Play

सामुहिक गिरफ्तारीको माग गर्दै पत्रकारहरुद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

गुरुकुल खबर


पोखरा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति बर्तमान सरकार अनुदार बनेको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत कास्की लगायत बिभिन्न जिल्लाका पत्रकारहरुले सम्बन्धित जिल्लाको जिल्ला प्रशाशन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । महासंघको केन्द्रले तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार उनीहरुले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित सांकेतिक धर्ना दिएका हुन् ।

कास्की शाखाले आह्वान गरेको धर्नामा महासंघ कास्कीका अध्यक्ष माधव बरालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासविरुद्ध आन्दोलित हुनुपरेको बताए । समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजिएको र सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउने व्यक्तिलाई हालसम्म कारबाही नगरिएको भन्दै उनले विरोध जनाए ।

आन्दोलन गर्दा समेत सरकारले कुनै सुनुवाइ नगरेको र उल्टै मिडिया तथा पत्रकारमाथि ज्यादती गर्ने ढंगले सरकार अघि बढेको उनले बताए । ‘सांकेतिक रूपमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ढंगले जिल्ला प्रशासन कार्यालयमा हामीले धर्ना दिएका छौँ, आगामी दिनमा पनि हाम्रा चरणबद्ध आन्दोलनका कार्यक्रम जारी रहनेछन्,’ अध्यक्ष बरालले भने ।

सरकारको यस्ता गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदारता देखाएकाले महासंघ विरोधमा उत्रिनुपरेको अध्यक्ष बरालको भनाइ थियो । धर्ना कार्यक्रममा विभिन्न सञ्चारगृहसँग आबद्ध सञ्चारकर्मीहरुको सहभागिता थियो ।

यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेपको विरोध गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले सामूहिक गिरफ्तारीको चुनौतीसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। ‘पत्रकारहरूलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित निकालिएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो।

धर्नाका क्रममा पत्रकारहरूले सञ्चारमाध्यमको प्रवेशद्वारमा सवारीसाधन तेर्साएर आवागमन अवरुद्ध गर्ने, मिडिया हाउसमा धरपकड गर्ने तथा पत्रकारलाई गिरफ्तार गर्ने कार्यप्रति कडा आपत्ति जनाएका थिए। त्यसैगरी लोककल्याणकारी विज्ञापनको रकम कटौती, श्रमजीवी पत्रकारलाई निष्कासन र सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने प्रवृत्तिको अन्त्य गर्न माग गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले प्रलोभन र धम्कीका अगाडि स्वतन्त्र पत्रकारिताको मूल्य र मान्यताबाट विचलित नहुन पत्रकारहरूलाई आग्रह गरे। उनले प्रेस स्वतन्त्रता पत्रकारको मात्र नभई समग्र लोकतन्त्र र नागरिकको अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै भने, “हामीलाई स्वतन्त्र प्रेस चाहिन्छ, नियन्त्रणमुखी प्रेस होइन। हामीलाई जवाफदेही राज्य चाहिन्छ, प्रश्नदेखि डराउने राज्य होइन। हामीलाई संविधानको रक्षा चाहिन्छ, संविधानमा लेखिएका अधिकारको व्यवहारमै कार्यान्वयन चाहिन्छ।”

विरोध कार्यक्रममा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका जायज माग तत्काल पूरा गर’ र ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लगायतका नारासहित प्रतीकात्मक सामूहिक गिरफ्तारीको चुनौती प्रस्तुत गरिएको थियो।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, रोसन लामिछाने एवं पूर्वअध्यक्षहरू ओमप्रकाश शर्मा र प्रकाश डोटेललगायत जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। धर्नामार्फत महासंघले राज्यका निकायलाई प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न, सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न, पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गर्न र महासंघका माग तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।

१० मंसिर २०८३, बिहीबार ०८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा