Play

सहकारी ठगीबारेमा मंगलबारदेखि जोशीको बयान हुने, रविको समर्थन र बिरोधमा पोखरामा प्रदर्शन

गुरुकुल खबर


पोखरा,  सहकारीको रकम अपचलन गरेको अभियोगमा आइतबार काठमाडौँको शंखमुलबाट पक्राउ गरि पोखरा ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको सहकारी ठगी मुद्दामा मंगलबारदेखि मात्रै बयान सुरु हुने भएको छ । सरकारी वकिलको कार्यालय कास्कीले उनीसँग मंगलबारदेखि बयान लिने तयारी भएको जनाएको छ ।

पूर्वडीआईजी छविलाल जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने अनुमान गरिएको छ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले बताए ।

जोशीले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोप लागेको छ। सरकारी वकिल समक्ष प्रहरीले बयान लिने गर्दछन । ‘अर्को म्याद थप लिने बेलासम्म बयान लिएर जानुपर्छ । प्रहरी र सरकारी वकिलको फुर्सदमा बयान लिइन्छ,’ कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले भने, ‘पक्राउ पुर्जी जारी गर्दा लागेको आरोपकै आधारमा बयान चलाउने हो । मुद्दा हेर्दै जाँदा अरू विषय पनि आकर्षित हुन सक्छ ।’

पक्राउ परेका जोशीलाई तीन अभियोगमै अनुसन्धान हुने भएकोले सुरुमा १० दिनको समय चाहिने भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेका भएपनि अदालतले उनलाई ५ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्ने अनुमति दिएको छ । संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । त्यस्तै सम्पत्ति शुद्धीकरणको अभियोग अहिले जिल्ला सरकारी वकिल कार्यालयबाटै जिल्ला अदालतमा दर्ता हुने भएकाले पनि यो अभियोग थपिएको हो ।

जोशीले गोर्खा मिडियाको सञ्चालकको रूपमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक अभियोगपत्रमा अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरिएको थियो । आइतबार काठमाडौँमा पक्राउ गरेपछि उनलाई आइतबार राति नै बिमानबाट पोखरा ल्याईएको थियो ।

जोशीले सोमबार जिल्ला अदालतमा हाजिर गर्दा हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । ‘मलाई जरुरी पक्राउ पुर्जी जारी गरेर ल्यायो । त्यस्तो गर्नुपर्ने थिएन । भागेर जाने भएको भए म पहिलै जान सक्थेँ,’ उनले भनेका छन्, ‘म बाहिरै रहेर पनि अनुसन्धानलाई असर पर्दैन । मेरो पासपोर्ट अदालतले राखे हुन्छ । नभए तारेखमा रहेर मुद्दा लड्न पाउँ ।’

प्रतिनिधि सभामा गठन भएको संसदीय छानबिन समितिको प्रतिवेदन सरकार मातहत आएपछि सरकारले सहकारी काण्डमा पहिलो पटक जोशीलाई नियन्त्रणमा लिएको हो। जोशीले आफू व्यक्तिगत रूपमा दोषी नभएको दाबी गर्दै आएका छन् । ‘व्यक्तिगत रूपमा म दोषी छैन, सूर्य दर्शनको विवाद हुनुभन्दा पहिले नै म त्यहाँबाट बाहिरिएको छु,’ अदालतमा उनले भनेका थिए, ‘मैले पैसा चलाएको पनि छैन ।’

प्रहरीले जोशीको बयानका आधारमा थप व्यक्ति पक्राउ गर्ने तयारी गरेको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि पूरक जाहेरी रहेको छ । त्यस्तै सहकारीको छानबिन प्रतिवेदन पनि पुगेको र विगतमा पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनलाइ समेत आधार बनाएर कसलाई पक्राउ गर्ने बारेमा प्रहरीले निर्णय लिने बताईन्छ ।

जोशीको पक्राउ संगै रास्वपाका सभापति रबि लामिछाने समेत पक्राउ पर्ने आशंकामा उक्त पार्टीका कार्यकर्ताहरुले सोमबार पोखरामा प्रदर्शन समेत गरे।उनीहरुले बर्तमान सरकारले रबि लामिछानेलाई फसाउन खोजेको भन्दै बिरोध जनाएपछि सहकारी पिडित हरु समेत त्यसको बिरोधमा नाराबाजीमा उत्रिएका थिए।

यता सहकारी पिडितहरुको र्याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर नाराबाजी गर्दै रसहकारी ठगि गर्नेलाई पक्राउ गर्नुपर्ने, सहकारी पिडितको रकम फिर्ता गराउनु पर्ने जस्ता नाराबाजी गरेका थिए ।

सहकारी पीडितले सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् भने रास्वपा कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई सरकारले फसाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयअघि शहीद चोकमा रहेको चौतारीमा रास्वपा कार्यकर्ताहरू प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए। पार्टी सभापति लामिछानेलाई सरकारले फसाउन लागेकाले सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको रास्वपा गण्डकीका सभापति एकराज न्यौपानेले बताए।

सुर्यदर्शन सहकारी ठगीको अभियोगमा लामिछानेलाई पक्राउ गर्न सक्ने हल्ला सुनेकाले प्रदर्शन गरेको उनले बताए।सुर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारी ठगीमा कारबाही गर्न अवरोध गर्न लागेको देखेर प्रदर्शन गरेको बताएका छन्।

रास्वपाका नेता कार्यकर्तासँग बिहान कुराकानी हुँदा कुनै प्रदर्शन नगर्ने र कानुनी कारबाहीलाइ प्रभावित हुन नदिने सहमति भए पनि उनीहरूले प्रदर्शन गर्ने भनेपछि आफूहरू पनि प्रदर्शनमा उत्रिनुपरेको बताए। ‘हामीले सहकारी पीडितले न्याय पाउनुपर्छ, ठगीमा संलग्न हुनेलाई कारबाही हुनुपर्छ भनेका छौं,’ उनले भने, ‘रवि लामिछानेका समर्थकले बिहानसम्म प्रदर्शन नगर्ने भनेको थियो, उनीहरू प्रदर्शनमा उत्रिएपछि हामी पनि उत्रियौं ।’

शहीद चोकको चौतारीमा रास्वपाका कार्यकर्ता प्लेकार्ड लिएर बसेका बेला सहकारी पीडितहरू भने बैदामबाट त्यहीबाटो हुँदै जिल्ला प्रशासन कार्यालय गेट पुगेका थिए। पीडितहरूले रवि लामिछानेलाई पक्राउ गर, सहकारीको बचत फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएका थिए।

सुर्यदर्शन सहकारीकै पीडितहरूले रास्वपा सभापति लामिछानेविरुद्ध माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी अभियोग लगाएर पीडितले जाहेरी दिएका थिए। संसदीय छानबिन समितिले पनि सहकारीबाट गैरकानुनी रुपमा गोरखा मिडियामा ६५ करोड रुपैयाँ लगेको र उक्त रकम लामिछानेले चेक काटेर खर्च गरेकाले कारबाही गर्न सिफारिस गरिसकेको छ। सहकारी ठगि काण्डमा छबी पक्राउ परेपनि रबि पक्राउ पर्ने आशंकाका कारण चर्का अभिव्यक्ति दिंदै हिंडेका छन् भने जीबी राइ भने अझै फरार छन्।

७ आश्विन २०८१, सोमबार २०:१४ मा प्रकाशित
Nabintech