Play

नेपाली काँग्रेसमा महाधिबेशनको चर्चा, महामन्त्रीको प्रचारमा जुटे ‘नैनसिंह महर’

गुरुकुल खबर


काठमाडौ, नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति अझै सम्म निश्चित भैसकेको छैन, तर कांग्रेसका केहि नेताहरुलाई भने महाधिबेशनले छोईसकेको छ। महाधिबेशनमा सभापतिको उमेद्वार को को बन्ने भन्ने अहिले नै टुंगो लागिसकेको छैन ।

तर पनि, यस अगाडिका सभापतिका प्रत्यासी डा. शेखर कोइराला, हालका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहित पूर्व महामन्त्री एबम बिपी पुत्र डा. सशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, बिमलेन्द्र निधि, पार्टी प्रबक्ता डा. प्रकाशशरण महत मध्येबाट तिन वा त्यो भन्दा बढी सभापतिका उमेदवार बन्ने अनुमान पार्टी पंक्ति भित्र गरिंदैछ।

बर्तमान सभापति शेरबहादुर देउबाको समर्थन लिएर सभापतिको उमेद्वार बन्ने प्रयासमा सभापतिका सम्भावित सबैजसो उमेदवारहरु लागिरहेको बताईन्छ। सभापति पदको दौडका लागि कोइराला द्वयसंगै थापा र खड्काले पनि जिल्ला जिल्लामा पुगेर कार्यकर्ता भेटघाट गर्ने र आफ्नो पक्षमा तान्न सक्रियता देखाउन थालेका छन । डा. महतले समेत जिल्ला दौडाहालाई तिब्रता दिएका छन।

सभापति पदमा को को उमेदवार बन्छन, त्यसपछि मात्र उनीहरुको प्यानलमा उपसभापति र महामन्त्रीको उमेद्वारहरुको टुंगो लाग्ने हुन्छ तर केहिले स्वतन्त्र रुपमा समेत उमेद्वार बन्न सक्छन। एकातिर महाधिबेशनको मिति नतोकिएको अबस्था र अर्को तिर सभापतिको उमेद्वार निश्चित भईनसकेको अबस्थामा पनि पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले भने महामन्त्री पदमा उमेदवार बन्ने भनि प्रचार नै शुरु गरिसकेका छन। आसन्न्न महाधिबेशनको लागि भनेर सचिवालय समेत खादा गरि महामन्त्री पदको लागि औपचारिक रुपमा प्रचार प्रसारमा जुट्ने महर सम्भवत पहिलो हुन्।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका महर चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । महर कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् । महरले ‘मिसन महामन्त्री’ बनाई प्रचार सुरु गरिसकेका छन् ।

पार्टीको महाधिवेशन निर्धारित समय अर्थात् आगामी २०८२ मङ्सिरमा हुनुपर्ने माग सहित महरले उम्मेदवारी घोषणा गरेका हुन । राजनीति गर्नेले माथिल्लो पदमा पुग्नका लागि क्रियाकलाप गर्नु स्वभाविक हुने भएकाले आफूले महामन्त्री बनेर पार्टी संगठनमा थप शसक्त र गम्भीर भएर काम गर्न चाहेको उनले बताए।

पार्टीको विधानमा महाधिबेशन एक सार्न सकिने वा कार्यकाल एक बर्ष बढाउन सकिने व्यवस्था रहेको कारण कतिपयले निर्धारित समय अर्थात आगामी मङ्सिरसम्म महाधिबेशन गर्नुपर्ने आवाज उठाउन थालेको छन भने कतिपयले बिधान अनुसार एक वर्ष थप हुन सक्ने भन्दै आगामी मङ्सिरसम्ममा महाधिबेशनको सम्भावना नरहेको समेत बताउन थालेका छन ।

नियमित समयमा महाधिवेशन गर्नको लागि अहिलेको भन्दा १० गुणा बढी काम गर्नुपर्ने आबश्यकता रहेको भन्दै महरले त्यसका लागि अहिलेबाट नै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । महरले १६५ निर्वाचन क्षेत्रमै पुगेर पार्टीका काम सहित आफ्नो प्रचारमा लाग्ने बताए ।

महामन्त्री पदका लागि आकांक्षा राख्ने नेताहरु पार्टीभित्र धेरै रहेको चर्चा चल्न थालेको छ । जसअनुसार प्रदिप पौडेल, रमेश लेखक, एनपी साउद लगायतको नाम अलि चर्चामा रहेको छ।

हाल कांग्रेसको विधानमा दुईजना महामन्त्री निर्बाचनबाट चुनिएर आउने व्यवस्था छ ।तर, यसपटक बिधानमा संसोधन गरि महामन्त्री र उपसभापति लगायतका केहि पदको संख्या बढाउने वा महिलाको प्रतिनिधित्व सुनिस्चित गराउने भन्ने चर्चाले समेत ब्यापकता पाउन थालेको छ।

१२ माघ २०८१, शनिबार २१:०१ मा प्रकाशित
Nabintech