पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिकामा सम्पन्न नेपाली कांग्रेसको नगर अधिवेशनबाट कडा प्रतिस्पर्धाका बीचमा पदमराज गुरुङ सभापति पदमा निर्वाचित भएका छन् । सभापतिमा बिजयी गुरुंगले २६९ र उनका निकटतम प्रतिद्वन्दी बोधराज कुँवरले २६६ मत प्राप्त गरेका थिए दुइ जनाको बिचमा ३ मतको अन्तरले हारजीत भएकोले निर्बाचनको परिणामलाई धेरैले रोचक मानेका थिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार नगर अधिवेशनमा ५ सय ६० मतदाता रहेकामा ५ सय ४२ मत खसेको थियो।निर्बाचनको परिणाम अनुसार समितिका अन्य पदहरूमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो । दुई उपसभापति मध्ये महिला उपसभापतिमा जुनु थापाले ३ सय १५ मत र खुल्ला उपसभापतिमा यज्ञप्रसाद अधिकारीले २ सय ७७ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका अन्य प्रतिस्पर्धीहरू जगदिश पाठकले २ सय ३० र सीता ढुंगाना अधिकारीले २ सय १४ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिव पदमा हुमनाथ अर्याल २ सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बुद्धिसागर गैह्रेले २ सय ५३ मत प्राप्त गरेका थिए । यो पदमा पनि मात्र १ मतको अन्तरले हारजित भएको छ । सहसचिव पदतर्फ एकनारायण कोइराला २ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी विष्णुबहादुर खवासले २३४ मत प्राप्त गरेका थिए ।
यसैगरि स्याङ्जाको पुतलीबजार नगरपालिकामा सम्पन्न नेपाली कांग्रेसको नगर अधिवेशनको सभापति पदमा सुरजकुमार अधिकारी विजयी भएका छन् । ४ सय ९६ मतदाता रहेकोमा मतदानमा ४ सय ५७ मत खसेको थियो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा सुरजकुमार अधिकारीले २ सय ५९ मत प्राप्त गरेर विजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्धी लेखनाथ शर्माले १ सय ९१ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा ख्यामकान्त अर्याल २ सय ४५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रामप्रसाद लम्सालले १ सय ९१ मत प्राप्त गरेका थिए । सहसचिव पदतर्फ पूर्णबहादुर गुरुङ दोर्जे २ सय ९७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी गौतमसिंह ठकुरीले १ सय ४४ मत प्राप्त गरेका थिए । यसरि हेर्दा ति दुवै पालिकामा दुई समुहको बिचमा प्रतिष्पर्धा भएको देखिएको छ ।












