Play

पोखरा पत्रकारिता सम्मानबाट पत्रकार पराजुली र भण्डारी परिवार सम्मानित

पत्रकारिता क्षेत्रमा देखिएका संकट समाधान गर्न प्रदेश सरकार गम्भीर छ- मुख्य मन्त्री पाण्डे


गुरुकुल खबर


पोखरा, नेपाली पत्रकारिताको क्षेत्रमा तिस वर्ष बढी बिताएका पोखराका गंगाधर पराजुलीलाई नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान -२०७९ बाट सम्मान गरेको छ । नेपालको  पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील भई समाज रुपान्तरण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, व्यवसायिक पत्रकारिताको बिकाससंगै नेपाल पत्रकार महासंघको संस्थागत सुदृढ़ीकरणमा पराजुलीले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान अर्पण गरिएको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर परेर शुक्रबार आयोजित बिशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार पराजुलीलाई ५० हजार ५५५ रुपैया सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

२०४९ सालबाट पत्रकारिता पेशामा क्रियाशील पराजुलीले पत्रकारितामा क्रियाशील रहेको समयमा सरकारी एबम अन्य निकायमा लिएको जिम्मेवारी कुशलता पुर्बक सम्पन्न गरेका छन् ।  नेपाल सरकार अन्तर्गत न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहंदा पराजुलीले नेपाली पत्रकार एबम संचार माध्यममा कार्यरत कर्मचारीको न्युनतम पारिश्रमिक वृद्धि गरेका थिए । साना लगानीका तथा स्वरोजगार मिडियाको सबलिकरंणको लागि पनि उनले महत्वपुर्ण पहल गरेका थिए । पराजुली अध्यक्ष रहेको समितिको शिफारिस बमोजिम नेपाल सरकारले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्ने क्रममा पत्रकारहरुको न्युनतम पारिश्रमिकमा वृद्धि गरि गरेको थियो । त्यसपछि करिब ५ वर्ष बितेको भएपनि न्युनतम पारिश्रमिकमा वृद्धि हुन सकेको छैन ।

पराजुलीले राष्ट्रिय समाचार समितिमा  संचालक तथा बोर्ड सदस्य समेत रहेर काम गरेका थिए । उनि सदस्य रहेका बेला लामो समय देखि अस्थायी सेवामा कार्यरत ३५ जना जति पत्रकार र कर्मचारीलाई स्थायी गर्ने काम भएको थियो । पराजुलीले देशभरका साना लगानीका र स्वोराजगार मिडियालाई निशुल्क रुपमा राससको समाचार सेवा उपलब्ध गराउनको लागि र पोखरामा निजि साझेदारी कार्यक्रम अन्तर्गत अत्याधुनिक र सुबिधा सम्पन्न भवन बनाउनको लागि पनि पहल गरेका थिए ।

यसबाहेक उनले नेपाल पत्रकार महासंघको केन्द्रय उपसभापति सहित बिभिन्न पदमा, नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष, कास्की अध्यक्ष सहित विभिन्न पदमा र नेसनल युनियन अफ जर्नालिस्टको केन्द्रिय सदस्य सहित संचारसंग सम्बन्धित विभिन्न संस्थामा रहेर काम गरेका छन । पराजुली नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापति रहेको समयमा सन् २००६ मा दक्षिण कोरियामा आयोजित साउथ एशियन जर्नालिस्ट एसोसियसनको भेलामा नेपाली पत्रकारहरुको नेतृत्व गरि सहभागी भएको र नेपालको पत्रकारिता र प्रेस स्वतन्त्रता उल्लङ्घनको अवस्था बिषयमा उनले प्रस्तुत गरेको कार्यपत्रलाइ आधार मानेर १ हजार अमेरिकी डलरको पुरस्कार समेत प्राप्त गरेका थिए।

यस बाहेक उनले नेपाल पत्रकार महासंघको कास्की जिल्ला समितिबाट दयाशंकर पलिखे स्मृति सम्मान, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार र महासंघको केन्द्रीय समितिबाट पनि विभिन्न सम्मान प्राप्त गरेका छन् भने नेपाल प्रेस युनियन कास्कीबाट राष्ट्रिय पत्रकारिता पुरस्कार सहित विभिन्न सम्मान, युनियनको पर्बत शाखाबाट हरी-मखमली प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरष्कार सहित विभिन्न सम्मान प्राप्त गरेका छन् पराजुलीले पोखरा एक्प्रेस पत्रिकाद्वारा संचालित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार सहित नेपाल जेसिजको राष्ट्रिय प्रतिभा सम्मान, पराजुली समाजको राष्ट्रिय सम्मान लगाएतका विभिन्न सम्मान र पुरष्कार प्राप्त गरेका छन् ।

पराजुलीले गोरखापत्र संस्थान, कान्तिपुर पब्लिकेसन, नेपाल टेलीभिजन सहित विभिन्न स्थानीय र राष्ट्रिय छापा र बिध्युतिय संचार माध्यम बिशेष गरि पत्रपत्रिका र एफएम रेडियोमा आबद्द रहेर पत्रकारितामा सक्रिय रहँदै आएका थिए । हाल उनि पोखराबाट संचालित गुरुकुल खबर डट कम र सुनौलो एफएममा आबद्द छन ।

पछिल्लो समय पराजुली राजनीति संगै विभिन्न संस्थामा क्रियाशील छन् उनि नेपाली कांग्रेसको केन्द्रीय सूचना संचार तथा प्रचार विभागको सदस्य, स्कुल अफ डेमोक्रेसीको गण्डकी प्रदेशको अध्यक्ष, नेपाल ब्रिन्दाबन धाम केन्द्रीय समितिको उपाध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा छन।

नेपाल पत्रकार महासंघकास्की द्वारा आयोजित उक्त समारोहमा पोखराका स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको परिवारलाई संस्थागत सम्मान समेत प्रदान गरिएको थियो । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारी परिवारका सदस्य राजु भण्डारी र सरस्वती भण्डारीलाइ दोषल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारी र उनको परिवारको तर्फबाट पत्रकार महासंघ कास्कीसंग मिलेर गजेन्द्र स्मृति सृजनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार संचालन गर्न कोष स्थापना गरिएको छ । उक्त पुरस्कारबाट पोखरा र बाहिरका धेरै पत्रकारहरु पुरष्कृत भैसकेका छन।

स्वर्गीय भण्डारीका भाई राजु भण्डारीले महासंघको भवनमा राजु भण्डारी कक्ष निर्माणमा सहयोग गरेका छन्। भण्डारीले स्वदेशी आवाज, साघु, जनधारणा लगायत बिभिन्न संचार माध्यममा रहेर लामो समय पत्रकारितामा बिताएका छन्  काम गरिसकेका छन् उनले नेपाल पत्रकार महासंघ कास्कीको कोषध्यक्ष समेत रहेर काम गरेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीमा विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुले स्थापना गरेका अन्य  पुरस्कार र सम्मान रहेपनि पोखरा पत्रकारिता पुरस्कार तथा  सम्मान महासंघको आफ्नै पहलमा स्थापना गरिएको हो । महासंघका तत्कालिन अध्यक्ष माधव शर्माको पहलमा पोखरा र बाहिरका विभिन्न व्यक्ति र संस्थासंग सहयोग जुटाएर कोष स्थापना गरिएको हो ।

पोखरा पत्रकारिता सम्मान अर्पण समारोहमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताए । ‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मुलधारमा काम गर्ने पत्रकारहरुले अन्यलाई बुझाउन जरुरी छ,’ उनले भने , ‘सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आम जनतालाई बुझाउन सकिएको छैन् । यो पत्रकार र सरकारका लागि चूनौति हो ।’ यो भ्रम चिर्नका लागि साझा प्रयासको जरुरी रहेको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकाले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको समेत बताए । ‘हामीले आमसञ्चार विधेयक पारित गरिसकेका छौं । त्यसमा प्रेस रजिष्टारको कार्यालय पनि छ,’ उनले भने, ‘यो कार्यान्वयनमा गएपछि सरकारको खासै आवश्यकता पर्दैन् । पत्रकारिताका लागि जे गर्नुपर्छ विधेयकमा परिकल्पना गरिएको काम प्रेस रजिष्टार कार्यालयले नै गर्छ ।’ यो बाहेक पनि सरकारले गर्नुपर्ने काम गर्न आफू तयार रहेको पाण्डेको भनाइ थियो ।

सरकारको नीति तथा कार्यक्रम बनाउने क्रममा पनि पत्रकार महासंघसँग सहकार्य गरेको भन्दै उनले छलफलपछि लोककल्याणकारी विज्ञापनमा ५० प्रतिशत वृद्धि गरेको र पत्रकारको स्वास्थ्य विमा कार्यक्रम पनि ल्याएको उनले बताए । पत्रकारहरुका लागि फेलोसिप दिने भनेर २० लाख छुट्याएको जानकारी मुख्य मन्त्री पाण्डेले दिए ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व गंगाधर पराजुलीले स्वतन्त्रता र प्रजातन्त्रको नीति बाट प्रेरित भएर २०४९ सालबाट पत्रकारिता शुरु गरेको बताउदै स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिकोलागि भएका आन्दोलनमा पटक पटक जेलजीबन बिताएको र हिरासतमा पुगेको स्मरण गराए । स्वतन्त्रता प्राप्ति र जीबनयापनको लागि पत्रकारिता गर्ने क्रममा महासंघ लगायत बिभिन्न व्यक्ति र संस्थाबाट सम्मान प्राप्त भएकोमा उनले खुसि प्रकट गर्दै पत्रकारिता पेशा, संचारसंस्था र पत्रकारहरु सामु अहिले थुप्रै समस्या देखिएको र यसको समाधान संचारजगत र राज्यपक्ष मिलेर गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै अर्का सम्मानित व्यक्तित्व राजु भण्डारीले पत्रकारितामा देखिएको संकट कम गर्न सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै सरकारको जिम्मेवारी अझ बढी रहेको बताउदै संस्थागत रुपमा गरिएको सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारितामा देखिएको समस्या र चूनौति समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताए ।

पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकारिता सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउन र पत्रकारिता पेशाको मर्यादा जोगाउन सबै लाग्नुपर्ने बताइन ।

कार्यक्रमममा नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले सामाजिक संजाल र पत्रकारिता फरक हुन् भन्ने कुरा आमनागरिक लाई बुझाउन नसक्दा समग्र पत्रकारिता प्रति नै बिश्वासको संकट बढेको, मिडियाहरु र पत्रकारहरु पनि संकटमा रहेको कारण चुनौती बढिरहेको बताए ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले आफूहरु पत्रकारहरुको हकहितका पक्षमा काम गरिरहेको बताए । काम गर्ने समयमा केही कमजोरी भए आगामी दिनमा सच्याउँदै अघि बढ्ने उनले सुनाए ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं पत्रकार महासंघका सदस्यहरुलाई परेको समस्यामा सधैं साथमा रहेको र समस्या र चूनौतिका बिचमा पनि धेरै काम गरिरहेको बताइन । उनले कास्कीमा पत्रकारहरुबाट आएका  लिखित तथा मौखिक उजुरीका अन्य समस्या समाधानका लागि पत्रकार महासंघ कास्कीले कुनैपनि कसर बाँकी नराखेको जानकारी दिईन ।

कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दर्शन लामा, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर कास्कीका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, संसदीय पत्रकार संघ गण्डकीका अध्यक्ष भरत कोइराला लगायतले पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बरालले सम्मानित व्यक्तिहरुको बारेमा परिचय दिएका थिए । महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गरेका थिए ।

 

१७ चैत्र २०८०, शनिबार ११:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा