पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन नजिकिंदै जाँदा कास्की जिल्लाको तीनवटा निर्बाचन क्षेत्र र पोखरा महानगरपालिका र अन्नपुर्ण गाउँपालिकामा त्रिपक्षिय भिडन्त हुने देखिएको छ। बिशेष महाधिबेशन पछि बनेको गगन थापा नेतृत्वको केन्द्रीय समितिको निर्णय अनुरुप यहि असोज १५ गतेबाट हुने केन्द्रीय महाधिबेशन अन्तर्गत अहिले तल्लो तहको अधिबेशन हुने क्रम जारी छ। हालसम्म वडा अधिबेशन सम्पन्न भैसकेको र असोज ७ गते बुधबार गाउँ र नगरको अधिबेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्र र निर्बाचन क्षेत्रको अधिबेशन हुँदैछ।
गाउँ, नगर अर्थात पालिका स्तरीय अधिबेशनबाट सम्बन्धित तहको बिभिन्न जिम्मेवारीमा पुग्नको लागि पार्टीका कार्यकर्ताहरुको बिचमा प्रतिष्पर्धा हुने देखिएको छ। वडा अधिबेशनमा नयाँ सदस्यहरुको सहभागिता तुलनात्मक रुपमा कम देखिएको भएपनि त्यसभन्दा माथिल्लो तहमा भने आकांक्षीहरुको बिचमा राम्रै प्रतिष्पर्धा हुने देखिएको छ। कतिपय प्रतिष्पर्धी वा आकांक्षीहरुको नाम सार्बजनिक भएको भएपनि कतिपयले भने अझै निर्णय लिन र नाम सार्बजनिक गर्ने प्रक्रियामा रहेको बताइन्छ।
कांग्रेसको विधानको ब्यबस्था अनुसार वडा बाट क्षेत्रिय प्रतिनिधी बनेकाहरुले मात्र माथिल्लो तहमा उमेदवार बन्न र मतदान गर्न पाउने ब्यबस्था रहेको छ। वडाबाट क्षेत्रिय प्रतिनिधी बन्नेहरु मध्ये अधिकांश पुरानै अनुहार रहेको कारण जेनजी बिद्रोह र त्यसपछि सम्पन्न कांग्रेसको बिशेष महाधिबेशनका कारण कांग्रेसमा नयाँ अनुहार आउने जुन किसिमको अपेक्षा गरिएको थियो, त्यस अनुरुपको सहभागिता भने नदेखिएको कतिपय कांग्रेस नेताहरुको भनाई छ। यसका साथै कांग्रेस विभाजन तर्फ उन्मुख देखिएको कारण पनि कतिपय नेता कार्यकर्ताहरुमा उत्साह नदेखिंदा चुनाबी प्रतिष्पर्धा बिगतमा जस्तो कडा र रोचक नहुने देखिएको छ।
यसपटकको अधिबेशनमा अघिल्लो अधिबेशनमा जस्तो कार्यकर्ताहरुको उत्साह नदेखिए पनि पार्टीको पद वा जिम्मेवारी लिन भने एकै समुहमा रहेका कार्यकर्ताहरुको बिचमा हानथाप चल्न थालेको छ। कास्कीका तीनवटा निर्बाचन क्षेत्रमा ३/३ जनाले सभापती बन्ने आकांक्षा राखेको कुरा बिभिन्न माध्यमबाट सार्बजनिक गरेका छन। यसरि पद लिन चाहनेहरुमध्ये केहि यस अगाडी आंफुले नै सम्हालेको जिम्मेवारी फेरी पनि लिने दौडमा छन भने केहि नयाँ अनुहार पद लिने दौडमा देखिएका छन।
जसअनुसार, कास्कीको पोखरा महानगरपालिकाको सभापती पदमा सुरेन्द्रमान बिजुक्छे, गणेश बहादुर थापा र सन्तोष पौडेलले उमेदवारी दिने चर्चा चलेको छ। बिजुक्छे यस अगाडीका ५ बर्ष पनि पोखरा महानगरको सभापतिको जिम्मेवारीमा थिए भने थापाले पनि ५ बर्षसम्म महानगर समितिको सचिबको जिम्मेवारीमा थिए। पौडेलले पनि ५ बर्ष पोखर -६ को वडा कार्यसमितिको सभापतीको रुपमा बिताएका छन ।
यस अगाडी १४ औं महाधिबेशनमा पोखरा महानगरसमितिको सभापति पदमा ६ जनाको प्रतिष्पर्धा भएको थियो प्रतिष्पर्धामा सुरेन्द्र बिजुक्छेले निकटतम प्रतिष्पर्धी गंगाधर पराजुलीको भन्दा केहि मत बढी पाएर बिजयी भएका थिए । त्यसबेला प्रतिष्पर्धामा उत्रिएका रामराज लामिछाने, मोहन बाँस्तोला र मिलन तिवारी लगायतका अन्य उमेदवारहरु भने यस पटक प्रतिष्पर्धामा देखिएनन तिवारी कांग्रेसको अर्को समूहबाट पोखरा महानगरसमितिको संयोजक बनिसकेको छन।
यसैगरी नेपाली काँग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापति पदमा कृष्ण सुबेदी, पिताम्बर भण्डारी र शुशिल भट्टचन तीनजनाको बिचमा प्रतिष्पर्धा हुने देखिएको छ। सुबेदी कांग्रेसका पुराना कार्यकर्ता हुन भने भण्डारी सोही गाउँपालिकाको वडा न. २ को वडाध्यक्षको जिम्मेवारीमा छन। यसैगरी भट्टचनले पार्टीको गाउँ कार्यसमितिको उपसभापति भएर ५ बर्ष बिताएका छन।
कास्कीको निर्बाचन क्षेत्र न. १ मा पनि तीनजनाको बिचमा प्रतिष्पर्धा हुने देखिएको छ। जस अनुसार क्षेत्रिय समितिको सचिब रहेका सरोज केसी, पोखरा -२६ को वडाध्यक्ष समेत रहेका महाधिबेशन प्रतिनिधि नरेन्द्र थापा र क्षेत्रका सहसचिब ओमप्रकाश गुरुङले क्षेत्रिय सभापति बन्ने दौड शुरु गरेको छन ।
यसैगरी कास्की क्षेत्र न. २ मा दिनेश आचार्य, देवकृष्ण पराजुली र महेन्द्र अधिकारीको बिचमा प्रतिष्पर्धा हुने सम्भावना छ । आचार्यले सोहि क्षेत्रको प्रदेश क को सभापतिको रुपमा ५ बर्ष बिताएका छन भने पराजुली र अधिकारीले क्षेत्रिय समितिको सचिबको जिम्मेवारीमा ५ बर्ष बिताएका छन । त्यस क्षेत्रको प्रदेश ख मा सुबर्णजंग केसी र शिवराज देवकोटाले प्रदेश सभापतिको उमेदवार बन्ने घोषणा गरेको छन भने प्रदेश क मा अर्जुन पोखरेल र ललित कुँवरको बीचमा प्रतिष्पर्धा हुने चर्चा चलेको छ।
कास्की क्षेत्र न. ३ मा पनि तीनजनाको बिचमा प्रतिष्पर्धा हुने देखिएको छ। जस अनुसार पार्टीको महाधिबेशन प्रतिनिधि रहेका बिष्णुबहादुर क्षत्री, गण्डकी प्रदेशका सांसद एबम प्रमुख सचेतक रहेका प्रकाश बराल र अन्नपूर्ण गाउँपालिका -४ को वडाध्यक्ष रहेका आईन्दल गुरुङको बिचमा प्रतिष्पर्धा हुने देखिएको छ।
क्षेत्र न.३ अन्तर्गत प्रदेश क मा मेखबहादुर तामांग र शिबप्रसाद तिमिल्सिनाको बिचमा र प्रदेश ख मा लक्ष्मीराज पौडेल र बिजय गुरुङको बिचमा प्रतिष्पर्धा हुने भएको छ। तामांग हालको क्षेत्रिय सचिब र तिमिल्सिना पोखरा -१८ को वडाध्यक्ष रहेका छन। यसैगरी प्रदेश ख को सभापतिको दौडमा लागेका पौडेल हालको क्षेत्रिय सचिब हुन भने गुरुङ क्षेत्रको सहसचिब एबम अन्नपुर्ण -४ को वडासदस्यको जिम्मेवारीमा छन ।
कास्की क्षेत्र न.३ को सचिबमा शितल अधिकारी र महेश तिमिल्सिनाको प्रतिष्पर्धा हुने देखिएको छ। अधिकारी हालको क्षेत्रिय समितिमा सहसचिब रहेको छन भने तिमिल्सिनालाई क्षेत्रिय समितिको प्रबक्ता बनाइएको थियो।













