पोखरा, गुरुङ समुदायको पुरानो संस्था तमु धिं नेपालको ४२ औँ वार्षिक साधारणसभा तथा १७ औँ महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रक्रिया अगाडी बढेकोमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ निर्बिरोध निर्बाचित भएका छन् । निर्वाचन कार्यतालिका अनुसार शनिबारसम्म उमेदवारी दर्ताको समय रहेकोमा गुरुङको एकल उमेदवारी परेको कारण उनि निर्बिरोध अध्यक्ष चुनिने भएका हुन।
यस अगाडी लगातार दुई कार्यकाल हुमबहादुर गुरुङले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ र द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ पनि निर्विरोध चयन भएका छन् ।
त्यसैगरी महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङको साथै कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सह- कोषाध्यक्षमा काशीमाया गुरुङको एकल मनोनयन दर्ता भएकोले उनीहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन् । यसको औपचारिक घोषणा भने यहि असोज ९ र १० सर्वसम्मत नेतृत्व चयन भए पनि आधिकारिक घोषणा भने असोज ९ र १० गते पोखरामा हुने साधारण सभा एबम अधिबेशनबाट गरिनेछ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ स्थायी घर भई भारतीय सेनाका पूर्वसुवेदार मेजर रहेका श्रीप्रसाद गुरुङ हाल तमु धिं नेपालको वरिष्ठ उपाध्यक्ष हुन् । यसअघि उनले संस्थाको दुई कार्यकाल कोषाध्यक्ष, केन्द्रीय सदस्य र ताङतिङ दूधपोखरी तमु समाज पोखराको अध्यक्षका रूपमा समेत सफल नेतृत्व सम्हालिसकेका छन् ।
२०४२ साल जेठ ५ गते स्थापना भएको यस संस्थाको १७ औँ महाधिवेशन गराउन संस्थापक उपाध्यक्ष शंकर गुरुङको संयोजकत्वमा पूर्वउपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पूर्वमहासचिव रुद्रकुमारी गुरुङ मैना, संरक्षक परिषदका सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ र समाजसेवी क्याप्टेन चन्द्रप्रसाद गुरुङ सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।













