Play

सहकारी ठगि प्रकरण : लामिछाने सहित चारजनालाई १० दिन म्याद थप, बिरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

गुरुकुल खबर


पोखरा, सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे।कास्की प्रहरीले भने लामिछानेलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतसंग अनुमति मागेको थियो तर अदालतले १० दिन मात्र म्याद थप गर्ने निर्णय गरेको छ। तिहारपर्वमा परेको सार्बजनिक बिदा समेत १० दिनमा नै पारिएको छ।

लामिछानेलाई मंगलबार तेस्राे पटक म्याद थपिएकाे हाे । उनलाई हिरासतमा राख्न अदालतले दोस्रोपटक ७ दिनलाई दिएको म्याद कात्तिक १४ गते सकिएको थियो । उनि कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। पहिलो पटक उनलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो ।

पूर्व उपप्रधान एबम गृहमन्त्रीसमेत रहेका लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा कास्कीको सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट अवैध किसिमले रकम लगी हिनामिना भएको आरोप लागेको छ।

सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेपछि अदालतमा भएको बहसमा लामिछानेको तर्फबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्त लगायतले बहस गरेका थिए उनीहरुले लामिछानेको बयान सकिएकाले रिहा गर्न माग गरेका थिए।

अदालतमा सहकारी पीडितको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्ने भनि बहस गरेका थिए।

लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासता रहेका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप भएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन।

सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड रुपैया अपचलन भएकोमा साढे पाँच करोड रुपैया गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको बताइएको छ।

यसैबीच रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदशर्नमा उत्रिएका कार्यकर्तामाथि पोखरामा मंगलबार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

पोखराको जिरोकिलोमिटरबाट रत्नचोक हुँदै वाइ चोकमा पुगेर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रक्षात्मक अवस्थामा पुगेको हो । त्यहि बेलामा ४ सेल अश्रुग्यास प्रहार गरिएको हो ।

२० कार्तिक २०८१, मंगलवार १६:२७ मा प्रकाशित
Nabintech