मरण गर्दै सरकार जिम्मेवार नहुँदा मुलुकका बिद्यालयहरु गम्भीर संकटमा परेको र शैक्षिक अबस्था समेत बिग्रिन थालेको बताए ।
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका प्रेस सल्लाहकार गंगाधर पराजुलीले ग्रामिण भेक अनि बिपन्न अभिभावकहरु बस्ने क्षेत्रका बिद्यालयहरु अत्यन्त संकटपूर्ण अबस्थामा संचालन भैरहेको बताउंदै पोखरा -२८ का सहित त्यस क्षेत्रका जनप्रतिनिधिहरु मार्फत लबिंग गर्न सके बिद्यालयको भौतिक पुर्बाधार बिकासमा बल पुग्ने र अन्य व्यक्ति र संस्थाहरुको सहयोगमा अक्षयकोषको स्थापना गरि बिद्यालयको संचालन खर्च जुटाउनु उपयुक्त हुने धारणा राखे ।
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका प्रबक्ता रमेश खत्रीले समाजले विभिन्न बिद्यालय, बिद्यार्थी र अन्य क्षेत्रको लागि पनि रचानात्मक सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए ।
कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री हस्तान्तरण समारोहमा सामाजका नेपाल च्याप्टरका अध्यक्ष विश्वबन्धु थापा, बिद्यालयका प्रअ टेक बहादुर भुजेल, आरुपाटा टोल विकास संस्थाका अध्यक्ष बेदनाथ अधिकारी, समन्वय परिषद्का संरक्षकहरु तिलकसाली सापकोटा र प्रकासलाल श्रेष्ठ, अन्तराष्ट्रिय समन्वय परिषदका महिला संयोजक कान्ति अधिकारी तिमिल्सिना, सचिब पुजा शाह, कास्की आदर्श समाज कतारका अध्यक्ष अगन्धर्र देबकोटा, पुर्ब अध्यक्ष आशबहादुर गुरुङ, समाजका सांस्कृतिक संयोजक चोलेन्द्र पौडेल र सदस्य तुलसा जिसी लगायतले बिद्यालयको शैक्षिक् एबम भौतिक बिकासको लागि विभिन्न सुझाब सहित आआफो धारणा राखेका थिए।