Play

कांग्रेस-एमालेको सरकारलाई असफल हुने छुट छैन-मन्त्री पृथ्वीसुब्बा गुरुङ

गुरुकुल खबर


पोखरा, नेकपा एमालेका उपमहसचिब तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले बनेको कांग्रेस – एमालेको गठबन्धन अन्तिम राजनीतिक विकल्प भएको बताउंदै यो गठबन्धनलाई असफल बन्ने छुट नरहेको स्पष्ट पारेका छन ।

पोखरामा पत्रकारहरुसंगको कुराकानीमा उनले पहिलो पार्टी नेपाली कांग्रेस र दोस्रो पार्टी नेकपा एमालेबीच गठबन्धन भएर संघदेखि प्रदेशसम्म नयाँ सरकार गठन भएको कुराको चर्चा गर्दै भने. “संसारमै पहिलो र दोस्रो दल मिलेर सरकार गठन नहुने परिस्थितिमा नेपालमा नयाँ गठबन्धन निर्माण भएको छ। नेपालमा खासखास समयमा कांग्रेस र एमाले मिलेका छन् । तर संसदीय व्यवस्था मानेका विश्वका अन्य देशहरुमा यो नौलो अभ्यास हो’

उनले भने, ‘यसबाट प्रतिपक्ष कमजोर हुन्छ, सत्तापक्ष निरंकुश हुन्छ भन्ने आममानसिकता छ । यसलाई सच्याएर मुलुक निर्माणमा अहिलेको सरकार चल्नुपर्छ ।’ नयाँ गठबन्धनले सुशासन र अर्थतन्त्र मजबुत बनाउन काम गर्नुपर्छ, यो गठबन्धनलाइ असफल बन्ने छुट छैन।”

उनले संचारमाध्यमको सवलिकरणको प्रयास गरिने तर अनलाइन टिभी र विभिन्न अनलाइनमा आउने सूचनाले अराजकता बढेको देखिएकोले त्यस्ता मिडियालाई नियमन गरिने मन्त्री गुरुंगले बताए ।

मन्त्री गुरुङले नयाँ सरकारलाई असफल हुने छुट नरहेको बताउंदै ‘गठबन्धनले धेरै सम्भावना बोकेको रअस्थिर राजनीतिले स्थिरता पाउने, विकास निर्माण, संविधानको रक्षा र कार्यान्वयन गर्ने कामका लागि सार्थक हुने दाबि गरे ‘तर यसका चुनौती पनि छन् । यो अन्तिम विकल्प हो । यो सरकार असफल भए मूलधारका पुराना दल पनि असफल हुन्छन् भन्ने सन्देश जनतामा जान्छ ।’ लोकतन्त्रको सुदृढीकरणका लागि तयार भएरै गठबन्धनमा सामेल भएको उनले बताए । सरकारले जनतामा छिट्टै आशा जगाउने गरी काम गर्नुपर्ने र त्यसको तयारी मन्त्रालयहरुले गरिसकेका उनको भनाइ थियो।

संविधान संशोधन र निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमालेको चाहनाले मात्रै सम्भव नहुने उनले बताए । ‘निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमालेले मात्रै चाहेर हुँदैन । राष्ट्रिय सहमति चाहिन्छ,’ उनले भने । उनले समानुपातिक समावेशिता पूरै हटाउन सम्भव नभएको बताए । मन्त्रालयले टेलिफोन नपुगेका सबै ठाउँमा टेलिफोन बिस्तार गर्ने उनले प्रतिबद्धता जनाए। यस्तै, मन्त्रालयका सबै कानूनको परिमार्जन र नयाँ कानून निर्माण एक वर्षभित्र सिध्याउने गुरुङले बताए ।

नेकपा एमाले उपमहासचिव समेत रहेका उनले बजेट केही संशोधन गरेर लैजाने बताए । ‘बजेट संशोधन हुन्छ भनेर प्रधानमन्त्रीज्यूले भनिसक्नुभएको छ । तर प्रणालीगत रुपमा चाहिँ फेरिँदैन,’ पूरक बजेटबारे पत्रकारको प्रश्नमा उनले जवाफ दिए ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले प्रदेशका अहिलेका मुख्यमन्त्रीले संघीयतालाई बलियो बनाउन खासै ध्यान नदिएको टिप्पणी गरे । ‘संघीयताका आधारभुत समस्या उतिबेलै हल गरेको हो । दोस्रो चरणका मुख्यमन्त्रीलाई अवसर थियो तर प्रदेशको सामथ्र्य विकासमा ध्यानै गएन,’ उनले भने, ‘सत्ता लुछाचुँडीमै समय बित्यो । संघबाट प्रदेश र स्थानीय तहलाई झनै अपांग बनाइएको छ । प्रदेशहरु हिंड्दै छ, पाइला मेट्दै छ भनेजस्तो भैरहेका छन्।’

उनले सिंगो नेपाललाई नै डिजिटल बनाउने दाबी गरे । ‘सबै कार्यालयमा अब लेखेर बस्ने होइन, प्रविधिबाट काम हुन्छ । मैले पेनले सही गर्दिनँ, अनलाइनबाट गरेको छु,’ अघि भने, ‘डिजिटल नेपाल बनाउन खर्बौं रकम लाग्छ भनेका छन् तर त्यति धेरै लाग्ने होइन रहेछ, बुझ्दैछु ।’

१३ श्रावण २०८१, आईतवार १३:४६ मा प्रकाशित
Nabintech