पोखरा, नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेस अहिले खुकुरीको धारमा हिंड्नु परेको बताएका छन। नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उपसभापति खड्काले नेकपा एमालेसंग मिलेर सरकार चलाउनु र आगामी चुनाबमा एमालेसंग नै मुख्य प्रतिष्पर्धा गर्नु भनेको खुकुरीको धारमा हिड्नु जस्तै भएको बताए।
“अहिले नेपाली काँग्रेसले नेकपा एमालेसंग मिलेर संगसंगै सरकार चलाउनुपरेको छ र जनताको अनि देशको लागि काम गर्नुपरेको छ। तर, आउँदो चुनाबमा नेकपा एमालेसंग नै मुख्य प्रतिष्पर्धा पनि गर्नुपरेको छ, यस्तै अबस्थालाई भन्छन खुकुरीको धारमा हिड्ने। कांग्रेस अहिले यस्तै अबस्थाबाट अगाडी बढ्नुपरेको छ।” पूर्व उपप्रधानमन्त्री समेत रहेका खड्काले भने ।
कांग्रेस उपसभापति खड्काले सरकारमा बसेर कांग्रेसले राम्रो काम गर्न प्रयत्न गरिरहेको दाबि गरे। ‘हामीले सरकारमा बसेर राम्रो गर्न प्रयत्न गरिरहेको छौं, तर सरकारमा संगै रहेको एमालेसंग नै आउने चुनाबमा प्रतिष्पर्धा हुन्छ।’ उनको भनाई थियो।
कांग्रेस एमालेको संयुक्त सरकारले विभिन्न अध्यादेश जारी गरेपछि हाल सरकारको आलोचना समेत भैरहेको छ तर कांग्रेस उपसभापति खड्काले भने सरकारले अध्यादेश ल्याउनुपर्ने बाध्यता सिर्जना भएको भन्दै सरकारको बचाउ गरे। उनले भने “सामान्यतया अध्यादेश ल्याउनु राम्रो मानिदैन, तर बिदेशी लगानी नेपाल भित्र्याउन, रोजगारी बढाउन, अब्यबस्थित बसोबासीलाई ब्यबस्थित बनाउन, अतिक्रमण हुँदै गएको बन जंगलको सिमांकन गरि संरक्षन गर्नको लागि अध्यादेश ल्याउनुपर्ने बाध्यता आइपरेको हो।”
कांग्रेस नेता खड्काले पार्टीका नेताहरुमा ढोंगी चरित्र बढेको भन्दै चिन्ता समेत प्रकट गरे। उनले पार्टीका कुनकुन नेताहरु ढोंगी भए भन्ने केहि उल्लेख गरेनन। तर, ढोंगले परिबर्तन सम्भव नहुने र युवालाई जोड्न समेत नसकिने ठोकुवा गरे। पार्टीका नेताहरुमा आफ्नो कमजोरी स्वीकार गर्न नसक्ने, पार्टीका कार्यकर्ताको सुझाब ग्रहण गर्न नसक्ने अनि सुझाब लिन नचाहने प्रवृति बढ्नु घातक रहेको उनको भनाई थियो। पार्टीका नेताहरुमा देखिएको यस किसिमको प्रवृतिले पार्टी कम्जोर हुने भन्दै खड्काले कमजोरी दोहोरिन नदिने गरि काम गरेमात्र रुपान्तरण सम्भब रहेको स्पष्ट पारे।
पार्टीका सबै तहका नेता र कार्यकर्ता पदीय जिम्मेवारी फरक रहेपनि सबैको आत्मसम्मान र स्वाभिमान समान हुने भन्दै उनले अनुशासित र मर्यादित भएर संगठनको काममा सबै लाग्नसक्ने बाताबरण तयार गर्न पार्टीको सबै तहमा बस्नेहरु गम्भिर बन्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसको आसन्न १५ औं महाधिबेशनमा सभापतिको आकान्क्षीको रुपमा चर्चा गरिएका उपसभापति खड्काले पार्टीको महाधिबेशन कहिले हुने र आफ्नो उमेदवारी के हुने भन्ने बिषयमा केहि बताएनन। तर पार्टीका केहि भातृ संस्थाको महाधिबेशन गर्न निर्देशक समितिहरु बनेर आबश्यक तयारी भैरहेको र आगामी चैत्र भित्र भातृसंस्थाहरुको महाधिबेशन हुने दाबि गरे। उपसभापति खड्काले पार्टीले संगठनात्मक रुपमा गर्नुपर्ने कामहरु सम्पन्न गरे मात्र मिसन ८४ सफल हुने भन्दै ८४ अगाडी ८१ र ८२ मा गर्नुपर्ने काम सक्नुपर्नेमा भने जोड दिए ।
पार्टीभित्र एकले अर्कोको आलोचना गर्ने गरेको कुराको चर्चा गर्दै खड्काले भने।, कसैले गल्ति गरेको छ भने पार्टीको सम्बन्धित तह अनुसार विभिन्न संरचनामा बसेर बहस र छलफल गर्न सकिन्छ, कांग्रेस समुन्द्र जस्तै हो तसर्थ पार्टीको संरचना भित्र बसेर मतभेद अन्त्य गर्ने बाताबरण तयार गर्नुपर्छ। चिया पसल र चोकमा बसेर एकले अर्कोको आलोचना गर्दा पार्टी झन् कमजोर बन्नजान्छ। यसै प्रसंगमा उनले भने “मैले आजसम्म कुनै पनि नेताको आलोचना सार्बजनिक रुपमा चोक र चिया पसलमा गरेको छैन, तर सम्बन्धित व्यक्ति वा पार्टीको संरचना भित्र भने भन्ने गरेको छु।”
कार्यक्रमको शुरुवातमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नागरिकले आफुलाई समस्या परेको कुरा सम्बन्धित ठाउँमा राख्न पाउने र समाधान खोज्ने ब्यबस्था प्रजातान्त्रिक व्यवस्था हो भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन नेपाली काँग्रेसले राष्ट्रियता र प्रजातन्त्र र समाजबादको नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला सहकारी संघ कास्कीमा निर्बाचित कांग्रेस सम्बद्ध पदाधिकारी र सदस्यलाई सम्मान
यसैबीच जिल्ला सहकारी संघ कास्कीको हालै सम्पन्न अधिबेशनबाट संचालक समितिमा निर्बाचित नेपाली काँग्रेस सम्बद्ध पदाधिकारी र सदस्यहरुलाई नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगाएतले सम्मान गरेका छन । पार्टीको गण्डकी प्रदेश समिति अन्तर्गतको सहकारी बिभागले उनीहरुलाई सम्मान गर्ने चाँजोपाँजो मिलाएको हो। उपसभापति खड्काले माला र कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले टिका लगाएर उनीहरुलाई सम्मान गरिएको थियो
सम्मानित हुनेहरुमा जिल्ला सहकारी संघ कास्कीको अध्यक्ष दिपकराज बाँस्तोला, महिला उपाध्यक्ष अम्बिका गौतम आचार्य, महासचिब दिपक प्रकाश आचार्य र सदस्यहरु सबिना अधिकारी क्षेत्री, बिमला थापा बस्नेत, धनराज पुरी र आनन्द सुबेदी रहेका छन। सहकारी संघमा सर्बसम्मत गराउने र कांग्रेस समर्थकहरुको बहुमत सहित नयाँ संचालक निर्बाचित गराउन पहल गरेको भन्दै जिल्ला सहकारी संघ कास्कीका पूर्व अध्यक्ष रबिरमण तिवारीलाइ समेत त्यस अबसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, पार्टीका प्रबक्ता माधव प्रसाद बाँस्तोला र सहकारी विभागकी प्रमुख सिता गुरुङ र सहकारी संघ कास्कीका नबनिर्बाचित अध्यक्ष दिपकराज बास्तोला लगाएतले आआफ्नो भनाई राखेका थिए ।