पोखरा, पोखराको लेकसाइड क्षेत्रका रेस्टुरेन्ट ब्यबसायीहरुको संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले विश्व पर्यटन दिवसको अवसर पारेर मिनी स्ट्रिट फेस्टिभल आयोजना गर्ने भएको छ पोखराको लेकसाइड क्षेत्रमा यहि असोज ११ (२७ सेप्टेम्बर २०२६) को दिन मिनी स्ट्रिट फेस्टिभल आयोजना गर्ने लागिएको जानकारी रेबान पोखराले पत्रकार सम्मेलनको आयोजना गरेर दिएको छ।
उक्त फेस्टिभल ‘पर्यटनको पुनःसंरचनाका लागि डिजिटल एजेन्डा र आर्टिफिसियल इन्टेलिजन्स’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको उक्त फेस्टिभलको प्रबर्द्दक नेपाल पर्यटन बोर्ड रहेको रेबान पोखराले जनाएको छ। स्थानीय संस्कृति, सम्पदा र समुदायको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टिभलमा आउने पर्यटक तथा पाहुनाका लागि निःशुल्क भोजनको व्यवस्था समेत गरिएको आयोजकको भनाई छ।
उक्त कार्यक्रम अनुसार आइतबार दिउँसो ४ बजे लेकसाइडको अम्बोटमा औपचारिक कार्यक्रम हुनेछ। लेकसाइडको स्ट्रिट नम्बर ४ र ५ को बिचमा रहेको अम्बोटमा शास्त्रीय संगीत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिने र सेन्टर पोइन्ट चोकस्थित चौतारामा साझ ५ बजे गन्धर्व संगीत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलन मार्फत रेबान पोखराका अध्यक्ष बसन्त गौतमले फेस्टिभलमा सहभागि हुन सबैलाई आग्रह गरेका छन ‘नेपाल खुला छ’ भन्ने सकारात्मक सन्देशसहित पर्यटन, कला, संस्कृति, संगीत र आतिथ्यताको उत्सवमा सहभागी हुन स्वदेशी र बिदेशी पाहुनालाई आव्हान गरिएको उनको भनाई छ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताउंदै यस वर्ष विश्व पर्यटन दिवसलाई एक दिनमा मात्रै सीमित नगरी पर्यटन सप्ताहकै रूपमा अघि बढाएका जानकारी दिए । सेप्टेम्बर २३ बाट पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु र विभिन्न कार्यक्रममार्फत पोखरालाई थप चलायमान बनाउनु त्यसै अभियानको हिस्सा हो ।”
उनले डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर पोखरा र नेपालका पर्यटन गन्तव्यलाई विश्वसामु नयाँ ढंगले प्रचार गर्नु पर्नेमा जोड दिए। अहिलेको परिस्थितिमा नेपाल सुरक्षित छ, पर्यटन चलिरहेको छ र पोखरा पर्यटकका लागि तयार छ भन्ने सन्देश विश्व बजारमा पुर्याउन जरुरी रहेको उनको भनाइ छ।
नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत जयशक्ति सराफले पर्यटन प्रबर्द्दनको लागि स्थानीयस्तरमा हुने कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए। उनले पोखराको पर्यटनलाई नयाँ पुस्ता, डिजिटल माध्यम र नयाँ प्रविधिसँग जोड्दै अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा पु¥याउनुपर्ने धारणा राखे।
कार्यक्रमले पोखराको मौलिक कला–संस्कृति, स्थानीय खानाका परिकार, आतिथ्य तथा पर्यटन व्यवसायलाई पर्यटकमाझ प्रस्तुत गर्दै पर्यटनको मुख्य सिजन सुरु हुन लागेको समयमा पोखरालाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको महासचिव विरेन्द्र शेरचनले जानकारी दिए।













