पोखरा, गरिमा विकास बैंक लिमिटेडको पोखरामा सोमबार सम्पन्न २० औँ वार्षिक साधारण सभाले संस्थाका सेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ। हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको जनाइएको छ ।
साधारण सभाले बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात पनि पारित गरेको छ । यसैगरी सोही आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र इक्विटीमा भएको परिवर्तन लगायतका अनुसूचीहरू पनि सभाबाट स्वीकृत भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव आचार्यले गुरुकुल खबरलाई जानकारी दिए ।
सभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गरेको छ । आइएसओ ९००१ः२०१५ र आइएसओ २७००१ः२०२२ मान्यता प्राप्त गरिमा बिकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालय, ५१ एटिएम र आधुनिक डिजिटल बैंकिङ मार्फत आंफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ । बैंकले ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।













