काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा पेस गरेको कार्यतालिकालाई निर्वाचन आयोगले अभिलेखमा राखेको छ। देउवा नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज १३ गते आयोगमा पत्र पठाउँदै महाधिवेशनको प्रक्रियाबारे जानकारी गराएको थियो ।
उक्त पत्र प्राप्त भएसँगै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले सो कार्यतालिकालाई बिहीबार आयोगको अभिलेखमा राख्न र सोही बमोजिम फाइल खडा गर्न तोक आदेश दिएका हुन्। देउवा समूहले पेस गरेको कार्यतालिका अनुसार नेपाली मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको उल्लेख छ।
सोही महाधिवेशनको तयारी स्वरूप देउवा समूहले असोज १५ गते वडा अधिवेशनबाट प्रक्रिया सुरु गरी चरणबद्ध रूपमा तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका आयोगलाई बुझाएको थियो । पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि (विधान बमोजिम थपिएको अवधि समेत) आगामी मंसिर मसान्तमा सकिन लागेकाले विधानको व्यवस्था अनुसार नयाँ महाधिवेशनको मिति तय गरिएको उल्लेख थियो।
यसैगरी पत्रमा नेपाली कांग्रेसको आन्तरिक विवाद र निर्वाचन आयोगको अघिल्लो निर्णय विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको विषयलाई पनि विशेष रूपमा उठाइएको छ। उक्त मुद्दामा सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भई सुनुवाइको प्रक्रियामा रहेको व्यहोरा आयोगलाई अवगत गराउँदै महाधिवेशन सम्पन्न भएपछि निर्वाचित नयाँ पदाधिकारीहरूको नामावली कानुन बमोजिम अद्यावधिक गर्न पुनः आयोगमा पेस गरिने देउवा पक्षले जनाएको छ।
संस्थापनले असोज १८ देखि राजधानीमा महाधिवेशन गर्न लागेको बेला देउवा समूहको पत्र पनि आयोगले अभिलेखमा राखेको हो।














