Play

माध्यमिक शिक्षा परीक्षा एसईई सुरु, पांच लाख बढी बिद्यार्थी परीक्षामा सहभागी

गुरुकुल खबर


काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ  बिहान ८ बजेदेखि एसइई शुरु भएको हो।

परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीहरु अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षामा सहभागी भए ।

यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । यस्तै, यस वर्ष परीक्षार्थी सङ्ख्या पोहोर भन्दा  ४९ हजार २८६ जना बढी हो ।

१५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको बोर्डले जानकारी दिएको छ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।  लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

७ चैत्र २०८१, बिहीबार १३:४६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा