पोखरा, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका छन्। मङ्गलबार बसेको न्याय परिषद्को बैठकले लामो समयदेखि उच्च अदालतमा वरिष्ठताको अग्रपङ्क्तिमा रहेका उनलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो। न्याय परिषद्को यो निर्णयसँगै न्यायिक वृत्तमा बागचन्दले ढिलै भए पनि न्याय पाएको चर्चा सुरु भएको छ।
यसअघि सर्वोच्च अदालतमा पटक-पटक न्यायाधीश नियुक्ति हुँदा वरिष्ठतामा अगाडि रहेका बागचन्दलाई पन्छाएर उनीभन्दा कनिष्ठ (जुनियर) न्यायाधीशहरूलाई पदोन्नति गरिएको थियो। आफूभन्दा पछि उच्च अदालत प्रवेश गरेका व्यक्तिहरू सर्वोच्च पुगिसक्दा पनि उनी भने लामो समयसम्म उच्च अदालतमै सीमित हुनुपरेको थियो।
डा. बागचन्द विसं २०६६ भदौ २१ गते तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) को न्यायाधीश नियुक्त भएका थिए। हाल सर्वोच्च अदालतकी न्यायाधीश रहेकी सारंगा सुवेदी र बागचन्द एकै दिन उच्च अदालतको न्यायाधीश बनेका थिए। तर सुवेदी विसं २०८० पुस ४ गते नै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भइसक्दा पनि बागचन्दको हकमा भने न्याय परिषद्ले कुनै निर्णय गरेको थिएन। लामो समय उच्च अदालतको न्यायाधीशका रूपमा काम गरेपछि उनी विसं २०८१ साउन २८ गते मात्रै उच्च अदालत पोखराको मुख्य न्यायाधीश बनेका थिए।
मुख्य न्यायाधीशहरूको रोलक्रममा समेत उनी वरिष्ठतामा अगाडि थिए। उनीभन्दा निकै पछि उच्च अदालतमा नियुक्त भएका अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, नित्यानन्द पाण्डेय, श्रीकान्त पौडेल र शान्तिसिंह थापालगायतका न्यायाधीशहरू यसअघि नै सर्वोच्च अदालत पुगिसकेका छन्।













