Play

परिबर्तन आउने गरि परिणाममूलक काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

गुरुकुल खबर


काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले बिगतको तुलनामा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । अघिल्लो सरकारले स्रोतको सुनिश्चितताविना नै बजेट ल्याएकोले काम गर्न असहज भएपनि काम गर्नै शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम सम्बन्धमा त्रैमासिक समिक्षा एब प्रगतिमाथि छलफल गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसङ्गतिलाई व्यवस्थापन गर्नुपरेको बताउँदै ११ हजार नक्कली आयोजना ल्याइएको र बहुवर्षीयखालका योजनामा २० लाख रुपैया मात्र बजेट राख्ने खालका विकृति अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरुसहितको बैठकमा प्रधानमन्त्री ओलीले भने ‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन । प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षा बमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ । काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुपर्‍यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ,’

प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ ? बन्द भएका उद्योगहरु के गर्ने हो ? हामीले चलाउन सक्दैनौँ भने चलाउन सक्नेलाई चलाउन किन नदिने ? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरु किन राख्ने ?’

उनले अब अल्याङटल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारबाही गर्नुपर्नेमा उनले धारणा राखे ।

प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्ने भएकाले समीक्षा र बैठकहरूले मात्रै परिणाम नदिने भन्दै उत्पादन र परिवर्तनमा केन्द्रित हुन समेत आग्रह गरे ।

१२ मंसिर २०८१, बुधबार १९:०८ मा प्रकाशित
Nabintech