काठमाडौँ, गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एक तिहाई महिला पुर्याउन ११ जना मनोनीत गरिएको सूची सहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो । २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जनाले अपुग भएपछि मनोनित गरेको सूची आयोगमा पठाइएको हो ।
थापा नेतृत्वको कांग्रेसले १५ औं महाधिबेशन सम्पन्न गरेपनि निर्बाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमिति अधाबधिक हुन सकेको थिएन। आयोगले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला नपुगेको समेत कारण देखाएर अधाबधिक नगरेपछि ११ जना महिलालाई केन्द्रीय समितिको सदस्यमा मनोनित गरिने जानकारी आयोगलाई गराइएको थियो। सोही आधारमा आज बुधबार गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्बाचन आयोगमा अधाबधिक भएको छ ।
महाधिवेशनमा प्रतिस्पर्धा नगरेका ११ जनालाई मनोनीत गरिएको छ । मनोनीत भएकाहरूमा सुजाता कोइराला, इश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन, निपा चोख्याल लगायत छन् । अन्य ५ जनाको नाम भने खुलेको छैन । कोइरालालाई विशेष महाधिवेशन पछि पनि मनोनीत केन्द्रीय सदस्य बनाइएको थियो ।
१५ औं महाधिवेशन नजिक संस्थापनतर्फ लाग्ने नेताहरूमध्ये इश्वरी न्यौपाने पनि थिइन् । त्यसबेला न्यौपानेले सभापति थापाको आग्रह अनुसार महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् । विशेष महाधिवेशन पछि चन्दा चौधरी भने संस्थापन पक्षमा लागेकी थिइन् ।
केन्द्रीय सदस्यमा मनोनित हुने लक्ष्मी पाण्डे गाउँपालिका महासंघको राष्ट्रिय अध्यक्ष समेत हुन् । उनी नवलपुरस्थित हुप्सेकोट गाउँपालिकाको अध्यक्ष हुन् । रौतहटबाट प्रतिनिधि सभामा समाुनपातिक सांसद रहेकी साहजान खातुन पनि केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । विशेष महाधिवेशनको पक्षमा सक्रिय भएर लागेकी कैलालीकी महिला नेतृ निपा चोख्याल केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् ।
केन्द्रीय समिति २९७ जनाको हुने संशोधित विधानको व्यवस्था छ । सभापतिले ६६ जना मनोनीत गर्ने विधानको व्यवस्था गरिएको छ । सोही ब्यबस्था अनुरुp र ३३ प्रतिशत महिलाको संख्या पुर्याउन उनीहरुलाई मनोनित गरिएको बुझिएको छ ।













