पोखरा, कास्की पोखरा हस्तकला संघ र नेपाल हस्तकला महासंघको आयोजना पोखरामा आयोजित रेशाजन्य सिपमुलक एडभान्स तालीम र मुर्तिकला कार्यशाला तालिम मंगलबार सम्पन्न भएको छ। रेशाजन्य पदार्थबाट विभिन्न सामान उत्पादन गर्ने सम्बन्धि तालिम १५ दिन सम्म चलेको थियो भने मुर्तिकला सम्बन्धि तालिम ३ दिनसम्म चलेको थियो।
२२ जना सहभागी रहेको १५ दिने तालिमको प्रशिक्षक हिमकुमारी पुन थिईन भने १९ जना सहभागी ३ दिने मूर्तिकला तालिममा मिम राना प्रशिक्षकको रुपमा रहेका थिए। तालिममा मकैको घोगाको भुत्ला प्रयोग गरेर विभिन्न किसिमका ब्याज र फुलको बुके लगायतका सामग्री र मुर्तिकला तर्फ डाँफे चरा बनाउन सिकाइएको थियो ।
मंगलबार आयोजित एक समारोहमा दुवै तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। सोहि कार्यक्रममा बोल्दै नेपाल हस्तकला महासंघका केन्द्रीय अध्यक्ष रबिन शाक्यले तालिमका सहभागी एबम अन्यले ब्यबसायिक रुपमा उत्पादन गरेका सामग्रीको प्रबर्द्दनको लागि सबैको सहयोग आबश्यक रहेको बताए।उनले नेपालमा हस्तकला उद्योगको संख्या बढ्दै गएको भएपनि राज्यको उपयुक्त नीतिको अभावका कारण उद्योगीहरु समस्यामा पर्दै गएको बताउंदै उनले हस्तकलाका सामानको राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरणको लागि पनि सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
हस्तकला महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेकी हस्तकला महासंघ जिल्ला परिषदकी अध्यक्ष मल्लिका श्रेष्ठले हस्तकला उद्योगले उत्पादन गरेका विभिन्न बस्तुहरुको ब्यबसायिक प्रबर्द्दन गर्नुपर्नेमा उपहारको रुपमा मात्र प्रयोग गरेको कारण ब्यबसायिक सफलता प्राप्त हुन नसकेको बताउंदै उत्पादन संगै बजारीकरण, प्याकिंग र ढुवानी जस्ताकुरामा समेत ध्यान दिन आग्रह गरिन । उनले आफ्नो नामले भन्दा पनि आफुले गरेको कामले समाजमा चिनिन सके ब्यबसायिक सफलता पनि प्राप्त हुनेमा जोड दिईन।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एबम गुरुकुल खबरका अध्यक्ष गंगाधर पराजुलीले उत्पादित सामानको बजारीकरण गर्न सके तालिममा सहभागी महिला एबम पुरुष आत्मनिर्भर बन्न सक्ने बताउंदै मुलुकमा बेरोजगारको संख्या धेरै भएपनि दक्ष जनशक्तिको भने अभाव रहेको स्पष्ट पारे। तालिममा सिकेको कुरालाई ब्यबहारिक रुपमा उपयोगमा ल्याएर उत्पादन बढाउन र उत्पादित सामानको बजारीकरणमा ध्यान दिन ब्यबसायिक संघ संस्थाले सरकारसंग लबिंग गर्न उनले आग्रह गरे ।
लेखनाथ उद्योग बाणिज्य संघका महासचिब जानुका पराजुली अधिकारीले यस किसिमका तालिमले महिलाहरुलाई सक्षम् आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउंदै हस्तकलाका सामानको राम्रो बजारीकरण गर्न सके पोखरा आउने विभिन्न मुलुकका पर्यटकहरुबाट पनि ठुलो कारोबार हुन सक्ने बताईन। उनले उद्योग बाणिज्य संघ र सरकारका निकायले नेपाली हस्तकलाका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पठाउन पहल गर्नुपर्नेमा समेत जोड दिईन।
पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष बलराम आचार्यले पोखरा महानगरले पोखरा उद्योग बाणिज्य संघको संरक्षकत्वमा कोशेली घर संचालन गर्न दिने गरि निर्माण प्रक्रिया अगाडी बढाउन लागेको बताउंदै हस्तकलाका उत्पादनको बजारीकरणको लागि सबै पक्षको सहयोग र सहकार्य आबश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा कास्की पोखरा हस्तकला संघकी अध्यक्ष सिता गुरुङले कस्मेटिक ब्यबसायी, निर्माण सामग्री ब्यबसायी, फर्निचर ब्यबसायी एबम बिभिन्न सरकारी एबम गैर सरकारी संघ संस्थासंगको सहकार्यबाट हस्तकलाका सामग्रीहरुको बजार प्रबर्द्दन हुन सक्ने बताउंदै हस्तकला उद्योगको प्रबर्द्दन हुन सके हस्तकला व्यवसायी पनि स्थापित हुन सक्ने बताईन।
नेपाल घरेलु तथा साना उद्योग महासंघका गण्डकी प्रदेश महासचिब बसन्त केसी, महिला उद्यमी संघ कास्कीका अध्यक्ष सरु बराल, कस्मेटिक ब्यबसायी संघ पोखराका अध्यक्ष लक्ष्मण प्रसाद आचार्य,स्वस्तिक हस्ताकलाका संचालक चिजकाजी गुरुङ, कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष गोमा ढकाल, संघकी सचिब पम्फा थापा, तालिमका प्रशिक्षक हिमकुमारी पुन र मिम राना लगायतका बक्ताले तालिम उपलब्धिमुलक भएपनि तालिमको समयाबधि छोटो भएको बताएका थिए ।