पोखरा, नेपाली कांग्रेसको जारी १५ औं महाधिबेशन अन्तर्गत प्रदेश सभा क्षेत्र र निर्बाचन क्षेत्रस्तरीय अधिबेशनको क्रममा कास्की जिल्लामा नेताहरुले बनाउने प्यानल वा गुटको आतंकका बढेको भन्दै कार्यकर्ताहरुले चिन्ता प्रकट गर्न थालेका छन। बिशेष गरि क्षेत्रिय समितिको पदाधिकारी र केन्द्रीय महाधिबेशन प्रतिनिधिमा आंफ्नो अनुकुलका कार्यकर्तालाई जिताउन कांग्रेसका केन्द्रिय देखि जिल्लास्तरका नेताहरु नै गुट निर्माणमा सक्रिय बनेका छन । नेताहरुको अनाबश्यक चलखेलले पार्टी अझ कमजोर बन्ने र स्थानीय एबम प्रदेश तहको चुनाब कांग्रेसको लागि चुनौतीपूर्ण बन्ने सम्भावना बढेको छ।
बिशेष महाधिबेशन वा गगन थापाको पक्षमा लागेर कास्कीमा ५ जनाले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएको छन भने गण्डकी प्रदेश समितिका अधिकांश पदाधिकारी, कास्की जिल्ला समितिका पदाधिकारी एबम सदस्य र क्षेत्रिय समिति र बिभिन्न पालिकाका समितिका पदाधिकारीहरु पनि सबैजसो गगन थापाको समुहमा जोडिएका छन। बिगतमा पार्टीभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल वा शेखर कोइरालाको नाममा जिल्ला तहमा पनि कार्यकर्ताहरु विभाजित देखिन्थे तर यस पटक केन्द्रमा गगन थापाकै पक्षमा रहने अनि कांग्रेसमा कुनै गुट छैन भन्ने नेताहरुले नै जिल्ला, क्षेत्र र पालिकामा भने आंफ्नो अनुकुलका गुट बनाउने अभ्यास शुरु गरेर तल्लो तहमा पनि कार्यकर्तामा बिबादको बिजारोपण गर्न थालेका छन।
पार्टीको माथिल्लो तहका नेताहरुले आँफुलाई महाधिबेशन प्रतिनिधि जित्न सजिलो होस् र कार्यकर्ताहरु आंफ्नो नजिक रहुन भन्ने उद्देश्यका साथ तल्लो तहका कार्यकर्ताहरुलाई महत्वाकाक्षा जगाउंदै एकापसमा भिडाउने गरेको बुझिएको छ। केन्द्रीय समितिको सदस्य रहेका कास्कीका ५ जना नेताहरु जिबन परियार, देबराज चालिसे, कृष्णबहादुर केसी, तिलक रानाभाट र शारदा पौडेल सबैजना अहिले गगन थापाको समुहमा रहेको भएपनि जिल्लामा भने उनीहरु विभाजित बन्दै छुट्टाछुट्टै व्यक्तिअनुसारका प्यानल बनाएर चुनाबी दौडमा लागेका छन।
श्रोतका अनुसार कास्कीको क्षेत्र न. १ मा केन्द्रिय सदस्य कृष्ण केसी, क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने, सुदिप मोहन भट्टराई लगायतको एउटा गुट र अर्का केन्द्रीय सदस्य जिबन परियार, पुर्वमन्त्री यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र दिपक माइला लगायतका नेताहरुको अर्को गुट सक्रिय बनेको छ। उनीहरुले तल्लो तहसम्म कार्यकर्ताहरुको महत्वाकाक्षा जगाएको कारण क्षेत्र न. १ मा ४ जनाले क्षेत्रिय सभापति पदमा उमेदवार बन्ने घोषणा गरेर चुनाबी दौडमा लागेका छन ।
जसमध्ये कास्की क्षेत्र न. १ को क्षेत्रिय सभापति पदका आकांक्षीहरु मध्ये सरोज केसीको पक्षमा केन्द्रीय सदस्य कृष्ण केसी, क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने र सुदिपमोहन भट्टराई लगायतका नेता देखिएका छन भने अर्का आकांक्षी नरेन्द्र थापाको पक्षमा अर्का केन्द्रीय सदस्य जिबन परियार, पुर्वमन्त्री यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति किशोरदत्त बराल लगायतका नेताहरु देखिएको बताइन्छ। यसैगरी सभापतिको दौडमा रहेका ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठलाई पनि जिल्ला सभापति बराल र केन्द्रीय सदस्य परियार लगायतका केहि नेताले शुरुमा अगाडी बढ्न सल्लाह दिएको तर अहिले उमेदवारको ब्यबस्थापन गर्न हम्मेहम्मे परेको छ। शुरुमा कार्यकर्तालाई हौसाएर आंफ्नो बनाउन खोज्ने तर अन्तिम अबस्थामा धोका दिने प्रवृति अन्यत्र जस्तै यहाँ पनि देखिएको भन्दै कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन ।
कास्की क्षेत्र न. २ मा पनि केन्द्रीय नेताको कारण तल्लो तहमा बिबाद र गुट झाँगिने अबस्था देखिएको छ। त्यस क्षेत्रको क्षेत्रिय सभापति बन्न ७/८ जनाले आकांक्षा प्रकट गरेर उमेदवारी सार्बजनिक गरेको भएपनि नेताहरुको लिस्टमा पर्न नसकेपछि उनीहरुमध्ये धेरैले सामाजिक संजालमा नेताहरुलाई नै गाली गर्दै उमेदवारी फिर्ता गर्ने वा अन्य पदमा सार्ने क्रम जारी छ। कास्की -२ मा नेपाली काँग्रेसका केन्द्रीय प्रबक्ता देबराज चालिसेले पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासंग मिलेर क्षेत्रिय सभापति र महाधिबेशन प्रतिनिधिका उमेदवारको एउटा प्यानल तयार गरेको बुझिएको छ । गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापा र बिजयराज आचार्य लगायत मिलेर अर्को प्यानल तयार गरेको चर्चा चलिरहेको छ।
प्यानल तयार गर्ने प्रक्रियामा संलग्न कास्की -२ का नेताहरु केन्द्रमा गगन थापाको समुहमा जोडिएका भएपनि जिल्लामा भने उनीहरुको बिचमा चर्को गुटबन्दी कायम छ। जसका कारण कांग्रेसको संगठन अझ कमजोर बन्दै जाने अबस्था सिर्जना भएको छ। यस क्षेत्रबाट देबराज चालिसे र शुक्रराज शर्मा सहितका केन्द्रीय नेताले नबिन बराललाई र बिन्दु थापा र बिजय आचार्य सहितको नेताले शुभाष सिग्देललाई समर्थन गर्ने निर्णय गरेको चर्चा चलेसंगे अन्य आकांक्षीहरुले बिभिन्न प्रतिक्रिया सार्बजनिक गरेका हुन।
यसै क्रममा सोही क्षेत्रबाट सभापति पदमा उमेदवारी सार्बजनिक गरेका दिनेश आचार्यले केहि नेताहरुको कारण आँफुको उमेदवारी परिवर्तन हुन पुगेको स्पष्ट पारेका छन। “कांग्रेसको १५ औं महाधिवेशनमा समयमै यहासँग मन र मत मागौंला भन्ने थियो । म क्षेत्रिय सभापतिको आकांक्षी भएको हुँदा अन्तिम समयसम्म हामी सबै मिलि उचित सहमति कायम गरी उपयुक्त विकल्प निस्केला भन्ने थियो, तर केही नेताका कारण यो संभव भएन। हाललाई खुल्लातर्फबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिको उम्मेदवार भई मत माग्दैछु ।” आचार्यले सामाजिक संजाल फेसबुकमा लेखेका छन।
सभापति पदका अर्का आकांक्षी टुबराज बाँस्तोलाले पनि सभापतिको उमेदवार बन्ने भन्दै सामाजिक संजालमा धेरै प्रचार गरे । तर, क्षेत्र न.२ मा चलखेल गर्ने नेताहरुले उनलाई उमेदवार बनाउन चाहेनन त्यसपछि उनि अहिले मौन जस्तै बसेका छन। तर अर्का आकांक्षी देबराज आचार्य, देबकृष्ण पराजुली लगायतले भने आंफ्नो उमेदवारीलाई नेताहरुको समर्थन नहुँदा पनि कायम राख्दै कार्यकर्ता समक्ष पुगिरहेका छन।
पराजुलीले पनि केन्द्रीय नेताहरु प्रति झटारो हान्दै फेसबुकमा लेखेका छन “म कसैको गोजीको उमेदवार होइन, बरु यहाँहरु कै खोजीको उमेदवार हुँ, अनि म पाईको होइन तपाईको साझा उमेदवार ! कसैको निगाहमा होइन पार्टीको जग र जिबनलाई इकाई सभापति, क्षेत्रीय प्रतिनिधि र भुईंतहका नेताहरुको प्रतिनिधित्व गर्दै आफ्नै आत्मबिश्वासमा कास्की -२ को सभापति पदमा प्रस्तुत भएको छु, सदा झै माया र मतको अपेक्षा गर्दछु।” पराजुलीको यो अभिव्यक्तिले पनि नेताहरुले गोजीबाट उमेदवार निकाल्ने गरेको तथ्यलाई उजागर गरेको छ।
यसैगरी सोही क्षेत्रको एक प्रदेशको सभापतिमा उमेदवारी सार्बजनिक गरेका सुबर्ण केसीले पनि केन्द्रिय नेताहरुले अनाबश्यक चलखेल गरेको आरोप लगाउंदै क्षमतावान व्यक्तिलाई संगठनको जिम्मेवारीमा पुर्याउनुपर्नेमा आंफ्नो अनुकुलका मान्छेलाई मात्र जिम्मेवारीमा पठाउन खोज्ने प्रवृति बढेको बताउँछन। कास्की क्षेत्र न. २ मा नेपाली काँग्रेसलाई कमजोर बनाउने नेताको नाम अधिवेशनपछि प्रमाण सहित सार्वजनिक गरिने केसीले बताएका छन। उनि हाल प्रदेश समितिको सचिब हुन्।
कास्की -३ मा पनि आँफुलाई गगन थापा समूहको नेता भनेर चिनिन चाहनेहरुले कांग्रेसको संगठन कमजोर बनाउने गरि प्यानल निर्माण गर्ने र उमेदवारी तय गर्ने प्रक्रियालाई निरन्तरता दिएका छन । अघिल्लो चुनाबमा संघिय संसद्को उमेदवार बनेपछि गगन थापासंग जोडिएका क्षेत्रिय सभापति मनोज गुरुङ र आँफुलाई गगन थापाको निकट बताउने जिल्ला उपसभापति युवराज कुँवरले आँफु अनुकुलका कार्यकर्ता राखेर छुट्टाछुट्टै प्यानल बनाएपछि आम कार्यकर्तामा अन्योल छाएको छ। गुरुङको समुहमा केन्द्रीय सदस्य शारदा पौडेल र महिला संघकी जिल्ला अध्यक्ष मिना पाण्डे पनि जोडिएका छन भने कुँवरको समुहमा प्रदेश सांसद प्रकाश बराल लगायतका केहि जोडिएका छन।
गुरुङ र कुँवरले संगठनमा क्रियाशील साथिहरुलाई फुटाउने र आंफ्ना आज्ञाकारीहरुलाई मात्र पद दिलाउने प्रयास गरेर तल्लो तहसम्म गुटको आतंक बिस्तार गरेको बताइन्छ। सधैजसो संगै स्कुटर चढेर हिंड्ने दुईजनालाई फुटाएर आंफ्नो उमेदवार देखाउने उनीहरुको प्रवृतिले कांग्रेसको संगठन झन् कमजोर बन्ने देखिएको छ। कास्की -३ को प्रदेश सभापति पदमा उमेदवारी घोषणा गरेका लक्ष्मीप्रसाद पौडेल र बिजय गुरुङ यस अगाडी सदैब एकै मोर्चामा रहने गरेकोमा अहिले नेताहरुको कारण उनीहरु एउटा पदमा लड्नुपर्ने भएको छ।
क्षेत्रको सचिबका उमेदवार शितल अधिकारी र महेश तिमिल्सिना पनि स्थानीय गुटमा रमाउने नेताको कारण विभाजित हुन पुगेका छन। कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्र बिजुक्छे भन्छन, ‘मेरो वार्डमा सधैं संगै काम गर्ने गौतम बिजुक्छे र रामेश्वर मल्ललाई पनि यसैगरी विभाजित बन्न बाध्य बनाइयो। जसका कारण वडाको संगठनमा मतभेद र विभाजनको असर पर्ने निश्चित छ।’ नेताहरुले गुट आतंक सिर्जना गरेको भन्दै क्षेत्रिय सभापतिको उमेदवारी घोषणा गरेका आइन्दल गुरुङले अन्तिम अबस्थामा तिनै नेताहरुको कारण महाधिबेशन प्रतिनिधि पदमा चुनाब लड्नुपर्ने अबस्था आएको बताएका छन।
कतिपय नेता कार्यकर्ताहरुलाई आंफ्नो प्यानलमा राख्छौं भनेर प्रतिबद्दता गर्नेहरु नै बिभिन्न स्वार्थमा जोडिएपछि कार्यकर्ताको योग्यता र क्षमतालाइ समेत वास्ता नगर्ने प्रवृति उनीहरुमा देखिएको छ। यस्तो प्रवृति प्रति महाधिबेशन प्रतिनिधिका आकांक्षी राजबहादुर गुरुङले समेत चिन्ता प्रकट गरे। गुटको आतंक बढेकै कारण कास्की -३ का पुराना नेता आईबहादुर गुरुंगले महाधिबेशन प्रतिनिधि पदमा उमेदवारी दिन चाहना मरेको बताए। ‘साथीहरुले पार्टीलाई एकताबद्द र बलियो बनाउने भन्दा पनि आँफु र आंफ्नो गुटलाई मात्र बलियो बनाउन खोजेको देखिएपछि उमेदवार बन्न समेत मन लागेको छैन।’ गुरुङले भने।
पटक पटक गुटको राजनीतिमा सक्रिय रहँदै आएकाहरुको क्रियाकलापप्रति उनीहरुकै समुहमा रहेका केहि कार्यकर्ताले समेत आपत्ति जनाउन थालेका छन। जसका कारण चुनाब लड्नेहरुमा ‘ब्याक फायर’को अबस्था आउनसक्ने पनि देखिन्छ। कुँवरको समूहसंग नजिक रहँदै आएका पोखरा -६ का पुर्व सभापति एबम पोखरा महानगरको सभापति पदमा पराजित सन्तोष पौडेलले फेसबुकमा प्रतिक्रिया सार्बजनिक गर्दै पटक पटक अवसर पाएकालाई किन निरन्तरता दिने भन्दै नेतालाई प्रश्न गरेका छन ।
उनले भनेका छन “हामी सबैले आफैंलाई एउटा सरल प्रश्न सोधौँ—पहिले नै धेरै अवसर पाइसकेकालाई निरन्तरता दिने कि अहिलेसम्म अवसर नपाएको व्यक्तिको क्षमता पनि परीक्षण गर्ने ? अवसर सधैं एउटै ठाउँमा दोहोरिनुपर्छ कि नयाँ नेतृत्व क्षमतालाई पनि परीक्षण गर्ने ठाउँ दिनुपर्छ ? निर्णय तपाईंहरूको हो। विवेक पनि तपाईंहरूको हो। संगठनको भविष्य पनि हामी सबैको साझा जिम्मेवारी हो। व्यक्तिभन्दा संगठन ठूलो।पदभन्दा जिम्मेवारी ठूलो। प्रस्तुतिभन्दा विश्वास ठूलो।”
उनले कास्की -३ को क्षेत्रिय सभापतिका उमेदवार प्रकाश बराल र बिष्णुबहादुर क्षेत्री दुबैको तस्बिर संगै राखेर माथिको प्रश्न गरेका हुन। बराल अहिले गण्डकी प्रदेशको सांसद एबम कांग्रेसको मुख्य सचेतकको भूमिकामा छन भने क्षत्री कांग्रेसको महाधिबेशन प्रतिनिधिको भूमिकामा मात्र छन।
यसैबीच, नेपाली काँग्रेसको राजनीतिमा सक्रिय युवा जयप्रकाश थापा ‘पप्पु’ले यस्तै अबस्था रहेमा नेपाली काँग्रेस सुध्रिन नसक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन। उनले प्रश्न गर्दै आंफ्नो फेसबुकमा लेखेका छन ‘बिगतमा काँग्रेस पार्टीभित्र परिवारवाद, नातावाद, सम्बन्धवाद समेतका बिभिन्न बादहरु चरम हावी भएको भन्दै रूपान्तरित काँग्रेस बनाइएको भन्ने उद्घोष गरियो। तर, आज रूपान्तरणपछिको १५ औं महाधिवेशनमा पुनः चरम गुटबन्दी, पत्नीवाद, पुत्रवाद र सम्बन्धवादको प्रयोग भइरहेको छ। खै कसरी सुध्रन्छ, नेपाली काँग्रेस पार्टी ?













