पोखरा, डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समिति (देउवा समूह) ले कास्की जिल्लामा जिल्ला, क्षेत्र र पालिकास्तरीय संयोजक चयन गरेको छ। कास्कीको पोखरामा सोमबार भएको कांग्रेस कार्यर्ताहरुको भेलाले नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिराम काफ्लेलाई जिल्ला संयोजक तोकेको छ। असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँपालिका र नगरपलिकहरुको अधिबेशन, असोज २४ गते प्रदेश र क्षेत्रिय अधिबेशन गर्ने शशांक समुहले तयारी गरेको छ।
लामो समयदेखि नेपाली कांग्रेसमा संलग्न काफ्ले कास्की क्षेत्र न. २ बाट पटक पटक महासमिति सदस्य र नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत रहेर कम गरिसकेका छन। उनि नेपाली काँग्रेसका नेता डा. शसांक कोइरालाको निकट मानिन्छन। कास्कीको लागि खटिएका केन्द्रीय प्रतिनिधि डा. कृष्ण गौतमको उपस्थितिमा काफ्लेलाई भेलाबाट संयोजक तोकिएको हो।
यस बाहेक कास्की क्षेत्र न. १ को लागि बिकास लामा गुरुङ, क्षेत्र न. को लागि राजेन्द्र बराल र कास्की ३ को लागि पदम बस्टाकोटी संयोजक तोकिएका छन। कास्की -१ का संयोजक गुरुङ पनि कांग्रेसको महाधिबेशन प्रतिनिधि हुन भने क्षेत्र न.२ का संयोजक नेविसंघ र तरुण दलको केन्द्रीय राजनीतिमा सक्रिय थिए। यसैगरी क्षेत्र न. ३ का संयोजक बस्टाकोटी नेपाल तरुण दल कास्कीका पुर्व सचिब हुन्।

भेलाले नेपाली काँग्रेसको उक्त समुहको पोखरा महानगरपालिकाको संयोजकमा मिलन प्रसाद तिवारीलाई चयन गरेको छ। उनि पार्टीको १४ औं महाधिबेशनमा पोखरा महानगरसमितिको सभापतिको प्रत्याशी थिए । कास्कीको रूपा गाउँपालिकामा ढकबहादुर थापा र मादि गाउँ पालिकामा खिमबहादुर जिसीलाई संयोजक तोकेको उक्त भेलाले कास्कीको अन्नपूर्ण गाउँपालिकाको संयोजकमा भरतबहादुर केसीलाई चयन गरेको बुझिएको छ।
पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै कास्की जिल्लाको लागि खटिएका केन्द्रीय प्रतिनिधि डा. कृष्णप्रसाद गौतमले आँफुहरु नेपाली काँग्रेसलाई संगठित र एकताबद्ध बनाउने र बिधान अनुसार पार्टीलाई चलाउनको लागि नियमित १५ औं महाधिबेशन गर्ने तयारीमा जुटेको बताए। बिशेष महाधिबेशनबाट बनेको गगन थापा नेतृत्वको नेपाली काँग्रेसले अग्रजको अपमान गर्दै एकलौटी ढंगले पार्टी चलाउने प्रवृति अन्त्य गर्नुपर्ने र पार्टीका अग्रज नेताहरुमा समेत सुधारको खाँचो औंल्याए।
यसैबीच, शशांक कोइराला नेतृत्वको उक्त समुहले बालगोविन्द राजभण्डारीलाई ओखलढुंगा जिल्ला संयोजक तोकेको छ । सोमबार डा. कोइरालाले कांग्रेसका पुराना नेता राजभण्डारीलाई १५औँ महाधिवेशन गर्नका निम्ति जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् । केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिसमा डा. कोइरालाले उनलाई उक्त जिम्मेवारी दिएका छन् । राजभण्डारी कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान पुर्याए पनि अहिलेसम्म कुनै अवसर नपाएका नेतामा पर्छन् ।
विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन गरिरहेको छ । डा. कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो । सोहीअनुसार जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्ने गरी नेताहरूलाई जिम्मेवारी दिइएको छ । शशांक पक्षले आउँदो मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।













