Play

कोटीहोम महायज्ञ: बिस करोड बढी खर्च हुने, आइतबार हुने संकल्प सभामा मूल आयोजक समिति घोषणा गरिने

प्रशिद्ध धर्मगुरुहरुको आगमनले पोखरामा पर्यटकको संख्या उल्लेखनीय रुपमा बढ्ने आयोजकको भनाई


गुरुकुल खबर


पोखरा, पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको तयारीले तिब्रता पाइरहेको बेला महायज्ञ सम्पन्न गर्नको लागि मूल समिति घोषणा गर्ने तयारीमा महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्ती सहितका आयोजकहरुले तयारी शुरु गरेका छन। बिहिबार बिहान पोखरा -१७ बिरौटा स्थित महायज्ञको सम्पर्क कार्यालयमा आयोजित बिशेष भेलामा दिईएको जानकारी अनुसार चैत्र २४ गते आइतबार रामनवमीको दिनमा संकल्प सभाको आयोजना गरेर महायज्ञको लागि मूल आयोजक समिति घोषणा गरिने छ ।

मानव सेवा फाउन्डेसन नेपाल समेतका संस्थाहरुले बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने उक्त महायज्ञको प्रचार प्रसार लगायतका अन्य काम भने चैत्र १७ गतेबाट नै शुरु गरिएको छ। आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन।

आइतबार हुने संकल्प सभामा १ हजार भन्दा बढीको सहभागितामा महायज्ञ मूल आयोजक समितिका संयोजक सहित निर्देशक, सहसंयोजक, विभिन्न उपसमितिहरु सहित मूल समितिका सदस्यहरु घोषणा गरि संल्कल्प पत्र बाचन गरिने महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीले जानकारी दिए। उनका अनुसार सोहि दिन मुला आयोजक समितिको बैठक बस्ने र महायज्ञको कार्यक्रमलाई अन्तिम रुप दिईने छ जसअनुसार चैत्र २५ गते भारतबाट शास्त्रीय नृत्य गर्ने टोलि पोखरा आउने र ३/४ दिन सम्म उक्त टोली सहित अन्यले आआफ्नो नृत्य प्रस्तुत गर्नेछन।

वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी युद्दस्तरमा भैरहेको र सबै तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनले जनाएको छ । कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशिर्वचन हुने कार्यक्रम छ ।

चैत्र २८ गते नेपालकी कान्छी भागवत वाचिका अनुराधा पाण्डे पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । ९ बर्षको उमेरमा काठमाडौँमा सम्पन्न पशुपति कोटीहोममा भागवत कथा बाचन गरेर चर्चामा आएकी अनुराधाले त्यसपछि देवघाटको मुक्तिनाथ आश्रम र धनगढीमा ठुलो संख्याका भक्तजनसामु भागवतकथा बाचन गरिसकेकी छन। अहिले १० बर्ष उमेर पुगेकी अनुराधाले पोखराको कोटीहोम महायज्ञमा चैत्र ३० गतेबाट बैशाख ५ गतेसम्म भागवत कथा बचन गर्ने कार्यक्रम तय गरिएको छ  यसैगरी चैत्र ५ गते प्रसिद्ध कथा वाचिका देबी प्रतिभा पोखरा आउने र उनले बैशाख १८ गतेसम्म कथा बाचन गर्ने भएकी छन।

महायज्ञमा सहभागी हुन भारतका प्रख्यात र शक्तिशाली धर्म गुरुहरु मध्येका आचार्य महामण्डलेश्वर बैशाख १७ गते पोखरा आएर यज्ञको पुर्बांग गर्ने तयारी भैरहेको समेत महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले भेलामा जानकारी गराए। यसैगरि भारतका शक्तिशाली मानिने बाघेश्वर बाबालाई समेत पोखराको कोटीहोम महायज्ञमा सहभागी गराउने बारेमा आबश्यक पहल र प्रक्रिया भैरहेको उनले सुनाए।

उल्लिखित र अन्य धेरै धार्मिक व्यक्तित्वहरुलाई पोखराको कोटीहोममा सहभागी गराउन आफ्नो तर्फबाट प्रयास भैरहेको बताउंदै उनले पोखरा महायज्ञमा भारतका प्रख्यात धर्मगुरुहरु सहित नेपालका लोकप्रिय धार्मिक व्यक्तित्वहरुको आगमनले पोखरामा आउने पर्यटकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुने निश्चित रहेको जानकारी दिए। “हामीले चाहेका सबैजसो धर्मगुरुहरु पोखराको कोटीहोममा सहभागी बन्ने बाताबरण तयार भयो भने पोखरामा लाखौँ पर्यटकहरु भित्रिने निश्चित छ। तर, भारतका बाघेश्वर बाबा जस्ता प्रभावशाली धर्मगुरुहरुलाई पोखरा ल्याउन करोडौं रुपैया खर्च हुने भएकोले त्यसका लागि आबश्यक तयारी र गृहकार्य भैरहेको छ” संकल्पकर्ता बिजय कृष्णमुर्तीको भनाई थियो।

महायज्ञको लागि तयारी गर्दा एबम आबश्यक पर्ने विभिन्न सामानको खरिदमा करिब ११ करोड रुपैया खर्च भैसकेको र त्यसमध्ये ५० लाख बढीको खाद्यान्न खरिद भैसकेको आयोजकको भनाई रहेको छ । अहिले पनि महायज्ञको तयारी एबम आमसर्बसाधारण समक्ष निमन्त्रणा पत्र पठाउन जस्ता कामको लागि २० वटा गाडी चलिरहेको,  संचार माध्यम सहित अन्य विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने काम भैरहेको आयोजकको भनाई छ महायज्ञ सम्पन्न गर्न २५ देखि ३० करोड खर्च हुने अनुमान गरिएको छ।

महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीका अनुसार पोखराको महायज्ञलाई बिबादमा तानिएको भन्दै चिन्ता समेत प्रकट गरे। “तर पोखरा महानगरका मेयरले महायज्ञको बारेमा दिएको अभिव्यक्ति, भुमिपुजनको समयमा भएको घटना, मैले पत्रकारहरुसामु दिएको अभिव्यक्ति, बर पिपलका रुख महायज्ञ आयोजकले काटेको भनेर लगाइएको आरोप जस्ता बिषयले महायज्ञको प्रचार प्रसार ज्यादा भएको छ, यत्तिको प्रचार लाखौँ, करोडौं खर्च गरेर पनि पाउनसक्ने अबस्था थिएन ।” उनले सुनाए ।

धार्मिक शास्त्रमा महायज्ञ सहित धार्मिक गतिविधिको र धर्म गुरुहरुको नाम लिने व्यक्तिले जस्तो क्रियाकलाप गरेको भएपनि पुण्य मिल्ने भनिएको उल्लेख गर्दै संकल्पकर्ता बिजय कृष्णमुर्तीले महायज्ञको बारेमा चिन्ता र चासो राख्नेहरुले मात्र नभएर महायज्ञप्रति नकारात्मक प्रचार गर्नेहरुलाई समेत पुण्य मिल्ने दाबी गरे।

उक्त भेलामा विश्व हिन्दु महासंघका शंकर खराल, पुम्दिकोट शिब मन्दिरका अध्यक्ष चन्द्रकान्त बराल, विश्व हिन्दु महासंघका जगन्नाथ कोइराला, गंगाधर पराजुली, नगेन्द्र शर्मा भण्डारी,  अर्जुन खनाल, दिपक भण्डारी, कृष्ण प्रसाद जैसी, तारा श्रेष्ठ, दुर्गा केसी, पार्बता पौडेल लगायत विभिन्न व्यक्तित्वहरुले महायज्ञलाई सफल र प्रभावकारी बनाउनुपर्ने भन्दै विभिन्न सुझाबहरु दिएका थिए ।

महायज्ञको प्रचारात्मक कार्यक्रम बैशाख १० गतेसम्म गरिने र बैशाख ११ गते साइकल र्याली,  १२ गते ट्याक्सी र्याली, १३ गते मोटरसाइकल र्याली, १४ गते सुनगा र्याली र बैशाख १५ गते बृहत पैदल यात्रा गरिने भएको छ भने बैशाख १६ गते कलश यात्रा गरेपछि जगदगुरु, साधु, सन्त, महन्त एबम प्रसिद्ध कथा बाचक वाचिकाबाट शास्त्रीय कथा बाचन एबम दिनहुँ हवन सहितका धार्मिक कार्यहरु गरिने महायज्ञका आयोजकहरुले जानकारी दिए ।

कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथावाचन हुनुको साथै विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

महायज्ञको अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

सम्बन्धित समाचार ..

२१ चैत्र २०८१, बिहीबार २२:५५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा