काठमाडौं, नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानको शनिबार बिहान सम्पन्न मतगणनामा ६ हजार ५८४ मत प्राप्त गरी थापा विजयी भएका हुन्। निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे। कुल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो। विसं २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दापढ्दै राजनीतिमा होमिएका थापा झन्डै चार दशकपछि पार्टीको नेतृत्वमा पुगेका हुन्।
नवनिर्वाचित सभापति थापाले विसं २०४६ मा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए। विसं २०४८ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौँ वडाध्यक्ष/वडा नम्बर ३३ को सचिव बनेका उनी विसं २०५१ मा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, विसं २०५३ मा सचिव र विसं २०५५ मा सभापति निर्वाचित भएका थिए।
विसं २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा विसं २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष र विसं २०५९ मा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याएका थिए। विसं २०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो।
त्यतिबेला अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो। विसं २०६२/६३ को जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रका पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए। विसं २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बनेका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहेका थिए।
विसं २०७० मा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि उनले संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याए। विसं २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेले। विसं २०७३ मा स्वास्थ्यमन्त्री बनेका थापाले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए। विसं २०७४ र २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आएका थिए।
विसं २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आएका थिए। विसं २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्ने भन्दै अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उनले विशेष महाधिवेशन आह्वान गरेका थिए। सो विशेष महाधिवेशनबाट उनी सर्वसम्मत सभापति चुनिएका थिए।
विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिएका थापाले नौ महिनापछि पार्टीको १५ औँ महाधिवेशन गराएर पुनः सभापति पदमा निर्वाचित भएका हुन्। राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आएका थिए। थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन।













