Play

पोखराबाट छुट्ने रात्रीकालिन एबम ग्रामिण क्षेत्रमा चल्ने बससेवा बन्द गर्ने विपद ब्यबस्थापन समितिको निर्णय

पदयात्रा बन्द गर्ने, साहसिक खेल खेल्दा, लामो र छोटो दुरीको यात्रा गर्न एबम फेवातालमा डुंगा शयर गर्दा मौसमको पुर्व सुचना लिन आग्रह


गुरुकुल खबर


पोखरा, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार गण्डकी प्रदेशको कास्की जिल्ला लगायत देशका विभिन्न भागमा उच्च भारी वर्षाको सम्भावना देखिएका भन्दै सम्भावित विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले बिभिन्न निर्णयहरु गरेको छ। सम्भावित बर्षाको कारण हुनसक्ने क्षतीको न्यूनीकरणको लागि कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रुपमा बन्द गर्ने र दिउँसो ४ बजेपछि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरु चल्न नदिने निर्णय समितिले गरेको छ।

पर्यटन क्षेत्रमा पर्नसक्ने जोखिमलाई ध्यानमा राख्दै भारी वर्षाको अवधिभर पदयात्रा पूर्ण रुपमा बन्द गराउने र पदयात्रामा गएका पर्यटकहरुलाई सुरक्षित स्थानमा फर्कन सूचना प्रवाह गर्ने निर्णय समेत गरिएको छ। प्याराग्लाइडिङ, बन्जी जम्प, कायकिङ र जिपलाइन जस्ता साहसिक खेलहरु तथा फेवाताल र बेगनासतालमा सञ्चालित डुंगा, सर्फिङ र कायकिङ सेवा समेत खराब मौसमको जानकारी पाउनासाथ बन्द गर्न एबम  मौसमको पूर्वसूचना र सडकको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न सर्बसाधारणलाई आग्रह गरिएको छ।

‘विगतको निर्णय कार्यान्वयनको समीक्षा गर्दै भारी वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सबै विषयगत निकाय र संघसंस्थालाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेका छौं,’ बैठकका निर्णयबारे जानकारी गराउँदै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले भने। स्थानीय तहहरुलाई नदी तटीय र बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुमा सूचना प्रवाह गर्न र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न भनिएको छ। स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र, स्वास्थ्य चौकी, डोजर र जेसिबी तयारी अवस्थामा राख्न तथा जोखिम मूल्यांकन गरी विद्यालयहरु बन्द गराउन सक्ने अधिकार स्थानीय तहलाई दिइएको छ। सुरक्षा निकायहरुलाई जनशक्ति र खोज उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन र नियमित कमान्ड पोष्ट बस्न निर्देशन दिइएको छ।

स्वास्थ्य क्षेत्रतर्फ एम्बुलेन्स र शववाहनसहित डाक्टर र नर्सहरुलाई स्ट्यान्डबाई राख्ने तथा हेलिकप्टर सेवा प्रदायक संस्थालाई तत्काल उडान गर्न सक्ने गरी तयारी अवस्थामा रहन भनिएको छ। सडक डिभिजन र हेभी इक्युपमेन्ट डिभिजनलाई चालकसहित मेशिनरी औजार तयारी हालतमा राख्न र रेडक्रस तथा गैरसरकारी संस्थाहरुलाई राहत सामग्री व्यवस्थापन गर्न भनिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार बसेको बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको अध्यक्षता रहेको थियो। बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, रुपा गाउँपालिकाका उपाध्यक्ष लालशोभा गुरुङ लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैठकको निर्णय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको जानकारी दिए ।

वर्षा र विपद् जोखिमलाई ध्यानमा राखी सेती सिँचाइको नहरमा जाने पानी सेती नदीमै डाइभर्ट गर्ने निर्णय गरिएको छ। बाढीले रूपा गाउँपालिका वडा नम्बर ५ सुढेला र पोखरा महानगरपालिका वडा नम्बर ३२ मालेपाटन जोड्ने झोलुंगे पुल बगाएकाले पुनः निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय समेत भएको छ।

८ आश्विन २०८३, बिहीबार १६:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा