पोखरा, नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन नजिकिँदै गर्दा बागलुङ जिल्लामा नेपाली काँग्रेसको संगठन भने दुई समुहमा विभाजित बनेको छ । केन्द्रीय नेताहरुको प्रभावका कारण पार्टीको संस्थापन अर्थात गगन थापा समूह र इतर अर्थात देउवा समुहमा जिल्लास्तरीय नेताहरु विभाजित भएका छन् । जिल्ला सभापति जीत शेरचनले केन्द्रीय समितिले घोषणा गरेको मिति अर्थात असोज ३ गते अधिवेशनको प्रक्रिया शुरु नगर्ने भएपछि केन्द्रीय कार्यालयले बुधबार उपसभापति तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर अधिबेशनको प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । बाग्लुंग कांग्रेसका सभापति जीत शेरचन गण्डकी प्रदेश सरकारको अर्थमन्त्रीको समेत जिम्मेवारीमा छन ।
केन्द्रीय नेताहरु बिशेष महाधिबेशनको बिषयमा विभाजित बनेपछि त्यसको प्रभाव बिभिन्न जिल्लामा पर्ने क्रममा बाग्लुंग जिल्लामा पनि प्रत्यक्ष रुपमा परेको हो नेताहरुबिचको आन्तरिक गुटबन्दी र ध्रुवीकरण उत्कर्षमा पुगेपछि संस्थापन पक्षले एक जना उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको र त्यसको भोलिपल्टै इतर पक्षले अर्का उपसभापतिलाई जिल्ला संयोजक बनाएपछि जिल्लामा दुई भिन्न कार्यतालिका सार्बजनिक गुनुको साथै समानान्तर रुपमा अधिवेशन प्रक्रिया सुरु गरिएको छ ।
एक जना उपसभापति तारानाथ पौडेललाई संस्थापन पक्षले कार्यवाहकको तोकेपछि बिहीबार अर्का उपसभापति सागर छन्त्याललाई इतर पक्षले जिल्लाको कमाण्डर तोकेको छ । दुइ समुहबाट छुट्टाछुट्टै संयोजक तोकिएपछि अहिले पार्टीको जिल्ला सभापति जीत शेरचन जिम्मेवारी बिहिन अबस्थामा पुगेका छन
कांग्रेस केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिका अनुसार असोज ३ र ४ गते देशभरका वडा अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि जिल्ला सभापति जितबहादुर शेरचनले तोकिएको मितिमा अधिबेशनको प्रक्रिया अघि बढाउन अनिच्छा देखाएपछि संस्थापन पक्षले उनको जिम्मेवारी खोसिदियो । शेरचन संस्थापन इतर अर्थात देउवा पक्षमा सक्रिय भएर लागिरहेका छन । त्यसपछि केन्द्रको निर्णय कार्यान्वयनमा नलागेको भन्दै पार्टी महामन्त्री गुरुराज घिमिरेले पत्र पठाएर उपसभापति पौडेललाई कार्यवाहक सभापति तोकेर कार्यतालिका अनुसार अधिवेशनको प्रक्रिया अगाडी बढाउन जिम्मा दिएका थिए ।
‘पार्टी विधान, २०१७ को एघारौँ संशोधन अनुसार असोज ३ र ४ गते हुने वडा अधिवेशनसहित मातहतका अधिवेशन सम्पन्न गर्न पौडेललाई कार्यवाहकको जिम्मेवारी दिइएको छ,’ पत्रमा भनिएको छ । जिम्मेवारी पाएलगत्तै पौडेलले बुधबार नै जिल्ला कार्यसमितिको बैठक डाकेर वडा अधिवेशन सफल बनाउन पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेका छन् । ‘यो पार्टीभित्र आन्तरिक कलह गर्ने समय होइन । सबै एकताबद्ध भएर संगठन बलियो बनाउन लाग्नुपर्छ,’ पौडेलले भने, ‘वडा अधिवेशनको मुखमै छौँ, सबै तहका नेता–कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्छ ।’
संस्थापन पक्षले पौडेललाई कार्यवाहक तोकेको २४ घण्टा नबित्दै इतर पक्षका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले बिहीबार पत्र पठाउँदै जिल्ला उपसभापति सागर छन्त्याललाई बागलुङ जिल्ला संयोजकमा मनोनयन गरे । इतर समूहले गत साउनमा सम्पन्न राष्ट्रिय भेला र भदौ १७ र १८ गते केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकबाट छुट्टै कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार आगामी मंसिर २१ देखि २३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने र त्यसका लागि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका, असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तय भएको छ ।
संयोजकको जिम्मेवारी पाएका छन्त्यालले पार्टीलाई एकढिक्का बनाउन नेतृत्वलाई दबाब दिने र सोहीअनुसार गतिविधि अघि बढाउने प्रतिक्रिया दिएका छन् । ‘अहिले दुई वटा पक्षले दुई वटा अधिवेशन गर्दैछन् । हामी सुरुमा (असोज ३ र ४ गते) हुने अधिवेशनमा जाने साथीहरूलाई नजान पनि भन्दैनौँ र १५ गते हामीले गर्ने अधिवेशनमा आउन पनि कुनै करकाप गर्दैनौँ,’ उनले भने ।
बागलुङको यो पछिल्लो घटनाक्रमले अघिल्लो अधिवेशनबाट निर्वाचित सभापति शेरचनमाथि दुवै पक्षले अविश्वास जनाएका छन् । संस्थापन विरुद्ध लाग्दा उनको जिम्मेवारी खोसेर उपसभापतिलाई दिइएको छ । जिल्ला सभापति शेरचनले नै समर्थन गरेको इतर पक्षले पनि उनी हुँदा हुँदै अर्का उपसभापतिलाई जिम्मा दिएको छ । मन्त्री पदमा रहेका कारण पार्टीको आन्तरिक विवादमा प्रत्यक्ष संलग्न हुन कानुनी वा नैतिक जटिलता भएर उनी पार्टीको जिम्मेवारी बाहिर बस्न खोजेको कतिपयको तर्क छ ।
शेरचनले पार्टी दुवैतिरबाट बलजफ्ती गर्न थालेपछि आफू आर्थिक मामिलामन्त्रीको भूमिकामा मात्रै रहने बताए । पार्टीको संस्थापन र इतर दुवै समुहले जिल्लामा काम गर्न कार्यबाहक तोकेपछि जिम्मेवारी बिहिन बनेका शेरचन बुधबार नै बाग्लुंग पुगेर राती अबेर मात्र पोखरा फर्किएका थिए। उनले आँफु हिजोसम्म जिल्ला सभापति रहेको र दुवै पक्षको कुरा सुनेर काम गर्दै आएको भएपनि अब भने पार्टीले सभापति पदको जिम्मेवारी अरुलाई दिएपछि आँफु गण्डकी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीमा सिमित रहेकोले पार्टीभित्रको ध्रुवीकरण र दुवै पक्षका गतिविधिमा प्रवेश गर्न नचाहेको बताए ।













