Play

भुतपुर्ब भुतपुर्ब खेलाडी मंचले रजत बर्ष महोत्सब मनाउंदै, हरेक महिना छुट्टाछुट्टै कार्यक्रम गरिने

गुरुकुल खबर


पोखरा, विभिन्न किसिमका खेलकुदमा सक्रिय रहेका पोखराका अग्रज खेलाडीहरुद्वारा स्थापना गरिएको संस्था नेपाल भुतपुर्ब भुतपुर्ब खेलाडी मंचले आफ्नो २५ औं स्थापना दिवस तथा रजत महोत्सब विभिन्न कार्यक्रमको साथ मनाउने भएको छ। २०५८ मा स्थापना गरिएको भूपू खेलाडी मंचले रजत बर्ष २०८२ का १२ अहिनामा विभिन्न १२ वटा कार्यक्रम आयोजना गर्ने भएको पोखरामा आयोजित एक कार्यक्रममा जानकारी दिईएको छ।

बिशेष गरि मंचलाई पछिल्लो समय पोखरा म्याराथनको आयोजक संस्थाको रुपमा राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरमा चिन्न थालिएको छ ।नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो स्थापनाको वर्षमा नै ‘पोखरा म्याराथन’ सुरूवात गरेको हो । जुन म्याराथन नेपाल कै जेठो र दक्षिण एसियाको दोस्रो म्याराथनको रुपमा दर्ज हुन सफल रहेको छ । पोखरा रंगशालाको पर्खाल निर्माण गर्न र सोको लागी पोखरेली नागरिक समाजलाई एक जुट बनाउने अभियानमा समेत मञ्चको महत्वपूर्ण भूमिका रहेको थियो ।

मञ्चले आफ्नो स्थापनाको दिन वैशाख ८ गते पोखरामा एक कार्यक्रमको आयोजना गरी रजत वर्षभरी मनाउने विभिन्न कार्यक्रमहरु मिति सहित घोषणा गरेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन बाहेक केही महिना यता पोखरा महानगर पालिकाको “स्वच्छ पोखरा, स्वस्थ पोखरेली”को नारालाई आत्मसाथ गर्न सुरूवात गरिएको मासिक/साप्ताहिक दौडलाई वर्षभर नै अघि बढाउने तथा सो दौडका लागि महानगरसंग सहकार्य गरिने भएको छ ।

भूपू खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले दिएको जानकारी अनुसार विभिन्न खेलकुद र रचनात्मक क्रियाकलाप गरी रजत वर्ष मनाउने क्रममा मासिक/साप्ताहिक दौडलाई निरन्तरता दिनुको साथै दृष्टिविहीन छात्रछात्रा दौड, आमा समूह दौड, पुनर्मिलन कार्यक्रम, अन्तर मावि वक्तृत्वकला, चित्रकला प्रतियोगिता, सञ्चारकर्मी दौड, जनप्रतिनिधि दौड, कर्पोरेट दौड, सवारी चालक दौड, ६० वर्षमाथि सुपर भेट्रान्स दौड प्रतियोगिता र‘ठेलो खेल प्रतियोगिता गरिने भएको छ ।

रजत बर्षको अबसरमा गण्डकी प्रदेशको परम्परागत तथा मौलिक खेलको रुपमा रहेको ‘ठेलो खेल प्रतियोगिता गरिने भएको छ यसका साथै ‘स्वच्छ पोखरा, स्वस्थ्य पोखरेली’ भन्ने नाराका साथ साप्ताहिक र मासिक दौडलाई समेत नियमितता दिईने भएको छ।

मंचका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले ‘पोखरा महानगरको आर्थिक वर्ष २०८१/०८२ नीति र कार्यक्रममा समावेश भएका कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका दौडको आयोजना गरिएको भन्दै‘दौड संस्कृतिको विकास गर्न सके पोखरा म्याराथन र समाज रुपान्तरणलाई सहयोग पुग्ने बिश्वास ब्यक्त गरे। गुरूङले कठिन समयमा नेपाली खेलाडीहरुलाई एक जुट बनाउने अभियानले नै आजको यो बाटो तय भएको जनाउँदै अब मञ्चका गतिविधिले निरन्तरता पाउने उल्लेख गरे ।

गुरुङले पोखरामा १० देखि १९ वर्षका ८१ हजार बालबालिकामध्ये १ वर्षमा १५ देखि २०हजार युवालाई सहभागी बनाउने योजना सुनाए । उनले गत पुस २७ गतेदेखि सुरु भएको दौडको पोखरा २० भलाममा पुगेर चौथो संस्करणको कार्यक्रम पुरा भएको बताए ।

रजत वर्षको सन्दर्भमा नेपाली खेलकुदमा विशेष योगदान पुर्‍याएका खेलकर्मीलाई नगद १ लाखसहित मेडल तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम छ ।

रजत महोत्सबलाई विभिन्न कार्यक्रमका साथ् मनाउन मंचका अध्यक्ष दीलबहादुर गुरूङको संयोजकत्वमा ३ सय ५१ सदस्यीय रजत वर्ष मुल आयोजक समिति गठन गरिएको छ भने रजत वर्षको स्मारिका प्रकाशन गर्नका लागि द्वितीय उपाध्यक्ष कृष्ण तिमिल्सिनाको संयोजकत्वमा प्रकाशन समिति गठन गरिएको छ ।

खेलकुद सम्बन्धि सम्मान र पुरस्कार वितरण एबम स्मारिका विमोचन गरी रजत वर्ष महोत्सवको समापन गर्ने पूर्व अध्यक्ष गुरुङले जनाए।मञ्चले आगामी २ फागुन २०८२मा आयोजना गर्ने २० औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता प्रक्रिया सुरू गरेको छ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भूतपूर्व खेलाडीको खेतप्रतिको समर्पण उदाहरणीय भएको बताए । पोखरा म्याराथन पोखरालाई चिनाउने आइकन बनेको महानगरले संरक्षकत्व ग्रहण गरेको जानकारी दिदै उनले खेलकुद पार्टी भन्दा माथिको राष्ट्रिय एकताको विषय भएको टिप्पणी गरे ।  उनले पोखराको खेलकुद क्षेत्रमा मंचले गरेको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि नेपाल भूतपूर्व खेलाडी मञ्च संगको सहकार्यलाई अझै दिगो बनाएर अघि बढ्ने बताए ।

उनले आसन्न पोखरा म्याराथनको लागि मितेरी सम्बन्ध कायम भएका १६ सहरलाई निमन्त्रणा गरिने बताए । पोखरा अन्तर्राष्ट्रिय म्याराथन, प्रतिभावान खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि मञ्चले खडा गरेको अक्षयकोषका लागि पूर्व मेजर लक्ष्मीप्रसाद गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरे ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष एवं पोखरा अन्तर्राष्ट्रिय म्याराथनका सहयोगी गणेश बहादुर श्रेष्ठले भूतपूर्व खेलाडी मञ्च संग सहकार्य गर्न पाउनु आफ्नो संस्थाको लागि समेत उत्तिकै गौरवको विषय रहेको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष खड्ग बहादुर रानभाट, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं मञ्चका सल्लाहकार गोकर्ण कार्की, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवि आस्था, मञ्चका प्रथम उपाध्यक्ष खेम बहादुर गुरूङ, कोषाध्यक्ष हरि बरुवाल लगायतले मञ्चको रजत वर्ष महोत्सव र भूपू खेलाडी मंचका विभिन्न गतिविधिको बारेमा चर्चा गरेका थिए ।

१० बैशाख २०८२, बुधबार ०७:१३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा