Play

वातावरण संरक्षणमा समुदायको भूमिका महत्वपुर्ण हुन्छ, त्यसका लागि प्रशासनले सहयोग गर्छ- प्रजिअ पाण्डे

गुरुकुल खबर


पोखरा,  वातावरण संरक्षण र विकास योजनाहरूलाई सन्तुलित बनाउन सबै तहका सरोकारवाला निकायबीच सहकार्य र जिम्मेवारी बाँडफाँड आवश्यक रहेको कुरामा पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

जिल्ला वन कार्यलय कास्कीको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा आयोजित विकास र वातावरणको सन्तुलनका लागि स्थानीय तहसँग समन्वय गोष्ठीमा सरोकारवाला वक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियता र सहकार्यद्वारा मात्र वातावरणीय समस्याहरूको समाधान गर्न सकिने धारणा राखे । उनले वातावरण जोगाउने दायित्व सबैको साझा भएको बताए ।

प्रजिअ पाण्डेले भने,“व्यक्तिको सानो लापर्वाहीले समेत ठुलो विनाश निम्त्याउने भएकाले सरोकारवाला सबै संवेदनशील हुनुपर्छ,” उनले वातावरण संरक्षणमा समुदायको भूमिका अझ सशक्त बनाउन सुझाव दिँदै प्रशासनले यसका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए

कार्यक्रमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले वातावरणीय सन्तुलन र दिगो विकासको मर्मलाई आत्मसात् गर्दै समन्वयात्मक नीति लागू गर्न स्थानीय तहहरूको भूमिका अपरिहार्य रहेको बताए । उनले सामुदायिक बन उपभोक्ता समिति लगायत सरोकारवाले डढेलो नियन्त्रण अभियान स्थानीय स्तरबाट संचलन गर्नुपर्नेमा जोड दिए ।

कास्कीका वन अधिकृत कोमलराज काफ्लेले विषयबस्तु माथि प्रस्तुती राख्दै वन र प्रकृतिसँग सम्बन्धित कानुनको पालना अनिवार्य रहेको भन्दै यसको उल्लङ्घन गर्ने व्यक्तिहरूले गरेको हेलचक्राइले वन विनाश र वातावरणीय असन्तुलन निम्त्याएको बताए ।

उनले वातावरण संरक्षण ऐन, २०७६ र वन ऐन, २०७६ का प्रावधानहरूबारे जानकारी गराउदै स्वच्छ वातावरणमा बाँच्न पाउने हक, प्रदूषकद्वारा क्षतिपूर्ति, र वातावरणीय सन्तुलन कायम गर्न कानुनको पालना आवश्यक रहेको बताए । निजी वन व्यवस्थापन, सामुदायिक वनको आय व्यवस्थापन, र स्थानीय तहको भूमिकाबारे प्रकाश पार्दै उनले वन अतिक्रमण नियन्त्रण र जोखिमयुक्त रुख हटाउन सहकार्यको खाँचो औंल्याए ।

जिल्ला समन्वय अधिकारी नवराज वरालले कास्की जिल्लामा आगलागी हुन नदिन र कसैले आगो लगाएमा वा त्यस्तो काम गर्न प्रोत्साहित गर्ने व्यक्तीलाई कानुनी दायरामा ल्याएर दण्ड जरिवाना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूले वन र वातावरण संरक्षणको महत्व र यसले समुदायमा पारेको सकारात्मक प्रभावबारे छलफल गरी वन संरक्षणले सिर्जना गर्ने दिगो फाइदाका लागि सामुदायिक सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए । गोष्ठीमा वन तथा वातावरण क्षेत्रका सरोकारवालाहरु उपस्थिति रहेको थियो ।

१० माघ २०८१, बिहीबार २०:०३ मा प्रकाशित
Nabintech