पोखरा, एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोली बिचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोली बिचको खेलको तेस्रो सेटको खेलमा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।
पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पारेको भएपनि तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल गरेको थियो ।
त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे । मौसम बिग्रेर अँध्यारो जस्तो भएपछि खेल स्थगित गरिएको हो । अब उक्त आइतबार गर्ने रेफ्रि थापाले बताए । ‘पर्सिदेखि लिग सुरु हुन्छ । भ्याएसम्म भोलि नै गर्ने हो । सुरुमा गर्ने कि कतिबेला गर्ने छलफल भइराखेको छ,’ उनले भने
यस अगाडी महिलातर्फको दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । ंपाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले पुलिसलाई १५–१० ले पराजित गरेको हो ।
पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको थियो ।
यसैबीच टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबार चार खेल अर्थात महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेछन्। महिलातर्फ आयोजक र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल हुनेछ । शनिबार भएको खेल खराब प्रकाशका कारण स्थगित भएपछि उक्त खेल आइतबार हुन लागेको हो । उक्त खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
त्यसपछि पुरुषतर्फका खेलहरु हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । यी खेलपछि लिग हुनेछ । जित्ने टोली र हार्ने टोलीको छुट्टाछुट्टै लिग सञ्चालन हुनेछ । जित्ने टोलीको समूहबाट शीर्ष दुई टोली पहिलो क्वालिफायर खेल्नेछ । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।
हार्ने टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् । एलिमिनेटरको विजेताले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । खेल हेर्न चाहने दर्शकले इसेवामार्फत पनि अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।