पोखरा, उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। बुधबार संसदीय समितिमा दिएको एउटा अभिव्यक्ति विवादमा परेपछि उनले राजीनामा बुझाएकी हुन्। उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफैँ राजीनामा दिएकी हुन। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष बिहीबार आफ्नो राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए।
मन्त्री यादवले संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने अभिव्यक्ति दिएकी थिइन्। उनको यो भनाइप्रति उद्योगीहरूले कडा आपत्ति जनाएका थिए। उद्योगीहरूले यसबारे प्रधानमन्त्री शाहको समेत ध्यानाकर्षण गराएका थिए। चौतर्फी दबाब र विवादपछि उनले पद छाड्ने निर्णय गरेकी हुन्। बुधबार संसद्को उद्योग समितिमा मन्त्री यादवले ग्यास अभाव हुनुमा उद्यमी व्यवसायीको बदमासी प्रमुख कारण रहेको बताएकी थिइन् ।
साथै, उनले कर्मचारीले समेत आफूलाई सहयोग नगरेको तथा करोडौँ पैसा दिएर लाइसेन्स दिएको गुनासो गरेकी थिइन् । मन्त्री यादवले समितिमा यस्तो बताएको भोलिपल्ट राजीनामा गरेकी हुन् । गत चैत २७ गते मन्त्री बनेकी यादव यसअघि पनि विवादमा मुछिएकी थिइन् । पेट्रोलको मूल्य बढ्दा मन्त्री यादवले नै सूचना चुहाएको आरोप लागेको थियो । त्यस्तै उनलाई पक्राउ गर्न प्रधानमन्त्रीको कार्यालयले प्रहरी नै खटाएको समाचार सार्वजनिक समेत भएको थियो ।
त्यसो त नियमित आपूर्ति भए पनि लामो समयदेखि ग्याँसको अभाव हुँदै आएको थियो । पछिल्लो पटक कृष्णभिरमा पहिरो गएपछि आयात थप प्रभावित बनेको थियो । एकातिर रसुवा बाढीको विपत्ति अर्कोतिर उपभोक्ताले ग्यास नपाएपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो । बुधबारको समिति बैठकमा मन्त्री यादवले कर्मचारीले समेत आफूलाई असहयोग गर्दा केही काम गर्न नसकेको भन्दै कर्मचारीहरू उद्योगीको इसारामा मात्र चल्ने गरेको आरोप लगाएकी थिइन् ।
‘हामीसँग ग्यास उद्योग ५८ वटा छ । अब ५९ वटा बनाउने हो कि होइन ?’, समितिमा प्रश्न गर्दै मन्त्री यादवले भनेकी थिइन् ‘हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन ।’ उनले धेरैमा दुइटा भन्दा बढी ग्यास उद्योग नचाहिने पनि बताएकी थिइन् । ‘सबै उद्योग खारेज गर्नुपर्छ । मैले धेरै अगाडिसम्म गएर बोलेँ, किनभने म यो देशलाई हाँसेको हेर्न चाहन्छु यसले मलाई धेरै प्रभाव पनि पार्छ, मलाई थाहा छ ।’
उनले आफूले समितिमा बोलेको विषयले आफूलाई नराम्रो बनाउने आफूलाई थाहा भएको समेत बताएकी थिइन् । ‘मलाई एकदमै नराम्रो बनाउला, आज म यो विषयमा यति अगाडिसम्म बढेर बोल्दा । तर देशको लागि गर्ने हो भने यो हामीले बुझ्नै पर्ने कुरा हो’, उनले भनेकी थिइन्, ‘पार्टीको कुरा होइन, देशको कुरा हो । जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ । अब जे भन्नुहुन्छ म त्यही गर्छु, तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो ।’
मन्त्री यादवले उद्यमीहरुलाई कर्मचारीले करोडौँ लिएर उद्योगको लाइसेन्स दिएको हुनसक्ने बताएकी थिइन् । ‘उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनुपयो नि ! उनीहरू उठाइरहेको छ’, मन्त्री यादवको भनाइ छ । मन्त्री यादवको उक्त अभिव्यक्तिको नेपाल उद्योग वाणिज्य महासङ्घ, ग्यास उद्योगी लगायतले आपत्ति जनाएका थिए ।













