पोखरा, नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले राज्य संचालन गर्ने क्रममा संविधान कार्यान्वयनमा देखिएको अप्ठेरो अबस्थालाई अन्त्य गर्न संविधानमा समयानुकुल र आबश्यकता अनुसार संशोधन गर्नुपर्ने कुरामा जोड दिएका छन ।
नेपाली काग्रेस पेशागत तथा वुद्धिजीवी विभाग र डेमोक्रेटिक लयर्स एसोसिएसनले शनिवार पोखरामा आयोजना गरेको ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले संविधान जारी भएको नौ वर्ष वितिसकेको र समय अनुकुल संविधान संशोधन गर्दै जानुपर्ने बताए ।
संघीयता विकेन्न्द्रिकृत शासन व्यवस्था हो, संघीयता लागु भएको नौ वर्ष वितिसक्दा पनि केन्द्रिकृत शासन व्यवस्था हटन नसकेको भन्दै उनले संबिधान अनुसार बनेका सबै तहका सरकारले संबिधान अनुसारनै अधिकारको उपभोग गर्नुपर्नेमा जोड दिए ।
धर्म निरपेक्षताका कारण पनि देशमा केहि असन्तुष्टि बढेको कांग्रेस नेता कोइरालाले बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका कानून लामो समयसम्म बन्न नसक्दा आमजनताले संघीयता माथि नै प्रश्न उठाउन थालेको बताउंदै गाउँगाउँमा ठुला ठुला सिंहदरबारको संरचना बनेपनि अधिकार नपाएको भन्दै गुनासो गरे।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली काग्रेसले आफ्नो बिधानमा धर्म निरपेक्षको ठाउमा धार्मिक स्वतन्त्रता राख्न, लोकतन्त्रको ठाउँमा प्रजातन्त्र राख्नुपर्नेमा जोड दिए उनले संविधानमा पनि आबश्यकता अनुरुप संसोधन अत्यावश्यक भएको बताए ।
कार्यक्रमको सभापतिको रुपमा नेपाली काग्रेस पेशागत तथा वुद्धिजीवी विभागका प्रमुख तथा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संबिधानमा ब्यबस्था गरिएका कतिपय बिषयका कारण आमनागरिकहरुमा असन्तुष्टि बढ्दै गएको र विभिन्न तहका सरकारले समेत प्रभावकारी काम गर्न नसकेको कारण संबिधान संसोधन आबश्यक रहेको बताईन।
कार्यक्रममा संविधानविद समेत रहेका बरिष्ठ अधिबक्ता राधेश्याम अधिकारी र डिएलए कास्कीका पुर्ब अध्यक्ष कपीलमणि दाहालले संबिधानमा संसोधन गर्नुपर्ने केहि बुँदाहरुको बारेमा जानकारी गराएका थिए भने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, डिएलए नेपालका अध्यक्ष बरिष्ठ अधिबक्ता सिताराम केसी, कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना,पुनराबेदन बार एसोसिएसन पोखराका सदस्य बिनिता नेपाली लगायतले संविधान संशोसनका बारेमा विभिन्न सुझाब दिएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार प्रसार सहसंयोजक शिरोमणि बरालले जानकारी दिए ।